नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू देशमाथि कसैको हस्तक्षेप नचाहने बताएका छन् । श्रेष्ठले कसैले कसैको सार्वभौम सत्तामाथि हमला गर्न नहुने समेत बताए ।
शनिबार काठमाडौंमा आयोजित ‘नेपाल–भेनेभुएला मैत्री संघ’ को घोषणा कार्यक्रममा उनले भेनेजुएलामा कस्तो शासन बन्छ, त्यो अरूको चासो नभएर भेनेजुएलाका जनताले कस्तो शासन चाहन्छन् भन्ने मुख्य कुरा भएको बताए ।
उनले कुनै पनि देशका जनताले चुनेको व्यक्ति वा सरकारमाथि विदेशी हस्तक्षेप हुनु गलत रहेको बताए । आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको प्रतिबद्धताबारे अन्य देशहरूले भेनेजुएलाबाट सिक्न पर्ने समेत बताउँदै श्रेष्ठले पूर्वराष्ट्रपति चावेजविरूद्ध विगतमा देशी तथा विदेशी शक्तिको हस्तक्षेपलाई जनताले परास्त पारेको समेत बताए ।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका श्रेष्ठले भारत र चीनसँग समान सम्बन्ध राख्नुपर्ने कुरामा जोड दिँदै विश्वका अरु देशसँग पनि नेपालले त्यही आधारमा सम्बन्ध राख्नुपर्नेमा जोड दिए । उनले संविधानका प्रावधानहरूलाई पकडेर समाजवादमा पुग्न सकिने दाबी समेत गरे ।
संघका अध्यक्ष नहेन्द्र खड्काले नेपाल र भेनेजुएलाबीचको सम्बन्धलाई जनस्तरमा पुर्याउन संघले भूमिका खेल्ने बताए । चौतर्फी घेराबन्दीबीच भेनेजुएलाका जनताले आफूले रोजेको शासन र नेतृत्वको रक्षाको लागि कसैसँग सम्झौता नगरेको बताउँदै खड्काले त्यसबाट अरूले पाठ सिक्नुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।