ग्लोबल युथ पार्लियामेण्टले ‘राष्ट्रिय युवा संसद २०२४–२०२६’ अभियानको घोषणा गरेको छ । देशभित्रका र विदेशमा छरिएका युवालाई राष्ट्र निर्माणको महान् यज्ञमा हातेमालो गर्नका लागि ‘राष्ट्रिय युवा संसद’ नामक अभियानको घोषणा गरिएको हो । मंगलबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य समारोहकाबीच पूर्वप्रधानन्यायधीश सुशीला कार्कीको प्रमुख आतिथ्यमा उक्त अभियानको घोषणा गरिएको हो ।
अभियानले युवालाई लोकतान्त्रिक प्रक्रिया र नेतृत्व भूमिकामा सशक्त र संलग्न गराउने, सामाजिक विकास र राष्ट्र निर्माणमा प्रतिबद्ध गराउने, जिम्मेवार र सक्रिय नागरिकको पुस्तालाई प्रवर्द्धन गर्दै युवालाई एकै ठाउँमा गोलबद्व गर्नका लागि दुई वर्षसम्म अभियान चलाइने अभियानका संयोजक एवम ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दिवाकर अर्यालले जानकारी दिए ।
‘अभियानले युवाको सशक्तीकरण, नेतृत्व विकास, र राजनीतिक तथा सामाजिक जागरुकतामा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा छ । अभियानले नेपालका १६५ निर्वाचन क्षेत्रबाट १/१ जना सक्रिय युवालाई प्रोफाइल, सामाजिक प्रभाव र अनलाइन भोटिङको मिश्रित विधिबाट दुई वर्षका लागि चयन गर्नेछ । यस प्रक्रियाअन्तर्गत आगामी ०८२ साल वैशाख १ गते १६५ निर्वाचित गरी राष्ट्रिय युवा सांसदको घोषणा गरिनेछ,’ अर्यालले भने ।
कार्यक्रममा पूर्वप्रधानन्यायधीश सुशीला कार्कीले नयाँ पुस्ताले अब सरकार चलाउने लिड गर्नुपर्ने र पुरानो पुस्ताले विश्राम लिनुपर्ने बताइन् । हाल सत्तामा रहेकाहरूले युवा हुँदा क्रान्ति गरेको, आन्दोलन गरेको, जेलनेल भोगेको तर त्यो गरेबापतमा उनीहरूले सदावहार राजनीतिमा विरासत जस्तो गरेर बस्नु राम्रो नहुने बताइन् ।
अभियानको घोषणा कार्यक्रममा महानायक राजेश हमालले युवाले आफूमा भएको ऊर्जालाई कसरी प्रयोग गर्ने भन्नेमा सदैव सचेत हुनुपर्ने र आफ्नो धरातलीय यथार्थका बारेमा पनि जानकार हुनुका साथै आफ्नो धरातलबाट कसरी माथि उठ्ने भन्नेमा सोच्नुपर्ने बताए ।
वरिष्ठ पत्रकार एवं साहित्यकार डा.नवराज लम्सालले मुलुकका धेरै मान्छे विभिन्नखाले अन्योलमा देखिएको बताए । प्रत्येक मान्छे कसरी सांसद, मन्त्री र प्रधानमन्त्री बन्ने भनेर मात्र सोचेको हुन्छ, तर सांसद मन्त्री र प्रधानमन्त्री भएपछि के गर्ने ? भनेर कसैले सोच्दैन, त्यसैले आजका युवामा भिजन हुनु आवश्यक रहेको उनले बताए ।
बैंकर मनोज ज्ञवालीले पुराना नेताले धेरै संघर्ष गरेर नेपाललाई यहाँसम्म पुर्याउनमा महत्वपूर्ण योगदान गरे पनि अब युवापुस्ताले देशलाई हाँक्नुपर्ने बेला आएको भन्दै युवाहरू तात्नुपर्ने बेला आएको बताए । राजनीतिक अस्थिरता र देशमा धेरै दल हुँदा पनि देशको विकासको गति लिन सम्भव नभएको ज्ञवालीले बताए ।
अध्यक्ष अर्यालले मुलुकले २००७ सालको क्रान्ति यता अनेकन पटक राजनीतिक आन्दोलनको आरोह–अवरोह बेहोरे पनि असल नागरिकलाई आर्थिक रूपमा सम्पन्न गराउने काम त्यसयताको सात दशकमा चित्तबुझ्दो ढंगले हुनसक्दा युवामा निरासा पलाएको, मुलुक आर्थिक संकटले जर्जर बनेको, उत्पादनका मार्ग बढ्नुको साटो भएका उद्योगधन्दा बन्द भएको, निराशाको भट्टीमा जलेका युवा पाखुरी खाडीका मुलुकमा श्रम बेच्न बाध्य भएको बताए ।
उनले विचार बोक्नसक्ने युवाहरू उच्च शिक्षाका नाममा युरोप, अमेरिका, अस्ट्रेलियातिर ‘ब्रेन ड्रेन’का रूपमा भासिन विवश भएकाले अनेकन व्यवस्था परिवर्तनले पनि बदल्न नसकेको देश र नागरिकको अवस्था उल्ट्याउन अब बल भएका पाखुरी र विचार भएका दिमागी युवा एक ठाउँमा जोडिनुको विकल्प नभएको बताए ।
अभियानका अभियन्ता निगम हुमागाईंले सिंहदरबार, बालुवाटारसहितका शक्ति अखडाहरू उच्च वर्गको योजनामा भरिन थालेको र संसारकै गरीब जनताले तिरेको संसारकै महँगो करबाट दलतन्त्रका आसेपासे र बिचौलिया वर्ग पोसिँदा विकास निर्माण बजेट सकाउने मेलोमा अड्किएकाले खबरदारीका लागि अभियान महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा अभियन्ता हुमागाईं, अभियान्ताहरू केपी खनाल, टासी ल्याम्जो, सरोज बानियाँ, चिकित्सक डा.निकोलश भुसाल, वरिष्ठ अधिवक्ता रमण कर्ण, सन्तोष गिरी, मुस्कान खातुन, युवा उद्यमी श्रेया गिरी, चिकित्सक डा.रामजी रामलगायत युवाले राष्ट्रिय युवा संसद घोषणाले देश तथा विदेशमा रहेका युवालाई एक ठाउँमा जोडेर देश र देशव्यापी रूपमा केही नयाँ गर्ने प्रतिबद्वता जनाए ।
सन् २०१२ सालमा स्थापना गरिएको ग्लोबल युथ पार्लियामेन्टले विश्वभरमा ८६ देशका युवालाई जोडेर कार्यक्रम गरिसकेको छ ।v
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।