logo-img

राजाले नारायणहिटीबाट सिंहदरबार ताक्दा [भिडियोसहित]
नारायणहिटीबाट सिंहदरबारको शक्ति हत्याउन शाही कदम चाल्ने राजा जब गद्दीच्युत भए

धेरैको स्मृतिमा ताजै होला, असोज १८ को त्यो घटना । १८ असोज ०५९ मा राजाले चालेको त्यो कदम नै राजसंस्था उन्मूलनको प्रस्थान विन्दु बन्यो । संवैधानिक राजाको हैसियतमा नारायणहिटी राजदरबारमा राजभइबक्सेका राजाले सिंहदरबारमा रहेको जनताको शक्तिमाथि लोभी नजर लगाउँदा राजगद्दी नै त्याग्नुपर्‍यो । 

हो– आज कुरा, नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाहको । आज कुरा, आफ्नो खुट्टामा आफैंले बन्चरो हानेर राजतन्त्रलाई एकादेशको कथामा परिणत गरेका ज्ञानेन्द्रको । कुरा आज, राजहठका कारण जननिर्वाचित सरकार र राजनीतिक दलहरूलाई जोकर बनाउँदाको परिणाम भोगेका ज्ञानेन्द्रको ।

ती दिन ती पात्रमा आज पूर्वराजा ज्ञानेन्द्र शाह ।  

के पूर्वराजा ज्ञानेन्द्र पञ्चायतकालमा सूर्यबहादुर थापाले भन्ने गरेको भूमिगत गिरोहका सरगनामध्येका एक थिए ? पञ्चायतकालका यी अधिराजकुमारले शक्तिको दुरुपयोग गरेर व्यापार गरिरहेका थिए ? अधिराजकुमार हुँदा ज्ञानेन्द्रले त्यस्तो कुन सर्त राखे, जसका कारण विश्वप्रसिद्ध ओमेगा घडीले नेपालमा उद्योग खोल्न नसकेर फिर्ता हुनुपर्‍यो ?  



७७ वर्षका भए, पूर्वराजा ज्ञानेन्द्र शाह । तर, यो उमेरमा पनि तेस्रोपटक नेपालको राजा हुने लालसालाई भने ज्ञानेन्द्रले लुकाएका छैनन् । फेरि एकबाजी राजा बन्नका लागि उनले पूर्वपञ्चहरू सम्मिलित राजनीतिक दलहरू परिचालित गरेकै छन् । ज्ञानेन्द्रले भारत र नेपालमा अनेक रूपरंगका हिन्दू कार्डहरूको प्रयोग पनि गरेकै छन् ।   



नेपालका अन्तिम शाहवंशीय राजा उनी दुईपटक नेपालका राजा भए । तर, यो बेग्लै कुरा हो कि दुवैपटक दिल्ली सम्झौतापछि यी राजाले राजमुकुट त्याग्नुपर्‍यो । २००७ सालमा हजुरबुबा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिए । यता, राणा शासकले ज्ञानेन्द्रलाई राजा बनाए । १९ जेठ ०५८ मा राजा वीरेन्द्रको वंश विनाशपछि ज्ञानेन्द्र फेरि नेपालका राजा भए । तर, बिचौलिया स्वभावका व्यापारी ज्ञानेन्द्रले शासन चलाउने कला जानेनन् ।

राजा भएको एक वर्षपछि उनले एउटा यस्तो कदम चाले, जुन कदमले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको बाटो खोलिदियो । त्यो दिन थियो– १८ असोज । ०५९ साल । हो, त्यो आजकै दिन थियो, २२ वर्षअघि । जुन दिन राजा ज्ञानेन्द्रले आफ्नो खुट्टामा आफैँ बन्चरो हाने । र, राजतन्त्रलाई इतिहास बनाए ।



ज्ञानेन्द्रले यही दिन रातको १०:४५ बजे शाही घोषणा पढे । जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव गराउन नसकेको ‘अक्षम’ प्रधानमन्त्रीको आरोप लगाउँदै सिंहदरबारको सत्ताबाट बाहिरको बाटो देखाए । शासन आफ्नो हातमा लिए । राजाबाट अपदस्थ हुने बिपी कोइरालापछि देउवा नै दोस्रो जननिर्वाचित प्रधानमन्त्रीका रूपमा इतिहासमा लेखिए ।

१८ असोजको त्यो काण्डपछि राजा ज्ञानेन्द्रले आफैँ शासन चलाउने महत्वाकांक्षा सार्वजनिक गर्न थाले । विभिन्न राजनीतिक दलभित्र खेल्न थाले । लोभी–पापी, मिति गुज्रिएका, क्षमता अनि हैसियत नभएका कुपात्रहरूलाई नारायणहिटीमा जम्मा गर्न थाले । ज्ञानेन्द्रले दलहरूभित्र खेलेर अर्को नाटक मञ्चन गरे । त्यसै दिन शाही घोषणामार्फत स्वच्छ छविको व्यक्तिलाई प्रधानमन्त्रीमा सिफारिस गर्न आह्वान गरे । राजाले प्रधानमन्त्री बनाइहाल्छन् कि भनेर प्रमुख राजनीतिक दलका केही नेता ज्ञानेन्द्रसामु लम्पसार परे । 

यसैबीच ज्ञानेन्द्रले अनेक प्रयोग गरे, तर जताततै असफल भए । केही सीप नलागेपछि देउवालाई प्रधानमन्त्री बनाए । त्यसमा पनि उनको चित्त बुझेन । दोस्रोपटक ०६१ माघ १९ मा देउवालाई फेरि अपदस्थ गरेर आफैँ मन्त्रिपरिषदको अध्यक्ष भए । गोर्खाली राजाले न्याय गरे भन्दै मख्ख परेका देउवा हिस्स परे । संवैधानिक राजा हेर्दा हेर्दै सक्रिय राजामा परिणत भए । 

ज्ञानेन्द्रले ०६३ वैशाख ११ गतेसम्म शासन चलाए । ०६२/०६३ को जनआन्दोलनको बलमा पुनःस्थापना भएको संसदले ०६५ जेठ १५ गते खोपीमा बसिरहेका राजालाई नागार्जुन धपायो । संविधानसभाले नेपालमा गणतन्त्र घोषणा गर्‍यो । राजा र राजतन्त्र नेपालको इतिहासमा अनि एकादेशको कथा भयो । 

असोज १८ को कदम चालेर ज्ञानेन्द्रले संसदीय प्रणालीमा राजदरबारको हस्तक्षेपलाई परम्परा ठान्ने भूल गरे । हो– गल्ती यहीँ भयो । अधिराजकुमार हुँदादेखि अहिलेसम्म बिचौलिया र व्यापारीको भूमिकामा देखिएका ज्ञानेन्द्र सोल्टी होटल, सिप्रदी ट्रेडिङ, भोटेकोशी हाइड्रोपावर कम्पनी, हिमालयन गुड्रिक टी, सूर्य नेपाल टोबाको, अन्नपूर्ण होटल, चिया बगान, हिमाल इन्टरनेशनल पावर कर्पोरेसनदेखि ज्ञात–अज्ञात अनेक ठाउँका स्वामी हुन् । कुनै बेला नेपालका प्राचीन मूर्तिदेखि दुर्लभ एकसिंगे गैँडा विदेशीलाई बेच्नेसम्ममा नाम जोडिएका व्यक्ति पनि हुन्– पूर्वराजा ज्ञानेन्द्र ।  

जस्तो कि गैँडाको सन्दर्भ । १५ असार ०५४ मा काठमाडौं टुडे म्यागेजिनमा ‘दुर्लभ एकसिंगे गैँडा हस्तान्तरणमा श्री ५ अधिराजकुमार ज्ञानेन्द्रको संलग्नता’ शीर्षकमा गोपाल गुरागाईंको रिपोर्टले पनि पैसाका लागि ज्ञानेन्द्रले कतिसम्म नीच हर्कत गर्थे भन्ने छर्लङ्ग पारेको छ । काठमाडौं टुडेमा प्रकाशित उक्त रिपोर्टअनुसार, पञ्चायतकालमा दरबारमा वन्यजन्तु संरक्षण समिति थियो, जसको नेतृत्व ज्ञानेन्द्रले नै गर्दै आएका थिए । 

सोही समितिको २९ असार ०४६ मा बसेको बैठकले उपहारका नाममा गैँडा विदेश पठाउन बिक्री मूल्य नै तोक्यो । कतिसम्म भने उक्त बैठक तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहको अध्यक्षतामा निर्मल निवासमा नै बस्यो । गुरागाईंको उक्त रिपोर्टले भनेजस्तै गैँडा उपहार पठाएर आएको रकम भने पारदर्शी थिएन । कोषको खातामा आएको त्यो रकम लेखा परीक्षणको दायरामा पनि परेको देखिएन ।  बुझ्न कठिन थिएन, विदेशीलाई गैँडा बेचेर आएको पैसा ज्ञानेन्द्रले आफ्नो गोजीमा हाले ।

यस्तै, अर्को सन्दर्भ । ज्ञानेन्द्रमा राजकाजको कला जान्नुमाभन्दा बिचौलिया भएर बसी–बसी पैसा कमाउनमा बढी रुचि थियो भन्ने अर्को प्रमाण हो– नेपाल आउन खोजेको विश्वप्रसिद्ध ओमेगा घडीको प्रसंग ।  

०२५ सालताका उद्योगमन्त्री रहेका नवराज सुवेदीले आफ्नो पुस्तक ‘इतिहासको एक कालखण्ड’मा विश्वप्रसिद्ध ओमेगा घडी कम्पनीले नेपालमा फ्याक्ट्री खोल्नका लागि गरेको प्रयत्न अधिराजकुमार ज्ञानेन्द्रका कारण कसरी असफल भयो भन्ने उल्लेख गरेका छन् । 

सुवेदीले आफ्नो पुस्तकमा लेखेका छन्–

‘ओमेगाले नेपालमा एक कारखाना खोल्न पाऊँ भनी प्रस्ताव पठायो । कुरा राम्रो थियो । अतः विश्व ब्याङ्कको वार्षिक साधारणसभाको मिटिङबाट फर्कँदा जेनेभा गई ओमेगा फ्याक्ट्री हेर्नू र कुरा पनि गर्नू भन्ने श्री ५ महेन्द्रबाट निर्देशन बक्स्यो । वासिङ्टनबाट फर्कँदा म, भेषबहादुरजी (डा. भेषबहादुर थापा) र पुष्करनाथ पन्त हामी तीनजनाले ओमेगा फ्याक्ट्री पनि हेर्यौँ र नेपालमा फ्याक्ट्री खोल्नेबारे कुरा पनि गर्‍यौं । उनीहरूको एउटै मात्र सर्त हामी सरकार या प्राइभेट कसैसँग पनि साझेदारीमा काम गर्दैनौँ भन्ने थियो । यो सर्त मञ्जुर हुन्छ भने एक वर्षभित्र फ्याक्ट्री चालू गर्छौँ भन्ने उनीहरूको भनाइ थियो । हामीहरूले ओमेगाजस्तो कम्पनी आउँछ भने किन नदिने भनी मन्जुरी दियौँ । तर, काठमाडौं आएपछि श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई त्यसमा आधा सेयर (अंश) चाहियो जुन कुरा मैले ठाडै इन्कार गरेँ । यसैकारण नेपालमा ओमेगा पनि आउन सकेन । ज्ञानेन्द्र सरकार पनि मसँग रिसाइबक्स्यो ।’

यस्ता थिए, हाम्रा पूर्वराजा, जो अहिले पनि फेरि राजा बन्ने भन्दै तम्सिरहेका छन् । नेपाल र नेपालीको भाग्य विधाता र विश्वकै हिन्दू सम्राट भन्दै डुलिरहेका छन् । बिहीबार मात्रै उनी भुटानी राजाको निमन्त्रणामा भुटान भ्रमणमा छन् । ‘राजा सबैका साझा’ भन्ने नेपाली उक्तिलाई आत्मसात गर्न नसक्दा आमनागरिक बनेका छन्, ज्ञानेन्द्र शाह ।  

  • प्रकाशित मिति : असोज १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया