नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्का बेलामा सबैले मिलेर सहयोग गर्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको बाढीपहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका–१२ भूमेडाँडा रोशी बजार क्षेत्रको स्थलगत निरीक्षण गर्दै अध्यक्ष दाहालले विपद्का बेलामा सबै मिलेर जनताका पक्षमा काम गर्न लाग्नुपर्नेमा जोड दिए ।
भुमेडाँडा रोशी बजार क्षेत्रका बाढी प्रभावित स्थानीय नागरिकको अवस्थाका बारेमा जानकारी लिँदै उनले सत्ता र प्रतिपक्ष भनेर एकअर्कालाई दोषारोपण गर्नुभन्दा सबै मिलेर जनताको पीरमर्कामा मल्हमपट्टी लगाउनेगरी खोज, उद्धार, राहत र पुनःस्थापनाको काममा केन्द्रित हुन सबैमा आग्रह गरे ।
रोशी बजार क्षेत्रमा मानवीय र भौतिक क्षति बढी नै रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताका पीडाबारे जानकारी लिन तथा दसैँ, तिहारको मुखमा जनताको घाउमा मल्हमपट्टी के-कसरी लगाउन सकिन्छ भनेर बुझ्न आएको बताए । विगतमा विनाशकारी भूकम्पका बेलामा पनि आफू प्रतिपक्षी दलको नेताको हैसियतले सरकारलाई सक्दो सहयोग गरेको उनले स्मरण गरे ।
उनले सरकारलाई जनताका पक्षमा काम गर्न आग्रह गर्दै सरकारले थालेका सकारात्मक काममा आफ्नो पार्टीले साथ दिने बताए ।
‘मौसमविद्हरूले अविरल वर्षा हुँदैछ है भनेर सचेत गराएका थिए । सरकारलाई पूर्वानुमानअनुसार खोज, उद्धार र राहतको सबै तयारी गर्न आग्रह गरेको थिए । अहिले क्षति भइसकेपछि पनि खोज, उद्धार, राहत र पुनःस्थापनाको काममा लाग्नका निम्ति ढिला गर्न हुँदैन’, अध्यक्ष दाहालले भने । यसबारे सरकार र राजनीतिक दलहरूबीच छलफल गर्ने उनको भनाइ छ ।
अध्यक्ष दाहालले रोशी क्षेत्रमा बढी क्षति हुनुको कारण यहाँका खानी र क्रसर उद्योग रहेको उल्लेख गर्दै क्रसर उद्योग र खानीबारे नीतिगतरूपमा नै सोच्नुपर्ने सरकारलाई सुझाव दिने बताए ।
उनले जिल्ला प्रशासन कार्यालयबाट जिल्लाको समग्र मानवीय र भौतिक क्षतिका विषयमा जानकारी लिनुका साथै धुलिखेल अस्पतालमा उपचाररत बिरामीलाई भेटेर उनीहरूको उपचारका बारेमा भइरहेको प्रयास र बिरामीको अवस्थाबारे जानकारी लिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।