logo-img

बाढी-पहिरोले जलविद्युतमा क्षति नै क्षति, न्यूनीकरणमा सरकारकाे ध्यान कति ? (भिडियाेसहित)

गत शुक्रबारबाट तीन दिनसम्म परेको अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त भयो । बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भयो । बाढी–पहिरोले धेरैतिर सडक अवरुद्ध भए भने थुप्रै व्यक्ति विस्थापित भए । यीबाहेक बाढी–पहिरोले क्षति पुगेको अर्को ठूलो क्षेत्र हो– जलविद्युत् । 

बाढी र पहिरोका कारण देशभरि करिब २० जलविद्युत् आयोजनामा क्षति पुगेको छ । कतिपय आयोजनाको पावरहाउस डुबेको छ भने कतिपयमा उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको छ । बाढी–पहिरोले मकवानपुरस्थित मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । यसको पावरहाउस पूर्ण रूपमा डुबेको छ भने विद्युत् उत्पादन ठप्प भएको छ ।

यसैगरी पाँचथरस्थित माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना बाढीले क्षतिग्रस्त भएको छ । गत वर्षको बाढीबाट पनि प्रभावित आयोजनाको पावरहाउस डुबानमा परेको छ । पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना पनि क्षतिग्रस्त छ । गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त भएको हो । सोलुखुम्बुस्थित साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत् आयोजनाको हेडवक्र्समा क्षति पुग्दा विद्युत् उत्पादन बन्द भएको छ ।

त्यस्तै, इलामस्थित सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँध र टेलरेसमा क्षति पुगेर उत्पादन बन्द भएको छ । सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माईखोला जलविद्युत् आयोजनाको बाँध र प्रसारणलाइनमा क्षति पुगेको छ । पाँचथरस्थित १ मेगावाटको फेमे खोला जलविद्युत् आयोजनाको बाँध र विद्युतगृह पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने लमजुङस्थित सिउरीखोला जलविद्युत् आयोजना (५ मेगावाट)को टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ ।

यसैबीच लमजुङकै सुपरन्यादी जलविद्युत् आयोजना (४० मेगावाट)को पहुँचमार्गमा क्षति पुगेको छ भने प्रोटेक्सन वाल भत्किएको छ । धादिङस्थित इलेप खोला तातोपानी जलविद्युत् आयोजना (२५ मेगावाट)को पहुँचमार्गमा ठूलो क्षति भएको छ भने नुवाकोटस्थित माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना (२१६ मेगावाट) क्याम्प हाउस, पहुँचमार्गमा क्षति पुगेको छ भने ३ वटा कन्टेनर बगाएको छ ।

यसैगरी, पाँचथरको हेवाखोला जलविद्युत् आयोजना (१० मेगावाट) क्रसर पुरिनुका साथै पहुँचमार्गमा क्षति पुगेको छ । यो आयोजनाको प्रसारणलाइनको टावर ढलेको छ भने पावरहाउसमा जडान गर्न ल्याइएका बाढीले सामग्री बगाएको छ । पाँचथरकै सभाखोला बी जलविद्युत् आयोजना (१५.१ मेगावाट)को पहुँचमार्ग र पावरहाउस पुरिएको छ भने बाँधमा क्षति पुग्नुका साथै अस्थायी पुल बगाएको छ ।



यस्तै, पाँचथरकै सभाखोला सी जलविद्युत् आयोजना (६.३ मेगावाट)को पहुँचमार्गमा क्षति पुगेको छ भने कास्कीको लान्द्रुक मोदी जलविद्युत् आयोजना (८६.५९ मेगावाट)को पहुँचमार्गमा क्षति पुगेको छ । नुवाकोटको सुपर त्रिशूली जलविद्युत् आयोजना (१०० मेगावाट)को २ वटा स्काभेटर, २ वटा लोडर र ३ वटा ट्रिपर बाढीले बगाएको छ । बेलिब्रिज पनि बगाएको छ भने पावरहाउस स्काभेसन पुरिएको छ ।

ऊर्जा क्षेत्रमा बाढी र पहिरोका कारण करिब ५ अर्ब रुपैयाँ हाराहारीमा क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री दीपक खड्काका अनुसार अहिले ११ सय मेगावाट बिजुली उत्पादन रोकिएको छ । अविरल वर्षाका कारण विद्युतगृहहरूमा क्षति पुग्दा अघोषित रूपमा लोडसेडिङ भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 



भारतबाट आयात गरेर विद्युतको माग धान्दै

अविरल वर्षाका कारण विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि भारतबाट विद्युत् आयात गरिएको छ । नेपालमा उत्पादित विद्युतगृहहरूमा बाढी–पहिरोले क्षति पुगेपछि भारतबाट थप तीन सय मेगावाट विद्युत् आयात गरिएको विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।

नेपालमा तीन हजार मेगावाट हाराहारीमा विद्युत् उत्पादन हुँदै आएको छ । तर, लगातारको बाढीपहिरोले विद्युत् उत्पादनमा क्षति पुगेपछि अहिले एक हजार ३०० मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार उत्पादन रोकिएका आयोजनामध्ये ६ सय २६ मेवाबाट उत्पादन क्षमताका ११ वटा जलविद्युत् आयोजनाहरूमा क्षति भएको र आपतकालीन अवस्थामा अधिकांश विद्युतगृहहरूको उत्पादन बन्दसमेत रहेअनुसार करिब ११०० मेगावाट बराबरको उत्पादन रोकिएकोे छ । त्यस्तै, कुल १ हजार १० मेवाजडित विद्युत् क्षमताको १५ वटा निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा क्षति भएको छ ।

यस्तै, बाढी–पहिरोको कारण विद्युत् उत्पादन र प्रसारणमा अवरोध आएपछि नेपालबाट भारत निर्यातको मात्रा पनि घटाइएको छ । यसअघि नेपालबाट करिब साढे ८ सय मेगावाट विद्युत् निर्यात गरिरहेकोमा अहिले २ सय ५० देखि ३ सय मेगावाट मात्रै विद्युत् निर्यात भइरहेको छ । नेपालमा विद्युत् आपूर्ति गर्न नपुग्ने अवस्था आयो भने त्यो पनि निर्यात बन्द गरेर भए पनि देशभित्रै वितरण गर्ने तयारी गरिएको छ । 

के छ माथिल्लो तामाकोशीको अवस्था ? 

माथिल्लो तामाकोशी महत्वपूर्ण जलविद्युत् आयोजना हो । तर, बाढी–पहिरोका कारण माथिल्लो तामाकोशीमा पनि ठूलो क्षति पुगेको छ । क्षतिको यकिन तथ्यांक आउन भने अझै ३–४ दिन लाग्ने बताउँछन्, अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका सूचना अधिकारी मित्रमणि पोखरेल ।

बाढीका कारण विद्युत् क्षेत्रमा काम गर्ने सुरक्षाकर्मीसहित चारजनाको मृत्यु भएको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना हेडबक्सको कन्ट्रोल बिल्डिङ पूर्ण रूपमा ध्वस्त भएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद–बिक्री सम्झौताबमोजिम नदीमा पानीको बहाव २ सय ५० क्युसेक हुनासाथ विद्युतगृह बन्द गर्नुपर्ने हुन्छ । शुक्रबार दिउँसो ४ बजेपछिबाट पानीको बहाव २ सय ५० क्युसेक नाघेको र पानीको बहाव बढ्ने क्रम रहेपछि साँझ ७ बजेबाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गरिएको उनी बताउँछन् । 

उनका अनुसार करिब ३ महिना माथिल्लो तामाकोशीको उत्पादन पूर्ण रूपमा बन्द रहनेछ । ‘बाढी–पहिरोले आयोजना ध्वस्त पारेको छ,’ उनी भन्छन्, ‘क्षतिको विवरण आउँन अझै केही दिन लाग्छ । तर, बाहिरी रूपमा हेर्दा धेरै नै क्षति पुगेको छ । अब सबै पुनः निर्माण गरेर विद्युत् उत्पादन सुरु हुन अझै ३–४ महिना लाग्न सक्छ ।’ 

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति पुर्याएको छ । बाँधका सम्पूर्ण ढोका (गेट)हरू खुला गरिएको थियो । बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट)मा बाढीले क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको उनको भनाइ छ । 

उनका अनुसार पहिरोका कारण जलाशय क्षेत्रमा ठूलो परिमाणमा ढुंगा, लेदो थुप्रिएको छ । तामाकोशी आयोजनाको डिजाइन डिस्चार्ज (पानीको बहाव) ६६ क्युसेक हो । तर, बाढीको समयमा तामाकोशी नदीको बहाव बाँधस्थलमा ४ सय ६१ क्युसेक पुगको थियो । 

बाढी, पहिरोको कारण अपर तामाकोशीमा पुगेको क्षतिले सुक्खायाममा बढी विद्युत् आयात गर्नुपर्ने अवस्था आउने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । उनका अनुसार अपर तामाकोशीको क्षतिको कारण लामो समयसम्म पुनःनिर्माण गर्न नसके यस वर्षको सुक्खायाममा विद्युत् व्यवस्थापनमा केही समस्या आउनेछ । हिउँदको समयमा बढी विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्छ । 

स्वदेशी पुँजी र व्यवस्थापनमा सम्पन्न गरिएको नेपालको हालसम्मकै ठूलो आयोजना हो, माथिल्लो तामाकोशी । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको उद्घाटन २१ असार ०७८ गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट माथिल्लो तामाकोशी आयोजना उद्घाटन गरेका थिए । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाटको बिजुली उत्पादन सुरु भएको थियो । 

भदौदेखि भने उक्त आयोजना पूर्ण रूपले सञ्चालनमा आएको थियो । ८२२ मिटर हेड र दैनिक पिकिङ रन अफ द रिभर प्रकृतिको यो आयोजना सुक्खा मौसममा समेत साढे चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गरिन्छ । माथिल्लो तामाकोशी स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो । सुरुआती लागत ३५ अर्ब रहे पनि अमेरिकी डलरको मूल्यमा आएको उतारचढाव, ब्याजलगायत कारण लागत भने बढेर झण्डै ८४ अर्ब हाराहारी पुगेको थियो । 

माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सबस्टेशन हुँदै ढल्केबर पुर्याइएको छ । ढल्केबर सबस्टेसनबाट राष्ट्रिय प्रसारण प्रणालीमा माथिल्लो तामाकोशीबाट उत्पादित बिजुली जोडिएको छ । आयोजनाको निर्माण आर्थिक वर्ष ०७३/७४ भित्र सकी विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि ०७८ मा निर्माण कार्य सम्पन्न गरी पूर्ण रूपमा सञ्चालनमा ल्याइएको थियो । 

बाढी–पहिरोले विद्युत् क्षेत्रमा बर्सेनि ठूलो क्षति

बर्सेनि बाढी–पहिरोले जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुर्याउँदै आएको छ । यसपटक १० असोजदेखि परेको पानीले ऊर्जा सिँचाइ क्षेत्रमा करिब ५ अर्बको क्षति भएको र यो अझै बढ्न सक्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । गत वर्ष नेपालको पूर्वी क्षेत्रमा परेको पानीका कारण बाढी–पहिरोले विद्युत् आयोजना र प्रसारण लाइनलगायतमा १० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो । जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमानमा आधारमा आवश्यक सतर्कता अपनाउँदा अपनाउँदै पनि यति क्षति हुन पुगेको मन्त्रालयले जनाएको छ । 

नेपालको भौगोलिक अवस्था, वातावरणीय प्रभाव र आयोजना संरचनाले बाढी–पहिरोका कारण जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याउँदै आएको बताउँछन्, हाइड्रोपावर इन्जिनियर देवेन्द्र केसी । ‘नेपालको भौगोलिक अवस्था र वातावरणीय प्रभावले बर्सेनि जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याउँदै आएको छ,’ उनी भन्छन्, ‘भिरालो जमिन, जम्मा भएर तथा बाँध बनेर बसेको बाढीले आयोजनामा असर पुर्याउँछ ।’

नेपालको सन्भर्दमा जलविद्युत् विकासको प्रमुख आधार हो । तर, कुन आयोजनामा कसरी र कहिले क्षति पुग्छ भन्ने थाहा हुँदैन । अरू देशमा भने नेपालजस्तो एकैपटक सबै संरचना ध्वस्त हुने गरी क्षति हुँदैन । तर, नेपालमा भने एकैपटक ठूलो मात्रामा क्षति हुँदै आएको छ । त्यसकारण आयोजनाको अध्ययन, डिजाइन र निर्माणमा पूर्वानुमान गर्ने वर्तमान प्रणाली र कार्यशैलीमा व्यापक हेरफेर आवश्यक भएको उनी बताउँछन् । 

पछिल्लो समय गुणस्तर र भविष्यको जोखिमलाई नजरअन्दाज गर्दै कमभन्दा कम लगानीमा छिटो निर्माण सक्ने प्रवृत्ति झाँगिदै गएको देखिन्छ । जसका कारण आयोजना स्थलको भूगोल, नदीको बहाव, सम्भाव्य जोखिमलगायत पक्ष ओझेलमा पर्ने गरेका छन् । कतिपय अवस्थामा परामर्शदाता, दक्ष इन्जिनियर, व्यवस्थापक राख्न ध्यान नदिँदा जलविद्युत् आयोजनाहरूले समस्या भोग्दै आएका छन् । 

त्यसो त, भूगर्भ र नदीहरूको बहावबारे नेपालमा पर्याप्त तथ्यांकसमेत नहुँदा हचुवाकै भरमा पूर्वानुमानहरू गरिन्छन् । त्यसमाथि संरचना निर्माण गर्दा गुणस्तर नियन्त्रणको पक्ष यसै कमजोर छ । इन्जिनियर केसीका अनुसार केही हदसम्म यस्ता बाढी–पहिरोबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षा अपनाइएको हुन्छ । 

‘जलविद्युत् क्षेत्रमा एक प्रतिशत पनि क्षति हुन दिँदैनौँ भन्न सम्भव छैन । क्षति नै हुन नदिने भन्दा पनि क्षति न्यूनीकरण गर्न सकिन्छ,’ उनी भन्छन्, ‘सबैभन्दा धेरै क्षति भनेको पावरहाउसमा बाढी छिरेर भएको छ । त्यसका लागि नदीको केही भागमा सुरक्षाका लागि वाल लगाउन सकिन्छ । त्यसले पावरहाउसमा बाढी नपसी अर्को क्षेत्रमा जानसक्छ । यस्तै, बाढी आउने थाहा भएमा ड्यामको सबै ढोका खोलिदिने गर्दा पनि जलविद्युत् क्षेत्रमा पुग्ने क्षति न्यूनीकरण गर्न सकिन्छ ।’ 

  • प्रकाशित मिति : असोज १४, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया