logo-img

मिडियाको प्रश्नमा किन झाेँक्किन्छन् देउवा ?

पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एउटा भिडियो क्लिप निकै भाइरल भइरहेको छ । उक्त भिडियोमा सभापति शेरबहादुर देउवालाई एचटिपी मिडियाका संवाददाता दिवाकर साहले सोध्छन्– ‘सभापतिज्यू, देशको अवस्थाको बारेमा के भन्नुहुन्छ ?
 
देउवा साहको उक्त प्रश्नमा असंयमित देखिन्छन् । उनी जंगिएर हिँडेको उक्त भिडियो क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न सकिन्छ । पत्रकारको प्रश्नको उत्तर दिनुको सट्टा देउवाले ओठे जवाफ फर्काउँछन्, ‘भन्दिनँ, केही भन्दिनँ ।’ सञ्चारकर्मीसँग देउवाको उक्त व्यवहार पहिलोपटक होइन । यसअघि पनि आफ्नो प्रस्तुतीका कारण उनी विवादित बन्दै आएका छन् । 

केहीअघि पनि मुलुकको शान्ति सुव्यवस्थाबारे पत्रकारले प्रश्न सोध्दा देउवा ‘गृहमन्त्रीलाई सोध्नुस्’ भनेर पन्छिएका थिए । सात वर्षपहिले बिबिसीको ‘साझा सवाल’को ५००औँ शृंखलामा तत्कालीन प्रधानमन्त्रीको रूपका रहेका देउवाको आवेग उदेकलाग्दो थियो । प्रत्यक्ष प्रशारण भइरहेको त्यो कार्यक्रममा जसरी तत्कालीन प्रधानमन्त्री देउवा प्रस्तुत भए, त्यसले नेपाली कांग्रेस, सरकार र देश सबैलाई उपहास्य बनायो । 

देशकै प्रधानमन्त्रीको रूपमा सभापति देउवाको उक्त प्रस्तुति अशोभनीय थियो । प्रत्यक्ष प्रसारण गर्दा कमसेकम प्रश्नका विषयमा गृहकार्य र छलफल आवश्यक हुन्छ । के विषय समावेश हुने हुन् त्यसबारे समीक्षा हुनुपर्छ । कुन उद्देश्य र प्रयोजनका लागि संवाद गरिँदैछ बुझ्नु जरुरी थियो । तर, लापरबाहीका साथ पुगेका देउवाले जे जानेका थिए त्यही बोले र जस्तो अनुभव गरे, त्यसरी नै प्रस्तुत हुन पुगे । 



उक्त कार्यक्रममा आफूलाई प्रश्न सोध्ने सागर ढकाल नामका व्यक्तिलाई देउवाले ‘बढ्ता नबोल्नुस्’ भन्दै थर्काएका थिए । त्यही ‘इगो’का कारण ढकालले गत आमनिर्वाचनमा देउवासँगै उनकै निर्वाचन क्षेत्रमा गएर चुनाव लडे । निर्वाचनमा पराजित भए पनि उनले सम्मानजनक मत ल्याए । चुनाव जितेर पहिलो पार्टीको पहिलो नेता भए पनि ढकालको उम्मेदवारी देउवाका लागि भारी पर्यो । ढकालको उम्मेदवारीले देउवालाई देशविदेशमा झनै ‘अलोकप्रिय’ बनायो ।  

गत असोज ११ गतेदेखि दुई दिन लगातार परेको पानीले देशका विभिन्न ठाउँमा बाढी–पहिरोसहित निम्तिएको प्राकृतिक विपत्तिले जनधनको ठूलो क्षति गरेको छ । यस प्राकृतिक विपत्तिमा परी हालसम्म दुईसय ३९ जनाको मृत्यु भएको छ । घटनामा परी १९ जना बेपत्ता छन् भने एकसय ७७ जना घाइते भएका छन् । यही विषयमा केन्द्रित रहेर पत्रकार साहले सभापति देउवालाई प्रश्न गरेका थिए । 



पत्रकार साहले बारम्बार प्रश्न गरिरहँदा पनि सभापति देउवा कुनै प्रतिक्रिया नै नदिई त्यहाँबाट निस्किएको देखिन्छ । सभापति देउवालाई कुनै जिज्ञासा वा प्रश्न गर्दा उनी प्रायः जंगिएर उत्तर दिन्छन् । यसै पनि उनको बोली स्पष्ट छैन । कुनै प्रश्नको राम्रै उत्तर दिए पनि सुन्नेलाई उनको बोली बुझ्न हम्मे पर्छ । बोली नबुझिनु उनको शारीरिक कमजोरी हो । यदि नजंगिईकन शालीन उत्तर दिने हो भने सुन्नेले त्यसलाई सामान्य रूपमा नै लिन्छ । तर, बोल्दै नबोल्ने, कहिलेकाहीँ बल्लबल्ल बोल्दा पनि रिसाएर बोल्ने गर्नाले देउवा दिनानुदिन अलोकप्रिय बनिरहेका छन् ।
  
यसै पनि राजनीतिक व्यक्तिहरूलाई आमनागरिकले हेर्ने दृष्टिकोण राम्रो छैन । लामो समय पञ्चायतविरुद्ध लडेर राजनीतिमा स्थापित भएका देउवा खारिएका राजनीतिज्ञ हुन् । वर्तमान प्रणाली स्थापित गर्न उनको योगदान महत्वपूर्ण छ । तर, देउवा आफ्नै स्वभावका कारण आलोचना र विवादमा आइरहन्छन् । ‘रिसालु’ स्वभावका नेताका रूपमा उनको परिचय बनेको छ । देउवा आक्रोश पोख्न एक नीमेष पनि पर्खदैनन् । उनले पदीय मर्यादालाई समेत ख्याल गरेको पाइँदैन । सार्वजनिक कार्यक्रममा सहभागीमाथि पनि आक्रोश पोखिरहेका हुन्छन् र आलोचित बन्छन् । 

प्रायः सभापति देउवा पत्रकार तथा सर्वसाधारणका जनचासोको विषयमा खुलेर बोल्दैनन् । कसैले उनलाई आलोचनात्मक प्रश्न सोध्यो भने सीधै रिस देखाउने गर्छन् । उनी जहिले पनि मिडियाप्रति नकारात्मक देखिन्छन् । लामो समय प्रजातान्त्रिक आन्दोलनमा लागेको व्यक्ति हुनुका नाताले प्रेस स्वतन्त्रताका सवालमा उनको निष्ठामा शंका गर्ने ठाउँ छैन । यदाकदा उनले जारी गरेका वक्तव्यमा पनि प्रेस स्वतन्त्रतालाई देउवाले प्राथमिकता दिएकै पाइन्छ । तर, उनको प्रस्तुतिका कारण उनी सधैँ आलोचित भइरहन्छन् । आखिर किन ? 



यस विषयमा राजनीतिक विश्लेषक हरि रोकासँग ज्ञिज्ञासा राख्दा उनी भन्छन्, ‘अहिले नेपालका नेताहरू चाहिँ आफ्नो अकर्मण्यताका लागि प्रसिद्ध छन् । सोही अकर्मण्यता लुकाउनका लागि उनीहरू कहीँ न कहीँ रिस पोख्छन् । मिडियाकर्मीहरू पनि नेताका कमीकमजोरी केलाउँछन्, सोहीअनुरूप प्रश्न गर्छन् । आफ्नो क्षमतामाथि कसैले प्रश्न गरेपछि नेताहरू सहन सक्दैनन् र रिसाएर उत्तर दिने, झर्किनेजस्ता क्रियाकलाप देखाउँछन् ।’​

रोकाको बुझाइमा अहिलेका शीर्ष नेताहरू काम गर्न नसक्ने, क्षमताविहीन, समाजलाई नबुझ्ने भएका छन् । यसका साथै उनीहरूमा अहिलेको समाजलाई कतातिर लैजाने भन्ने सामान्य चेत तथा कुनै स्पष्ट भिजन पनि देखिँदैन । त्यसैले उनीहरूको कार्यशैलीको आलोचना हुनेबित्तिकै हडबडाउने, रिसाउने गरेको उनले स्पष्ट पारे । 

चाँडो आक्रोशित भइहाल्ने र प्रतिक्रिया जनाउने देउवाको स्वभाव नै भएको कांग्रेस नेताहरूको पनि बुझाइ छ । स्वभावजन्य कारणले देउवा चाँडो रिसाउने गरेको उनीहरूको भनाइ छ । ‘उहाँको स्वभाव नै त्यस्तै हो । चाँडो रिसाइहाल्ने, प्रतिक्रिया दिइहाल्नुपर्ने,’ देउवानिकट एक नेता भन्छन्, ‘उहाँ तत्काल प्रतिक्रिया जनाउनुहुन्छ, रिसाउनुहुन्छ ।’

सभापति देउवाका पढे/लेखेकाे व्यक्ति भए पनि उनको व्यक्तित्वमा भने बौद्धिकता कतै झल्किँदैन । कुनै पनि विषयवस्तुको गहिरो विश्लेषण गरी भिजन दिन सक्ने उनको क्षमता अहिलेसम्म प्रकट नभएको राजनीतिक विश्लेषक बताउँछन् । सभापति देउवा असल वक्ता होइनन् । उनको भाषण गोलमटोल हुने गर्छ भने पत्रकार वा कार्यकर्ताबीच तार्किक रूपमा प्रस्तुत हुन सक्दैनन् । अनायास आवेशमा आउने रिसाहा स्वभाव नै उनको सबैभन्दा ठूलो कमजारी रहेको समेत उनले औँल्याए ।

  • प्रकाशित मिति : असोज २०, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया