logo-img

सडकको दूरावस्था : दसैँअघि सबै सडक सञ्चालनमा ल्याउन कति सम्भव ? (भिडियाेसहित)

दसैँलाई नेपालीको सबैभन्दा ठूलो चाड मानिन्छ । पछिल्लो समय धेरै नेपाली सहरमा रमाउँदै आए पनि दसैँका बेला गाउँ नसम्झनेहरू कमै होलान् । रहर र बाध्यताले सहर अनि विदेश पुगेकाहरू अरूबेला नभए पनि दसैँ–तिहारमा घर फर्किन्छन् । दसैँ नजिकिँदै गर्दा परदेश वा सहर पसेका छोराछोरी फर्किने आसले गाउँमा बसेका बुढा बुबा–आमाको आँखा तेजिला बन्दै जान्छ । उनीहरू गाउँ फर्किएपछि सुनसान गाउँमा एकाएक चहलपहल बढ्छ । निराश अनुहार उज्यालिन्छ । दसैँलाई गाउँ फर्किने पर्वको  रूपमा पनि हेरिन्छ । 

तर, यसपालिको दसैँमा गाउँ फर्किनेको सपना चकनाचुर हुने सम्भावना बढेको छ । विगतका वर्षहरूमा जस्तो सहर–बजारबाट गाउँ जानेको ताँती यसपटक नदेखिन सक्छ । रोजगारी, पढाइ तथा कामविशेषले बाहिर रहेकाहरूका लागि यसपटक दसैँमा गाउँ जान सहज छैन । उनीहरू गाउँ फर्किने सम्भावना एकदमै न्यून छ । किनकि दसैँको मुखमा राष्ट्रले ठूलो विपत्ति व्यहोर्नुपरेको छ ।

वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरूको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोका–पुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँ–ठाउँका सडकमा अलपत्र छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन । प्राकृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाएझैँ हुने हो कि भन्ने त्रासमा यात्रु छन् ।
 
अविरल वर्षाका कारण अधिकांश स्थलमार्गको यात्रा कष्टकर बन्दा यात्राका लागि विश्वमै सबैभन्दा सुरक्षित मानिन्छ, हवाई यात्रा । तर, त्यसका लागि पनि टिकट काट्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा वायुसेवा कम्पनीहरूले न्यूनतम भाडामा उडान गर्नुपर्नेमा उल्टै उपभोक्ता ‘लुट्ने’ माध्यम बनाएका छन् । काठमाडौंबाट बाहिरिन अहिले हवाईमार्गबाहेक अर्को सुरक्षित यात्रा छैन । यही संकटको फाइदा उठाउँदै कम्पनीहरूले मनलाग्दी भाडा बढाएर अमानवीय व्यवहार प्रकट गरिरहेका छन् । 

सडक पूर्वाधारमा कति पुग्यो क्षति ?
 
अविरल वर्षका कारण देशभर सडक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । पूर्ण रूपमा क्षतिको विवरण भने आइसकेको छैन । तर, प्रारम्भिक क्षतिका विवरण आएका छन् । केही आउने क्रममै रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार अहिलेसम्म प्रारम्भिक विवरणअनुसार बाढीपहिरोबाट सडक र पुलमा २ अर्ब ५२ करोड रुपैयाँको क्षति भएको छ । 



यो निर्माणमा लाग्ने लागतसहितको प्रारम्भिक क्षतिको तथ्यांक भएको बताउँछन्, सडक विभागका सूचना अधिकारी अमितकुमार शर्मा । उनका अनुसार कुल २१ हजार पाँच सय मिटर सडकमा क्षति पुगेको छ । यो मर्मतका लागि एक अर्ब ५० करोड बढी लागत लाग्ने उनी बताउँछन् । यस्तै, बाढीले पाँचवटा पुलमा क्षति भएको छ । खुर्कोटको सुनकोशी पुल, सिन्दुरेटार, फोक्सिङटार, अरनिको राजमार्गको लिपिङ र इलामको माइपोखरी सडकको रातेखोला पुलमा क्षति भएको छ । 



क्षति पुगेको ४१० मिटर पुल निर्माणका लागि ८२ करोड लागत लाग्ने विभागले जनाएको छ । यस्तै, लार्चा र हेवा खोलाका दुईवटा बेलिब्रिज बगाएको छ । उक्त बेलिब्रिजका लागि पनि २० करोडभन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । 

दसैँअघि सञ्चालनमा आउलान् सबै सडक ?



बाढी–पहिरोका कारण सबैभन्दा बढी यात्रुको चाप हुने समयमा अधिकांश राजमार्ग अवरुद्ध बनेका छन् । सडक विभागको तथ्यांकअनुसार ४३ वटा सडक/राजमार्गको ८ सय ३ ठाउँमा बाढी–पहिरोले सडक अवरुद्ध भएको थियो । त्यसमध्ये ३ सय ५७ सडक दुवैतर्फ सञ्चालनमा आइसकेका छन् भने ४ सय १५ सडकमा एकतर्फी मात्रै यातायात सञ्चालनमा छन् । यस्तै, यो समाचार तयार पार्दासम्म ३१ स्थानमा यातायात अवरुद्ध भएको छ भने ११ राजमार्ग अवरुद्ध छन् ।  

सबैभन्दा धेरै क्षति पुगेको राजमार्ग हो– बिपी राजमार्ग । बिपी राजमार्ग राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने प्रमुख राजमार्ग हो । यसलाई बनेपा–सिन्धुली–बर्दिवास या मध्य पहाडी राजमार्ग भनेर पनि चिनिन्छ । जापानको सहयोगमा निर्मित यो राजमार्गलाइ देशको एक उत्कृष्ट राजमार्गको रूपमा चिनिन्छ । तर, कोशी र मधेस प्रदेशलाई छोटो दूरीमा संघीय राजधानी काठमाडौं जोड्ने बिपी राजमार्ग बाढी र पहिरोका कारण ध्वस्त भएको छ । केही दिनअघि परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले मुलुककै सुन्दर र पर्यटकीय राजमार्ग क्षतविक्षत भएको छ । सडकका दर्जनौँ स्थान भत्किँदा ६ दिनदेखि यातायात प्रभावित भएको छ ।

बिपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्म करिब डेढ किलोमिटरसडक पूर्ण रूपमा क्षति भएको छ । रोशीदेखि नेपालथोकसम्मको सडकखण्ड करिब ३० किलोमिटर छ । त्यसमध्ये दुई हजार ५० मिटर सडकखण्डको कुनै नामोनिशान छैन ।  विभागका अनुसार नयाँ ट्र्याक नै खोल्नुपर्ने हुन्छ । नयाँ ट्र्याक खोल्न भित्ता कटान गर्नुुपर्ने हुन्छ । साथै, रोशी खोलाको बगरमा पनि सडक बनाउनुपर्ने हुन सक्छ । तर, त्यसका लागि एकपटक विस्तृत रूपमा अध्ययन गर्नुपर्ने हुन्छ । यी सडकको नामोनिशान नै नभएकाले दसैँअघि सञ्चालनमा आउने सम्भावना एकदमै कम रहेको विभागका सूचना अधिकारी शर्मा बताउँछन् । 

बिपी राजमार्गको यति मात्र सडकमा क्षति पुगेको होइन, ठाउँ–ठाउँमा बाढी पहिरोका कारण क्षति पुगेको छ । तर, अरू ठाउँको सडक तीव्र रूपमा मर्मत भइरहेको भन्दै उनले दसैँअघि सडक मर्मत गरी बाटो खुल्ने बताए । १६० किलोमिटर लामो बिपी राजमार्ग जापानी सहयोग नियोग (जाइका)को सहयोगमा बनेको थियो । २६ अर्ब रुपैयाँ हाराहारीको लागतमा जापानले ०५२ देखि निर्माण सुरु गरेको यो सडक ०७२ मा तयार भएको थियो । त्यहाँको भौगोलिक अवस्थाअनुसार इन्जिनियरिङ डिजाइन गरेर यो सडक बनाइएको थियो । 

बिपी राजमार्गजस्तै दसैँअघि सञ्चालनमा आउन नसक्ने सडक हो– कान्ति राजमार्ग । कान्ति राजमार्ग नेपालको बागमती प्रदेशमा निर्माणाधीन ९२ किलोमिटर (५७ माइल) फिडर सडक हो, जसले ललितपुर महानगरपालिकालाई हेटौँडा उपमहानगरपालिकासँग जोड्छ । सन् १९५४ मा राजा महेन्द्रले सडक निर्माण सुरु गरेपछि सुरुमा सडकको नाम टीकाभैरव–हेटौँडा सडक थियो । तर, सन् १९६२ मा नेपालकी महारानी कान्तिको नामबाट कान्ति राजमार्गको नामकरण गरिएको थियो ।

सन् १९९० को दशकको अन्त्यतिर नेपाल सरकारले यस सडकलाई नेपाल–भारत सीमामा रहेको काठमाडौंदेखि वीरगन्ज जोड्ने त्रिभुवन राजमार्गको वैकल्पिक राजमार्गको रूपमा मान्यता दिएको थियो । केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले कान्ति लोकपथ र बाग्मती पुलमा धेरै क्षति पुगेको छ । मकवानपुर भीमफेदी गाउँपालिका–८ महादेवटार र ललितपुरको बाग्मती गाउँपालिकाको बगुवास्थित बाग्मती खोलामा निर्माण गरिएको पक्की पुलमा बाग्मतीले क्षति पुर्याएको छ ।

१२ वर्षअघि निर्माण गरिएको उक्त पुलको मकवानपुरतर्फको १५ दशमलव ७ मिटर स्ल्याब बगाएको छ भने पुल पुग्ने करिब ४ सय मिटर कालोपत्रे सडक बाग्मती खोलाले बगाएको छ । कालोपत्रे सडक भएको स्थानबाट बाग्मती बगिरहेको छ । त्यसैले दसैँअघि यो सडक सञ्चालनमा ल्याउन एकदमै मुस्किल पर्न सक्ने उनी बताउँछन् । कान्तिलोपथको मकवानपुरतर्फ खोर भन्ज्याङ र बगुवा क्षेत्रमा ठूल्ठूला पहिरो गएका थिए, तर दसैँअघि उक्त पहिरो पन्छाउन नसकिने उनको तर्क छ । 

यस्तै, तातोपानी नाका जोडिएको अरनिको राजमार्ग पनि दसैँअघि सञ्चालनमा आउने सम्भावना एकदमै कम छ । हाल लार्चा पुलसम्म यातायात खुला भए पनि त्यहाँबाट तातोपानीतर्फ दुई पुल (लार्चा र लिपिङ) बगाएको छ । त्यहाँ नयाँ पुल नै पुनस्र्थापना गर्नुपर्ने भएकाले राजमार्ग पूर्ण रूपमा खुल्न समय लाग्ने विभागका सूचना अधिकारी शर्मा बताउँछन् । उनका अनुसार भोटेकोशी नदीले लार्चास्थित बेलिब्रिज बगाउँदा तातोपानी नाका ठप्प बनेको छ । 

यसअघि भूकम्प र बाढीपछि नाका खुलाउन पहल भइरहेका बेला ०७३ असारमा भोटेकोशी बाढीले सडक र सीमा क्षेत्रका बस्ती बगाएको थियो । ०७४ मा लार्चाको मोटरबेल पुल बगाएपछि बेलिब्रिज हालिएको थियो । बन्दाबन्दै भाँचिएपछि मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । यसअघि ०३८ सालको बाढीले बगाएको लार्चा पुल चीन सरकारले बनाइदिएको थियो ।

यी तीन राजमार्ग दसैँअघि सञ्चालनमा आउन निकै चुनौती रहेको उनी बताउँछन् । ‘बिपी राजमार्ग, अरनिको र कान्तिको राजमार्गबाहेक सबै सडक दसैँअघि नै सञ्चालनमा आउँछन्,’ उनी भन्छन्, ‘यी तीन राजमार्ग पनि दसैँअघि नै सञ्चालनमा ल्याउन तयारी गरिरहेका छौँ । तर, दसैँअघि नै सञ्चालनमा आउने सम्भावना एकदमै न्यून छ ।’
  
तर, अहिले सडक सञ्चालनमा ल्याउने हिसाबले काम भने  भइरहेको उनी बताउँछन् । उनका अनुसार यी सडकका वैकल्पिक मार्गको खोजी कार्य पनि जारी रहेको छ । पानी नपरे केही हदसम्म धेरै सडकहरू दसैँअघि नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अहिले विभिन्न मेसिनहरू प्रयोग गरेर पहिरो पन्छाउने काम गरिरहेको उनी बताउँछन् । ‘मुख्य राजमार्गहरूमा तयारी अवस्थामा पहिरो पन्छाउने मेसिनहरू राखेर काम भइरहेको छ,’ उनी भन्छन्, ‘मौसम अनुकूल भएको खण्डमा सबै सडकलाई दुईतर्फी रूपमा सञ्चालनमा ल्याउने हाम्रो योजना हो । तर, फेरि केही दिन पानी पर्ने अवस्था छ । यसले पनि सडक मर्मतमा केही समस्या उत्पन्न हुन सक्छ ।’

अवरुद्ध सडक मर्मत–सम्भारका लागि धेरै बजेट चाहिने हुन्छ । त्यसका लागि अर्थ मन्त्रालयबाट बजेट माग गर्नुपर्छ । विभागसँग छुट्टै स्रोत नभएको उनको भनाइ छ । दसैँको समयमा वैकल्पिक सडक र वैकल्पिक यातायातका साधनको जोहो हुनुपर्ने हो । तर, सरकारले त्यस्तो प्रबन्ध गर्न सकेको छैन । 

घर जान हतार नगरौँ !

नेपालमा यो वर्षको मनसुनी वर्षा सकिने लक्षण अझै देखिएको छैन । त्यसैले खतरा अझै टरेको छैन । यसअघि गत सप्ताहान्त नेपालमा सक्रिय रहेको मनसुनको न्यूनचापीय प्रणालीका कारणले विभिन्न २५ वटा मौसम केन्द्रहरूमा २४ घण्टाको अत्यधिक वर्षाको नयाँ कीर्तिमान कायम भएको थियो ।

अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा बाढी र पहिरोको प्रकोप निम्तिएको थियो । यो प्रकोपमा परी बुधबार बिहानसम्ममा २२८ जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै २५ जना बेपत्ता छन् । नेपालमा साधारणतया अक्टोबर २ मा मनसुन अन्त्य हुन्छ । तर, यो वर्ष मनसुन लम्बिने संकेत देखिएको छ । 

त्यसैले अझै पनि दसैँका लागि यात्रा गर्नु खतरा नै रहेको बताउँछन्, यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल । उनका अनुसार अहिलेको अवस्थामा यात्रा गर्नु एकदमै जोखिम हुन्छ । ‘कहाँ–कहाँ व्यवस्थापन गर्न सकिन्छ गर्ने र सुधार गर्नसक्ने ठाउँमा सुधार गर्नुपर्छ,’ उनी भन्छन्, ‘तत्काल व्यवस्थापन गर्न सकिँदैन भने बन्द नै गर्नुपर्छ, दसैँ छ भनेर जोखिममा यात्रा गराउनुहुन्न ।’

अहिले पनि सडकमा पहिरो खस्ने र ढुंगा खस्ने क्रम जारी रहेको उल्लेख गर्दै उनले सुधार गरेर सञ्चालन गर्दा जोखिम छैन भन्ने लागेको क्षेत्रमा सञ्चालन गर्ने, तर सडक व्यवस्थापनमा समय लाग्ने छ भने हतार गर्न नहुने बताउँछन् । भन्छन्, ‘दसैँमा यात्रुको चाप छ भनेर ज्यानको जोखिम राखेर सवारीसाधन सञ्चालन गर्नुभएन’, उनी भन्छन्, ‘त्यसैगरी सञ्चालन गर्दा झ्याप्ले खोलामा त्यति ठूलो घटना भयो, गाडी नचलाऊ भन्दाभन्दै चलाएका कारण झ्याप्ले खोलामा घटना भएको थाहा नै छ ।’

उनका अनुसार जहाँ पनि सडक खनेको ठाउँमा सानो ठूलो पहिरो खसिरहेको र यसले जोखिम कायम छ भनेर देखाउँछ । आगामी दिनमा पनि ठूलो क्षति गराउन सक्ने उनको भनाइ छ । ‘यो अवस्थामा जबरजस्ती गरेर घर जानलाई हतार गर्नुहुँदैन, ज्यान रह्यो भने दसैँ त फेरि पनि मनाउन पाइहालिन्छ,’ गजुरेल भन्छन्, ‘यात्रुले पनि जबरजस्ती जान नखोजौँ, सरकारले पनि जोखिम छ भनेर यकिन भएको ठाउँमा गाडी जान रोक्नैपर्छ ।’ 

  • प्रकाशित मिति : असोज १६, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया