नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य रुक्मती जागरीले आफ्नो चरित्र हत्या गर्नेहरूमाथि राज्यले कारबाही गर्न तदारुकता नदेखाएको बताएकी छिन् ।
एकीकृत समाजवादीको गत असार १६ देखि सुरु भएर २१ गते सम्पन्न भएको महाधिवेशनमा आफू केन्द्रीय सदस्य बनेसँगै पार्टीकै केही नेताले सुनियोजित रूपमा भ्रामक भिडियो बाहिर ल्याएर आफूलाई बदनाम गराएको उनले बताइन् ।
त्यस्तै, दृष्टि, जनता टाइम्स, खप्तड टिभीलगायत मिडियाले आफूविरुद्ध नियोजित रूपमा समाचार बनाएर चरित्र हत्या गरेको उनको आरोप छ ।
आफ्नो चरित्र हत्यामा संलग्न रहेकाविरुद्ध प्रेस काउन्सिल, महिला आयोग, मानव अधिकार आयोग, साइबर ब्युरोलगायत राज्यका निकायमा पुगे पनि न्याय नपाएको बताइन् । आफूविरुद्ध चरित्र हत्या हुनेगरी प्रकाशन/प्रशासन गरिएको उक्त समाचार अझै नहटाइएको उनले बताइन् ।
आफूले गृहमन्त्री रमेश लेखकलाई भेटेर आफ्नो पीडा सुनाएपछि गणेश विक र गणेशबहादुर बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको उनले सुनाइन् । गणेश बस्नेत नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारीका अध्यक्षसमेत हुन् ।
उनले पक्राउ पुर्जी जारी भएकाहरूलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले सरकारले त्यस्ता अराजक तत्वलाई पक्राउ गरेर कारबाही नगर्ने हो भने आफूले कानुन हातमा लिन बाध्य हुने पनि उनले चेतावनी दिइन् ।
‘पक्राउ पुर्जी जारी भएर जुन नौटंकी प्रस्तुत भइराखेको छ, यो गलत कुरा हो । मलाई कानुन हातमा लिन बाध्य नपारियोस् । किनभने यो देश कानुनी राज्य हो । म कानुन मान्ने मान्छे हुँ । मेरो पनि घर परिवार छन्, आफन्त छन् । म जोडदार ढंगले माग गर्न चाहन्छु । पत्रकार महासंघले नौटंकी गरिरहेको छ । महिलामाथि हिंसा गर्ने अपराधी पत्रकार र राजनीतिक दलका षड्यन्त्रकारीलाई कठघरामा उभ्याउन सहयोग गर्नुहोस्,’ उनले भनिन् ।
आफ्नो राजनीतिक जीवन समाप्त पार्नका लागि यस्ता प्रकारको षड्यन्त्र भइरहेको उनले बताइन् । उनीहरूलाई पक्राउ गरेर कानुनी कारबाही गरेपछि मात्रै आफूले न्याय पाएको महसुस गर्ने उनले बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।