विधिवत् रूपमा बिहीबारदेखि दसैँ सुरु भइसकेको छ । अघिल्ला वर्षहरूमा काम विशेषले घरबाट टाढा रहेकाहरू गाउँ फर्किन लर्को हुन्थ्यो । तर, यस वर्ष विधिवत् रूपमा दसैँ सुरु भएको दोस्रोे दिनसम्म पनि मानिसहरू गाउँ फर्किने या नफर्किने भन्ने दोधारमा छन् । अहिलेसम्म पनि धेरैको कहिले र कसरी घर जाने भन्ने टुंगो लागिसकेको छैन । कारण हो– असोजको दोस्रो हप्ता तीन दिन परेको अविरल वर्षा र त्यसले मच्चाएको वितण्डा ।
दसैँको मुखमा राष्ट्रले ठूलो विपत्ति व्यहोर्नुपरेको छ । दसैँको मुखमा परेको अविरल वर्षाले बाढी–पहिरो जाँदा जनधनको ठूलो क्षति भयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ भने अझै १९ जना बेपत्ता छन् । बाढी पहिरोमा परी ४ हजार ६६७ घरमा पूर्ण रूपमा क्षति पुगेको छ । आंशिक क्षति पुगेका घरहरूको संख्या भने ५ हजार ३१० छ । १६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन् ।
दसैँको मुखैमा हजारौँ नेपालीको खुसी लुटिएको छ । बाढीपहिरोबाट सडक, पुल लगायतका संरचनामा करोडौँको क्षति पुगेको छ । वर्षासँगै आएकोे बाढीले काठमाडौं उपत्यका र यसको आसपासमा व्यापक क्षति गरेपछि दसैँको मुखमा धेरै नागरिक निराश बनेका हुन् । बाढीपहिरो प्रभावितको दर्दनाक पीडा एकातिर छँदै छ भने अर्कातिर घर जान पाइने–नपाइने अनिश्चितताको चिन्ताले धेरैलाई पिरोलेको छ ।
दसैँ सुरु भइसके पनि विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा रहेका देसभरका लाखौँ मानिस यसपालि घर जान पाउने/नपाउने अहिलेसम्म पनि टुंगो छैन । वर्षाका कारण देशभरका विभिन्न राजमार्ग क्षतविक्षत् भएका छन् । कतिपय सडक मर्मत–सम्भार गरेर खुले पनि पानी पर्न नरोकिएका कारण पटक–पटक खुल्ने/बन्द हुने अवस्था छ । यसअघिकै वर्षाले गलेको जमिन थोरै पानी पर्दा पनि पहिरो जाने अवस्था छ ।
ज्यानको बाजी लगाएर गाउँ फर्किन यात्रा सुरु गरेकाहरू पनि तीन–चार दिनसम्म बाटोमै छन् । कतिबेला घर पुग्ने हो, कुनै ठेगान छैन । प्राकृतिक विपत्तिले झ्याप्ले खोलामा आएको पहिरोमा नागरिक बिलाएझैँ हुने हो कि भन्ने त्रासमा यात्रु छन् । बाटोमा तीन–चार दिन रोकिएका यात्रुका पीडा सुनेरै धेरैले सवारीसाधन पाइहाले पनि जाने आँट गर्न सकेका छैनन् ।
नेपालमा साधारणतया अक्टोबर २ मा मनसुन अन्त्य हुन्छ । तर, यो वर्षको मनसुनी वर्षा सकिने लक्षण अझै देखिएको छैन । मनसुन बाहिरिने बेला बुधबारदेखि पुनः देशका विभिन्न ठाउँमा वर्षा हुन थालेको छ । पुनः वर्षा हुन थालेपछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । खतरा अझै टरेको छैन । त्यसैले स्थलमार्गबाट यात्रा झन् अनिश्चितजस्तै बन्दै गएको छ ।
स्थलमार्ग यात्रा अनिश्चित बन्दा यसपालिको दसैँ मनाउन गाउँ फर्किने एउटै मात्र भरपर्दो र विश्वासिलो आधार हो– हवाईमार्ग । यात्राका लागि विश्वमै सबैभन्दा सुरक्षित मानिन्छ, हवाई यात्रा । तर, त्यसका लागि पनि टिकट काट्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा वायुसेवा कम्पनीहरूले न्यूनतम भाडामा उडान गर्नुपर्नेमा उल्टै उपभोक्ता ‘लुट्ने’ माध्यम बनाएका छन् । काठमाडौंबाट बाहिरिन अहिले हवाईमार्गबाहेक अर्को सुरक्षित यात्रा छैन । यही संकटको फाइदा उठाउँदै कम्पनीहरूले मनलाग्दी भाडा बढाएर अमानवीय व्यवहार प्रकट गरिरहेका छन् ।
उडान थपे पनि टिकटको हाहाकार !
अविरल वर्षासँगै आएको बाढी पहिरोले अधिकांश राजमार्ग ध्वंस हुँदा वायुसेवा प्रदायक कम्पनीलाई आन्तरिक उडान थप्न लगाइएको थियो । सोहीअनुसार बुद्ध एयरले काठमाडौंबाट भद्रपुर र जनकपुरमा दैनिक दुई–दुईवटा र यती एयरलाइन्सले भद्रपुर, जनकपुर र नेपालगन्जमा दैनिक एक–एक उडान थपेका छन् । यस्तै, श्री एयरलाइन्सले पनि धनगढी, नेपालगन्ज, पोखरा, भैरहवा र विराटनगरमा उडान थपेको छ । आन्तरिक हवाई यात्रु अत्यधिक बढेपछि त्रिभुवन विमानस्थलमा उडान चाप बढेको छ । अहिले यात्रु र उडानहरू व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको त्रिभुवन विमानस्थलले जनाएको छ ।
विमानस्थलमा उडानको चाप बढेसँगै रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजेदेखि खोल्ने निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हवाई यात्रुको चाप बढेपछि घटस्थापना (असोज १७) देखि पूर्णिमा (३० गते) सम्म बिहान ४ः३० देखि राति १२ बजेसम्म विमानस्थल सञ्चालन हुने भएको हो । विमानस्थल बिहानैदेखि खोल्ने निर्णय गरेसँगै वायुसेवा प्रदायक कम्पनीहरूले पनि उडान थप गरेका छन् । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा विमानस्थल, पोखरा, नेपालगन्ज लगायतका विमानस्थलमा बिहान ६ देखि राति १० बजेसम्म उडान हुँदै आएको थियो ।
तर, पनि टीकाको अघिल्लो दिनसम्मको टिकट पाउन मुस्किल छ । बाढीपहिरोले सडक यात्रा सम्भव नहुने निष्कर्षमा यात्रुहरूले बाध्य भएर हवाई यात्रा रोज्नुपरेपछि अधिक चापका कारण असोज २५ गतेसम्मको टिकट सकिइसकेको वायुसेवा प्रदायक कम्पनीले जनाएका छन् ।
उदयपुरकी सजना श्रेष्ठले बाढी–पहिरोले बिपी राजमार्ग अवरुद्ध भएसँगै दसैँमा घर जान हवाई मार्गलाई विकल्पका रूपमा योजना बनाइन् । तर, उनले टीकाको दिनअघिसम्मको हवाई टिकट पाइनन् । ‘सरकारले उदयपुरमा विमानस्थल बनाउने भन्दै पटक–पटक घोषणा गरे पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन,’ उनी भन्छिन्, ‘उदयपुर जानका लागि हवाईमार्ग प्रयोग गर्नुपरे कि जनकपुर, कि विराटनगरको फ्लाइटमा जानुपर्छ । उदयपुरका लागि सबैभन्दा नजिकको विमानस्थल नै यी दुईवटा हुन् । त्यहाँदेखि पनि गाडीमा उदयपुरको सदरमुकाम पुग्न करिब चार घण्टा लाग्छ । तर, पनि टिकट पाइएन ।’
उनले बुद्ध एयरबाट जानका लागि टिकट खोजेकी थिइन् । तर, विजया दशमीको अघिल्लो दिन अर्थात् अष्टमी-महाअष्टमी (११ तारिख)को दिनसम्मका लागि काठमाडौंबाट जनकपुर र विराटनगर जाने कुनै पनि टिकट पाइनन् । यसपालिको दसैँमा गाउँघर पुगेर घरपरिवार, आफन्त र साथीभाइसँग रमाइलो गर्ने उनको चाहना चकनाचुरजस्तै भएको छ । ‘अर्को वर्ष के होला, कसो होला ?’ उनी निराश हुँदै भन्छिन्, ‘यसपालि त गाउँ गएर रमाइलोसँग दसैँ मनाउँला भनेको घर जाने वातावरण नै छैन । दसैँ सुरु भइसक्यो, आजसम्म (शुक्रबार) पनि जाने टुंगो लाग्न सकेको छैन । यसपालि दसैँ मान्न नपाइएलाजस्तै छ ।’
केही गन्तव्यको टिकट त महिनादिनअघि नै बुकिङ सकिएको छ । अहिले कतिपय सुगम गन्तव्यको हवाई टिकट पाउन पनि ग्राहकलाई मुस्किल छ । टिकट पाइहाले पनि सामान्य व्यक्तिले प्लेन चढ्नै नसक्ने गरी मूल्य वृद्धि गरिएको छ भने महँगो भाडा तिरेर पनि हवाई टिकट पाउन मुस्किल छ । कम्पनीका अनुसार बुकिङ चापका कारण अधिकांश गन्तव्यतर्फ सुरुवाती भाडादरको टिकट लगभग सकिएको छ । यो त उदाहरण मात्रै हो ।
बुकिङ बढेका कारण सबैजसो कम्पनीले भाडादर बढाएका छन् । काठमाडौं–धनगढी हालको औसत भाडादर ७ हजार ९०० रुपैयाँ रहेकामा वायुसेवा प्रदायक कम्पनीहरूले दसैँमा भाडादर ह्वातै बढाएका छन् । हाल धनगढीको भाडादर १७ हजारसम्म पुर्याइएको छ । आन्तरिक उडानका बुद्ध एयरसँगै यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरलगायले ह्वातै भाडादर बढाएका छन् ।
दसैँ, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । वर्ष दिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशबाट सहर, सदरमुकामदेखि गाउँ पुग्नेको लर्को लाग्छ । उनीहरू आफन्त र मान्यजनबाट टीका तथा आशीर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्यमा पुग्न चाहन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अहिले आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० र अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । तुलनात्मक रूपमा हवाई यात्रा महँगो भए पनि सहज, सुलभ र छिटोछरितो भएकाले हवाई यात्रा धेरै रोजाइमा पर्छ । तर, सडकको यात्रा कष्टपूर्ण भएका कारण यात्रुले उडान रोज्नुपर्ने बाध्यता रहेको बुझेर वायुसेवा प्रदायक कम्पनीहरूले भाडा बढाएका छन् ।
सरकार मूकदर्शक !
सरकारले केही दिनअघि बाढीपहिरोले अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म वायुसेवा प्रदायक कम्पनीहरू हवाई टिकट सस्तोमा बेच्न सहमत भएको जनाएको थियो । सरकारले भनेजस्तो यात्रुले सस्तो भाडादरको टिकट पाउने अवस्था भने बनेन ।
हवाई कम्पनीहरूले अकुपेन्सीका आधारमा सामान्य अवस्थामा ७० प्रतिशत न्यूनतम भाडादरमा हवाई टिकट बेच्ने गरेका थिए भने १५ प्रतिशत मध्यम दर र त्यसपछि १५ प्रतिशत उच्चतम भाडादरमा बेच्ने गरेका थिए । तर, अहिले प्राकृतिक विपत् र दसैँको अवसरमा उनीहरूले मौका छोपेर न्यूनतम दरका टिकट नै उपलब्ध नगराएको गुनासो यात्रुको रहेको छ । तर, कुनै पनि कम्पनीहरूले सरकारले तोकेको भाडादर भन्दा बढी नलिएको तर्क गर्छन्, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेय ।
उनका अनुसार अनुगमन गर्दा कुनै पनि वायुसेवा कम्पनीहरूले अधिकतमभन्दा बढी भाडा लिएको पाइएको छैन । ‘केही दिनअघि रातारात मन्त्रीज्यू (पर्यटनमन्त्री बद्री पाण्डे)को पहलमा बैठक बसेर सामान्य दरमा यात्रा गराउन वायुसेवा कम्पनीहरूलाई आग्रह गरेर व्यवस्था मिलाएका थियौँ,’ उनी भन्छन्, ‘वायुसेवा कम्पनीहरूलाई अधिकतम मूल्य नलिन पटक–पटक आग्रह गर्दै आएका छौँ । न्यूनतम नै त लिएका छैनन् । तर, सामान्य दरमा यात्रा गराइरहेका छन् । हाम्रो अनुगमनले पनि त्यही पुष्टि गर्छ ।’
वायुसेवा क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालकहरूलाई सरकारले नै भाडादर तय गरेका कारण आफूहरूले आग्रह मात्रै गर्न सक्ने बताएको छ । सोहीअनुसार प्राधिकरणले वायुसेवा सञ्चालकहरूलाई अनुरोध गरिरहेको प्राधिकरणका प्रवक्ता पाण्डे बताउँछन् । ‘सरकारले नै धनगढीको अधिकतम भाडा १८,००० रुपैयाँसम्म तय गरेका कारण हामीले यसमा घटाऊ भन्न मिल्दैन,’ उनी भन्छन्, ‘तर विपद्को समयमा अधिकतम भाडा नलिएर सहुलियत भाडादर नै लिन हामीले वायुसेवा सञ्चालकहरूलाई अनुरोध गर्दै आएका छौँ । वायुसेवा कम्पनीहरूले त्योभन्दा कममै यात्रा गराइरहनुभएको छ ।’
यस्तै, बाढी पहिरोले स्थलमार्ग अवरुद्ध हुँदा र सँगसँगै नेपालीहरूको महान् चाडपर्व सुरु भएका कारण पनि हवाई टिकट नपाउने अवस्था बनेको उनी स्वीकार गर्छन् । ‘केही दिनका लागि हवाई यात्रा मात्रै एक मात्रै विकल्प बनेको छ,’ उनी भन्छन्, ‘अहिलेको अवस्थामा हवाई टिकट नपाउनु स्वाभाविक हो । हामीसँग सीमित विमानहरू छन् । स्थलमार्ग कष्टकर बन्दा सबैले हवाई यात्रा रोजिरहनुभएको छ । त्यसैले टिकट नपाएको हुनसक्छ ।’
तर, सरकारले सकेसम्म यात्रुहरूलाई सहज यात्राका लागि पहल गरिरहेको उनी बताउँछन् । ‘यात्रुहरूको समस्यालाई ध्यानमा राखेर हामीले सक्दो पहल गरिरहेका छौँ,’ उनी भन्छन्, ‘विमानस्थलको चापलाई ध्यानमा राख्दै बिहानैदेखि रातिसम्म विमानस्थल सञ्चालनमा ल्याएका छौँ । सोहीअनुसार बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्सलगायतले उडान संख्या थप गरेका छन् ।’ सुरक्षालाई समेत ध्यानमा राखेर हवाई यात्रालाई चुस्तदुरुस्त पारिएको उनको भनाइ छ ।
‘अब यात्रुको चाप बढ्यो भन्दैमा जथाभावी जहाड उडाउन पनि भएन । दुर्घटना हुने जोखिम हुन्छ,’ प्राधिकरणका प्रवक्ता पाण्डेय भन्छन्, ‘नियम–कानुनको परिपालना गरेर उडान संख्या बढाएर भए पनि बढीभन्दा बढी यात्रुलाई सेवा दिने हाम्रो उद्देश्य हो । यात्रुहरूलाई पनि के अनुरोध गर्छौं भने टिकट आज पाइएन भने ३—४ घण्टाको फरकमा चेक गरिरहनुहोस् । कसै–कसैले उडान संख्या थप गरेको हुन सक्छन् र टिकट पाइने सम्भावना हुनसक्छ ।’
यता, वायुसेवा सञ्चालकहरूले भने सरकारले तोकिदिएकै भाडादर लिएको दाबी गर्दै आएका छन् । बुधबारसम्म वायुसेवा कम्पनीहरूले अधिकतम भाडा नलिने सहमति नागरिक उड्डयन प्राधिकरणसँग गरेको थियो । अहिले वायुसेवा सञ्चालकहरूले मध्यम र न्यूनतम मूल्यमै सबै टिकट बिक्री गरिरहेको वायुसेवा कम्पनीहरूको दाबी छ । सरकारले विमान कम्पनीहरूका लागि प्रत्येक ठाउँको अधिकतम र न्यूनतम भाडादर तोकिदिएको छ । अहिले सडक अवरुद्ध भएका कारण हवाई यात्रुहरूको चाप देखिएको छ । यसकारण सस्तो टिकट सबै बिक्री भएका कारण अधिकतम मूल्यका टिकटहरू मात्रै उपलब्ध भएका हुन सक्ने पनि उनीहरूको तर्क छ ।
तर, अहिले सरकार र वायुसेवा कम्पनीहरूले भनेजस्तो यात्रुहरूले न त सस्तो दर रेटमा टिकट नै पाएका छन् न त महँगोमा तिर्छु भन्दा पनि टिकट नै पाएका छन् । सडक सञ्जालबाट आफ्नो गन्तव्यमा जान नसकेको अवस्थामा हवाई टिकट पनि उपलब्ध नभएपछि यात्रु मर्कामा परेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।