logo-img

गाजामा बन्धक बनाइएका ६४ जनाको अवस्था अज्ञात

हमास लडाकूहरूले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा भयानक आक्रमण गर्दा उनीहरूले दुई सय ५१ बन्धकलाई गाजा पट्टीमा लगेका थिए । 

आक्रमणको एक वर्षपछि पनि दुई बालबालिकासहित ६४ जना अझै बन्धक छन् । इजरायलले उनीहरू जीवित रहेको विश्वास गरेको छ । 

गाजा पट्टीमा शासन गर्ने प्यालेस्टिनी लडाकू समूहका लागि बन्धकहरू इजरायलसँग युद्धविराम वार्ता गर्न र इजरायली जेलहरूमा थुनिएका प्यालेस्टिनी कैदीहरूको रिहाइ गर्न महत्त्वपूर्ण मोलमोलाइको माध्यम बनाइरहेका छन् । 

५२ पुरुष, १० महिला, दुई बालबालिका



सन् २०२३ अक्टोबर ७ मा हमास लडाकूहरूले कब्जामा लिएका दुई सय ५१ बन्धकमध्ये एक सय १७ जना मुक्त भएका छन् र तिनीहरूमा अधिकांश महिला, बालबालिका र विदेशी कामदार छन् ।

इजरायली जेलहरूमा थुनिएका दुई सय ४० कैदीको बदलामा अधिकांश बन्धकलाई नोभेम्बरको अन्त्यतिर एक साताको युद्धविरामको समयमा रिहा गरिएको थियो । करिब एक वर्षपछि गाजामा अहिले पनि बन्धक बनाइएका ६४ जना जीवित रहेको इजरायलको विश्वास छ । सेनाले मृत भएका पुष्टि गरेका ७० मध्ये ३३ को शव अझै गाजामा छ ।



गाजामा मृत्यु भएका वा अक्टोबर ७ मा मारिएर त्यस क्षेत्रमा लगिएका ३७ बन्धकको शव सेनाले स्वदेश फर्काएको छ ।  जीवित रहेको विश्वास गरिएका ६४ मध्ये ५७ जना इजरायली हुन् । यद्यपि तीमध्ये केहीसँग एउटाभन्दा बढी राष्ट्रियता छ । अन्य छ जना थाई नागरिक र एक जना नेपाली छन् । 

५२ जना पुरुष र १० महिला छन् । त्यस्तै ११ जना सैन्य कर्मचारी छन् भने दुई जना बालबालिका छन् । सबैभन्दा कम उमेरको बन्धक कफिर अपहरणमा पर्दा आठ महिना १५ दिनको थिए । उनका दाजु एरियल गाजामा लैजाँदा जम्मा चार वर्षका थिए । हमासले यी दुई बालबालिका मरेको बताएको छ तर इजरायलले यसको पुष्टि गरेको छैन ।



जीवित रहेको कुनै प्रमाण छैन

डिसेम्बर १ मा युद्धविराम समाप्त भएयता इजरायली सैन्य कारबाहीका क्रममा अन्य सात बन्धक मात्र जीवितै मुक्त भएका छन् । जीवित रहेको कुनै प्रमाण नभएकाले ६४ जना अझै जीवित छन् कि छैनन् भन्नेबारेमा अनिश्चितता कायम छ । 

आफ्ना लडाकूहरूले एक इजरायली बन्धकलाई गोली हानी मारेको र अन्य दुईलाई घाइते बनाएको हमासको सशस्त्र शाखाले अगस्ट १२ मा बताएको थियो । हमासले धेरै पटक बन्धकहरूको मृत्यु भएको घोषणा गरे पनि इजरायलले त्यसको पुष्टि गरेको छैन । यसबाट परिवारहरू पीडामा छन् । 

  • प्रकाशित मिति : असोज १८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया