logo-img

व्यवस्था र सरकार दुवै फाल्नुपर्छ : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दसैँ र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकक्ता औंल्याएका छन् ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौँको संख्यामा ज्यान गुमाउँदापनि नदेखिएपछि यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै नभएको टिप्पणी गरे । उनले अहिले सरकार र सत्ता पक्षका नेताहरु जनताको घरदैलोमा जान त परै जाओस् सार्वजनिक कार्यक्रममा समेत भाग लिन डराउन थालेको आरोप लगाए ।

उनले भने, ‘सरकार पक्षका मान्छे जनताकहाँ जान डराउँथे, तर अब त सार्वजनिक कार्यक्रममापनि आउन डराए । यिनीहरु अहिले पत्रकारदेखि भाग्न थाले । जनतादेखि भाग्ने, देशको प्रधानमन्त्री अमेरिकामा जााँदा कार्यक्रम स्थगन गर्ने, बास्तवमा यिनीहरुको पालो अब भाग्ने नै हो । यो सरकारको अब दिनगन्ती सुरु भैसक्यो । गतिलो काम गरेको भए यसरी भाग्नुपर्दैन थियो ।’

शाहीले धादिङको झ्याप्ले खोलाको पहिरोले ३५ जना नागरिकले ज्यान गुमाउनुमा राज्य जिम्मेवार रहेको आरोप लगाए ।



उनले भने, ‘मौसम पूर्वअनुमान महाशाखाले तीन दिनअघि नै अलर्ट गराएको थियो । तर, राज्यको उपस्थिति देखिएन । नेपालको भएको यो घट्ना यदि युरोप, अमेरिका वा अरबमा घटेको भए के हुन्थ्यो ? आज ती जिल्लाका सिडिओ, एसपीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चल्दथ्यो । फाँसी दिने देशमा त तिनीहरूलाई फाँसी दिईन्थ्यो ।’

ललितपुरको नख्खुमा नागरिकले घण्टौँदेखि ज्यान बचाउनको लागि याचना गर्दापनि सरकारको उपस्थिति नदेखिएकोमा पनि उनले सरकारको असफलतासँग जोडे ।



उनले भने, ‘नख्खुबाट सिंहदरबार धेरै टाढा छैन् । जनताले घण्टौं चिच्याउँदापनि उद्धार भएन । यो अवस्था भोलि अरु नागरिकलाई नआउला भन्न सकिएला । हामीले आखिरमा सरकारबाट के पायौं त ? ज्यान बचाउनको लागि याचना गर्दापनि सरकार देखिएन । कर के को लागि तिरेका छौं ? कर्मचारीलाई तलब खुवाउनको लागि मात्रै हो ? आज विपत्ति पर्दा सरकार कहाँ गयो ?म भन्छु अहिलेको राज्यसंयन्त्र फेल भैसक्यो । देशमा गृहमन्त्रीको आदेश कसैले मान्दैन् । त्यसैले अब जनताबाट प्रतयक्ष निर्वाचित प्रधानमन्त्रीमा जाउँ । यही व्यवस्था रह्यो भने भोलि म नै प्रधानमन्त्री भएँ पनि केही गर्न सक्दिनँ ।’

उनले आफूले सर्वदलीय बैठकमा समेत हवाई भाडामा भएको मूल्यवृद्धिको विषय उठाएको स्मरण गराए । तर, विभागीय मन्त्री पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले भने भाडा घट्ने भनेर आश्वासन दिएको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको बताए । उनले अहिले सरकार जनतामा जान नसक्नुको कारण जनताले कालो मोसो दलेर पठाउने नै मुख्य कारण भएको दाबी गरे ।



 

  • प्रकाशित मिति : असोज १९, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया