logo-img

नेपालमा बर्सेनि बढ्दै छन् क्षयरोगी, निवारण लक्ष्य प्राप्त गर्न चुनौती

कैलाली धनगढीकी गंगा सिंहलाई एक वर्षअघि क्षयरोग पुष्टि भयो । ५० वर्षीया गंगालाई क्षयरोग पुष्टि भएपछि उनीसहित आफन्त अचम्ममा परे । किनकि गंगा न धूम्रपानको अम्मली थिइन्, न त मद्यपान नै गर्थिन् । उनलाई सुरुका दुई साता ज्वरो आउने, खोकी लाग्नेजस्ता लक्षणहरू देखिएको थियो । समय बित्दै जाँदा लक्षण पनि कडा हुँदै जान थाल्यो । सामान्य कारणले यस्ता लक्षण देखिएको हुनसक्छ भन्ने सोचेर उनले घरमै आराम तथा उपचार गरिन् । 

तर, केही समय बित्दै गएपछि उनी थकित र गलित देखिन थालिन् । करिब एक महिनापछि त उनलाई खोकी लाग्ने, पहेँलो खकार आउने, ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखिन थाले । त्यसपछि उनी स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल गइन् । त्यहाँ पुगेपछि उनलाई खकार परीक्षण तथा छातीको एक्सरेलगायत स्वास्थ्य जाँच गर्न लगाइयो । स्वास्थ्य जाँचपश्चात चिकित्सकले रिपोर्ट लिनका लागि भोलिपल्टको समय दिए ।
 
‘डाक्टरले भनेको समयमा रिपोर्ट लिन गएँ । रिपोर्टमा जे आयो त्यसले त म छाँगाबाट खसेजस्तै भएँ । न म चुरोट, बिँडी खाने, न त रक्सी खाने, मलाई नै क्षयरोग (टिबी) देखियो,’ गंगा सशंकित भावमा भन्छिन्, ‘गाउँघरमा बढी चुरोट, रक्सी खाने मान्छेलाई टिबी हुन्छ भन्ने सुनेकी थिएँ । मलाई पनि टिबी भएको भनेपछि त म आत्तिएँ । अचम्मै भयो नि ! कसरी यस्तो भयो भनेर डाक्टरलाई सोधेपछि उहाँले बताइदिनुभयो । नियमित औषधि खाएपछि निको हुन्छ भनेपछि केही राहत महसुस गरेँ ।’ 

गंगाका अनुसार उनले नियमित ६ महिनासम्म क्षयरोगको औषधि खानुपर्यो । हाल उनी पूर्ण रूपमा तन्दुरुस्त छिन् । र, क्षयरोग धुमपान तथा माद्यपान नगर्नेलाई पनि हुने रहेछ भन्ने जानकारी अरूमाझ साझा गरिरहेकी छिन् । ‘हामीले सुनेजस्तो रहेनछ, यो टिबी । श्वासका माध्यमबाट पनि सर्ने रहेछ । त्यसैले हिजोआज अरूका अगाडि मास्कविना जाँदिनँ । रक्सी, चुरोट खानेलाई पनि नखाऊ भनेर सम्झाउने गरेकी छु ।’

गंगा हिजोआज आफ्नो स्वास्थ्यलाई लिएर एकदमै सचेत छिन् । तर, हामीमध्ये कैयौँ त्यस्ता छौँ, जो जनस्वास्थ्यका मापदण्ड पालना गर्न सरकारले बारम्बार ताकेता गर्दा पनि सुनेकोनसुन्यै गर्छौं । यही प्रवृत्तिका कारण पछिल्लो समय नेपालमा क्षयरोगीको अवस्था भयावह बन्दै गइरहेको सरकारी आकँडाले पनि देखाउँछ । 



नेपालमा बढ्दो छ क्षयरोग 

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष ०७९/८० मा नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी भएको अनुमान गरिएकामा ३७ हजार ४ सय ४७ नयाँ बिरामी पत्ता लागेका थिए ।



आ.व. ०७८/७९ मा ३७ हजार ८६१ बिरामी दर्ता भएका छन् । यसैगरी आर्थिक वर्ष ०७७/७८ मा क्षयरोगका २८ हजार ६७७ बिरामी उपचारका लागि अस्पताल आएको तथ्यांक छ । बाँकी बिरामी कहाँ कस्तो अवस्थामा छन् सरकारसँग यकिन तथ्यांक छैन । सरकारले ०७५/७६ मा पहिलोपटक गरेको क्षयरोग प्रेभलेन्स सर्वेक्षणको नतिजाले नेपालमा वार्षिक ६९,००० नयाँ क्षयरोगी थपिने देखाएको थियो । 

दुई हजार नौ सयजना औषधि प्रतिरोधी क्षयरोगका बिरामी रहेको अनुमान गरिएकामा छ सय ९३ जना निदान भई पाँचसय ४६ बिरामी उपचारमा छन् । त्यसकारण सबै बिरामी पत्ता लगाउन र निदान भएकालाई उपचारको दायरामा ल्याउन चुनौती थपिएको छ । उपचारमा आएका बिरामीमध्ये डिएसटिबीको उपचार सफलता दर ९२ प्रतिशत छ भने डिआरटिबीको उपचार सफलता दर गत आवको ७४ प्रतिशतबाट बढेर ८२ प्रतिशत पुगेको छ ।



क्षयरोगको सबैभन्दा धेरै भार मधेश प्रदेश, बाग्मती र लुम्बिनी प्रदेशमा रहेको छ । यी प्रदेशले मात्र ६८ प्रतिशत भार ओगटेका छन् । लुम्बिनी, मधेश र कोशी प्रदेशमा औषधि प्रतिरोधी क्षयरोगको भार क्रमशः उच्च रहेको छ ।

के हो क्षयरोग ? 

क्षयरोग भनेको एक किसिमको सूक्ष्म जीवाणुले लाग्ने रोग हो । यो शरीरको विभिन्न अंगमा जीवाणुको संक्रमणले असर गरेर लाग्ने गर्दछ । प्रायः हामीकहाँ फोक्साको क्षयरोगको बारेमा बढी सुनिएको छ । तर, फोक्सोबाहेक शरीरका अन्य भागमा पनि क्षयरोगले आक्रमण गर्ने सरुवारोग विशेषज्ञ अनुप सुवेदी बताउँछन् । 

उनका अनुसार खुला वातावरणबाट जीवाणु, विषाणु, संक्रमित व्यक्तिबाट अर्को व्यक्तिको फोक्सोलगायत शरीरका अन्य भागमा प्रवेश गर्छ । शरीरको कुन भागमा संक्रमण भएको छ, सोहीअनुरूप यसका लक्षण फरक हुन्छन् । नेपालको प्रायः हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सरिरहेको पाइएको छ ।
‘सुरुमा शरीरमा प्रवेश गर्दा ज्वरो आउने, खोकी लाग्नेजस्ता लक्षण देखिने र पछि आफैँ हराउने हुनसक्छ,’ डा. सुवेदी भन्छन्, ‘केही समयपछि मानिसको रोग प्रतिरक्षा प्रणाली कमजोर भएको मौका छोपेर कुन अंगमा क्षयरोगले छोपेको छ, त्यो अनुसारको लक्षण देखिन सक्छन् ।’

के यो रोग पुस्तान्तरण हुन्छ ? भन्ने फरकधारको प्रश्नमा डा. सुवेदी भन्छन्, ‘प्रायः यो श्वासप्रश्वासबाटै सर्छ । एउटा पुस्ताबाट अर्को पुस्तामा पनि सर्नसक्छ । आमालाई क्षयरोग छ भने बच्चालाई बोकेको बेला श्वास–प्रश्वासबाट सर्ने हुन्छ । तर, पाठेघरभित्रैबाट सर्नेचाहिँ हुँदैन ।’

डा. सुवेदीका अनुसार दुई साताभन्दा लामो समयसम्म खोकी लाग्दा, अत्यधिक खकार, त्यसमा पनि रगत देखिँदा, तौल घट्ने, छाती दुख्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिनेबित्तिकै स्वास्थ्य जाँच गराउँदा क्षयरोगबाट बच्न र फैलनबाट बच्न सकिन्छ । 

पूरा होला सरकारी लक्ष्य ?

नेपालमा क्षयरोगबाट संक्रमित हुनेको अवस्था विश्वका अधिकांश देशहरूको तुलनामा चिन्ताजनक रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार प्रत्येक वर्ष देखिने नयाँ क्षयरोगीको संख्या पनि बढिरहेको छ । क्षयरोग अन्त्यको विश्वव्यापी रणनीति (सन् २०१६–२०३५)ले सन् २०३५ सम्म विश्वमा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य लिएको छ । क्षयरोग अन्त्यको विश्वव्यापी रणनीतिलाई आत्मसात् गर्दै नेपालमा राष्ट्रिय रणनीतिक योजना ०७८/७९–०८२/८३ तयार गरी हाल कार्यान्वयनमा छ ।

क्षयरोग अन्त्यको राष्ट्रिय रणनीतिक योजनाअनुसार आव ०७७/०७८ मा २३८ प्रतिलाख जनसंख्यामा नयाँ क्षयरोग हुने दर भएकामा यसलाई ०८२/०८३ सम्ममा १८१ प्रतिलाख जनसंख्यामा झार्ने र मृत्युदरलाई ०७७/०७८ को ५८ जना प्रतिलाख जनसंख्याबाट ०८२/०८३ को अन्त्यसम्ममा २३ प्रतिलाख जनसंख्यामा झार्ने लक्ष्य छ । यस्तै, क्षयरोगको कारणले परिवारमा पर्ने अधिक आर्थिक व्ययभार शून्यमा झार्ने तथा ०९१/०९२ सम्ममा क्षयरोग महामारीको अन्त्य र २१०६/०७ सम्ममा क्षयरोग निवारण गर्ने लक्ष्य लिइएको छ । तर, लक्ष्य प्राप्ति गर्न नेपाललाई हम्मेहम्मे पर्ने केन्द्रले जनाएको छ । 

यस्तै, डा. सुवेदी पनि यो जनस्वास्थ्यको समस्या भएकाले निवारण व्यक्तिदेखि समाज, विभिन्न तह नै सचेत हुनुपर्ने बताउँछन् । ‘एकजनाले विशेष ख्याल नगरेमा यसको समस्या सबैसम्म पुग्नसक्छ । क्षयरोग लागिसकेपछि अरूलाई नसरोस् भनेर बिरामीसमेत सचेत हुनुपर्छ । सरकारी तवरबाट पनि यसको निवारणका लागि कडा रूपमा प्रस्तुत हुनुपर्छ,’ डा. सुवेदीले भने । 

विश्वव्यापी समस्या क्षयरोग 

सन् २०२२ मा कोरोनापछि दोस्रो मृत्यु गराउने कारणका रूपमा क्षयरोग देखिएको छ । विश्व स्वास्थ्य संगठनको ग्लोबल टिबी रिपोर्ट २०२३ को प्रतिवेदनअनुसार २०२२ मा १०.६ मिलियन मानिसमा क्षयरोग भएको अनुमान गरिएको थियो भने ७.५ मिलियन क्षयरोगका नयाँ बिरामी निदान भएका थिए । जुन सन् १९९५ देखिको सबैभन्दा उच्च संख्या हो ।

क्षयरोग देखिएकामध्ये ५५ प्रतिशत पुरूष, ३३ प्रतिशत महिला र १२ प्रतिशत बालबालिका (०–१४ वर्ष) रहेका छन् । विश्वव्यापी रोग निदान भएका क्षयरोगका बिरामीमध्ये ४६ प्रतिशत दक्षिण–पूर्वी एसियाका रहेका छन् । त्यसमा भारत, चीन, पाकिस्तान र बंगलादेशमा क्षयरोगको उच्च भार रहेको छ ।

  • प्रकाशित मिति : असोज १७, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया