logo-img

लगातार दोस्रो जितको खोजीमा नेपाल, आज क्यानडासँग भिड्दै
प्लेइङ–११ मा एक परिवर्तनको सम्भावना

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा घरेलु टिम क्यानडाको सामना गर्दैछ । यी दुई टिमबीचको खेल आज राति ९ः४५ देखि किंग्स सिटीस्थित मेफललीफ नर्थवेस्ट ग्राउन्डमा सुरु हुनेछ । श्रृंखलामा नेपाल र क्यानडा दोस्रो जितको खोजीमा छन् ।  

नेपालले पहिलो खेलमा क्यानडासँग हार बेहोर्दा ओमानविरुद्ध उत्कृष्ट पुनरागमन गरेको थियो । ओमानविरुद्धको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनायो । 

१ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमै अलआउट भयो । उक्त खेलमा नेपाल ३७ रनले विजयी भयो । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा साढे ५ महिनापछि जित निकालेको हो । जारी श्रृंखलाको पहिलो खेलमा भने खराब ब्याटिङका कारण नेपालले १४ रनको हार बेहोर्यो । 

क्यानडासँगको उक्त खेलमा १ सय २४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमै अलआउट भयो । नेपाल अब उक्त हारको बदला मंगलबार लिन चाहन्छ । 



उता क्यानडा घरेलु मैदानको सदुपयोग गर्दै नेपाललाई फेरि स्तब्ध पार्ने दाउमा छ । यद्यपि यस श्रृंखलाको दोस्रो खेलमा ओमानसँग ८ विकेटको लज्जास्पद हार बेहोरेपछि क्यानडाको आत्मविश्वास केही कमजोर बनेको छ । 

ओमानविरुद्ध टस हारेर ब्याटिङको मौका पाएको क्यानडा १९.५ ओभरमा १ सय ६ रनमै अलआउट भयो । १ सय ७ रनको लक्ष्य ओमानले १५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । ओमानको यो फराकिलो जितपछि अंक तालिका रोमाञ्चक बनेको छ । ओमानको जितले नेपाल शीर्ष स्थानमा उक्लिँदा क्यानडा पुछारमा पुगेको छ । 



अहिले तीनै टिमको समान २ अंक भए पनि नेपाल नेट रनरेटका कारण शीर्ष स्थानमा उक्लिएको हो । अहिले नेपालको नेट रन रेट ०.५७५ रहेको छ । दोस्रो र तेस्रो स्थानमा रहेका ओमान र क्यानडाको नेट रन रेट क्रमशः माइनस ०.०२१ तथा माइनस ०.४४६ रहेको छ । 

तीनवटै टिमले समान चारवटा म्याच खेलेपछि जो अंक तालिकाको शीर्ष स्थानमा रहन्छ सोही टोलीले सिरिज जित्नेछ । त्यसकारण नेपाल मंगलबार क्यानडाविरुद्ध पनि जित निकालेर सिरिज आफ्नो पक्षमा पार्ने सम्भावना बलियो बनाउन चाहन्छ । हालसम्म नेपाल र क्यानडाले टी–२० आईमा दुई खेलमा मात्र एकअर्काको सामना गरेका छन्, जसमा दुवै टिमले एक–एक खेल जितेको विगत छ । 



क्यानडाविरुद्ध नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । आजको खेलमा नेपालले युवा तीव्र गतिका बलर रिजन ढकालको ठाउँमा सोमपाल कामीलाई मौका दिने सम्भावना रहेको हो । दोस्रो  खेलमा जित निकालेकाले नेपालले क्यानडाविरुद्ध पनि सोही प्लेइङ सेट दोहोर्याउने सम्भावना पनि छ । 

क्यानडाविरुद्ध नेपालको सम्भावित प्लेइङ–११ : आसिफ शेख, अनिलकुमार साह, देव खनाल, रोहितकुमार पौडेल, कुशल मल्ल, कुशल भुर्तेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने । 

  • प्रकाशित मिति : असोज १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया