logo-img

एनपिएल अक्सन : ८० खेलाडीमाथि लाग्यो बोली, को कहाँ अनुबन्ध ?

पहिलो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनबाट ८० खेलाडी अनुबन्धित भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आउँदो १५ मंसिरदेखि सुरु गर्न लागेको एनपिएलका लागि कुल १६४ खेलाडी अक्सनमा सहभागी भएकोमा ८० खेलाडी बिक्री भएका हुन् ।

आइतबार भएको अक्सनमार्फत आठै टोलीले १०/१० खेलाडी अनुबन्ध गरे । अक्सनमा  १२ खेलाडी उच्च मूल्य १५ लाख रुपैयाँमा बिक्री भए । अक्सनमा विकेटकिपर अनिलकुमार साहमाथि आठवटै फ्रेन्चाइज टिमले बोली लगाए ।  

यस्तै, गुलसनकुमार झा, लोकेश बम र रूपेश सिंहलाई ७/७ टोलीले अनुबन्ध गर्नका लागि प्रतिस्पर्धा गरे । अक्सनमा लुम्बिनी लायन्स सबैभन्दा बढी भाग्यमानी रह्यो । उसले ‘ए’ ग्रेडका तीन र ‘बी’ ग्रेडका दुई गरी पाँच खेलाडी चिट्ठाबाट प्राप्त गर्यो । 

लुम्बिनीको टिममा मार्की प्लेयरको रूपमा राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहितकुमार पौडेल रहेका छन् । लुम्बिनीले अक्सनबाट सूर्य तामाङ, विवेककुमार यादव र सन्दीप जोरालाई समान १५ लाखमा अनुबन्ध गर्‍यो ।



यस्तै, लुम्बिनीले आशुतोष घिरैया र तिलकराज भण्डारीलाई १०/१० लाख, दुर्गेश गुप्तालाई ८ लाख, अर्जुन साउदलाई ५ लाख, दिनेश अधिकारीलाई २ लाख ७५ हजार तथा अभिषेक गौतम र विकास आग्रीलाई २/२ लाखमा भित्र्यायो ।

यस्तै, पोखरा एभेन्जर्सले अक्सनबाट सागर ढकाललाई १५ लाख रुपैयाँमा अनुबन्ध गर्‍यो । यस्तै, पोखराले आकाश चन्दलाई ११ लाख ५० हजार, किरण कुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री र दिलीप नाथलाई १०/१० लाख तथा तृतराज दास र सुनम गौतमलाई समान ५ लाख तथा दिनेश खरेल र अमृत गुरुङलाई २/२ लाखमा भित्र्यायो । पोखराको टिममा कुशल भुर्तेल मार्की प्लेयर रहेका छन् । 



यस्तै, दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर रहेको सुदूरपश्चिम रोयल्सले अक्सनबाट आरिफ शेखलाई सर्वाधिक १५ लाख रुपैयाँ खर्चेर भित्र्यायो । यस्तै, उसले अविनाश बोहरालाई १२ लाख, विनोद भण्डारीलाई १० लाख, ईशान पाण्डेलाई साढे ९ लाख रुपैयाँमा अनुबन्ध गर्‍यो । त्यस्तै, सुदूरपश्चिमले युवा स्टार अर्जुन कुमाललाई साढे ७ लाख, भोजराज भट्टलाई साढे ४ लाख, खडक बोहरा र नरेश बुढा ऐरलाई समान ५ लाख, अमित श्रेष्ठलाई ३ लाख ३५ हजार तथा नरेन साउदलाई २ लाख रुपैयाँमा किन्यो ।  

यस्तै, कर्णाली याक्स पनि अक्सनबाट नाम चलेका खेलाडी अनुबन्ध गर्न सफल भयो । सोमपाल कामी मार्की प्लेयर रहेको कर्णालीले अक्सनमा गुल्सन कुमार झामाथि सर्वाधिक १५ लाख रुपैयाँ खर्च गर्‍यो । यस्तै, उसले नन्दन यादवलाई ११ लाख, मौसम ढकाल, अर्जुन घर्ती र देव खनाललाई समान १० लाख, रित गौतम र भुवन कार्कीलाई ५/५ लाख तथा दीपेन्द्र रावत र दीपक डुम्रेलाई समान तीन लाख र युनिसविक्रम सिंहलाई २ लाख रुपैयाँमा भित्र्यायो । 



त्यस्तै, ग्लोबल स्टार सन्दीप लामिछाने मार्की प्लेयर रहेको विराटनगर किंग्सले लोकेश बम र प्रतिश जि.सीलाई भित्र्याउन समान १५ लाख रुपैयाँ खर्च गर्यो । यस्तै, विराटनगरले बसिर अहमदलाई १० लाख, राजेश पुलामी मगर, जितेन्द्र मुखिया, अनिल खरेल र दीपक बोहरालाई ५/५ लाख तथा युवा स्पिनर सुभाष भण्डारीलाई साढे २ लाख, नरेन भट्ट र मिर्नल गुरुङलाई २/२ लाखमा अनुबन्ध गरेको छ । 

त्यस्तै, जनकपुर बोल्ट्सले पनि अक्सनमार्फत केही स्टार खेलाडी भित्र्याउन सफल भयो । जनकपुरले स्पिनर ललितनारायण राजवंशी र विकेटकिपर अनिल कुमार साहलाई १५/१५ लाख रुपैयाँमा भित्र्यायो । यस्तै, जनकपुरले रूपेश सिंह, आकाश त्रिपाठी र किशोर महतोलाई अनुबन्ध गर्न समान १० लाख रुपैयाँ खर्च गरेको छ । जनकपुरले शुभ कंस्कार, शेर मल्ल र हेमन्त धामीलाई ५/५ लाख तथा अरनिको प्रसाद यादवलाई साढे २ लाख र तुलबहादुर थापालाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।  जनकपुरमा आसिफ शेख मार्की प्लेयर रहेका छन् । 

त्यस्तै, कुशल मल्ल मार्की प्लेयर रहेको चितवन राइनोजले अक्सनमार्फत १५ लाख रुपैयाँमा कुनै पनि खेलाडी भित्र्याउन सकेन । उसले रिजन ढकाल, कमलसिंह ऐरी र शरद भेषवाकरलाई समान १० लाख तथा विपिन रावललाई ८ लाख, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह राउटेला र दीपक बोहरालाई ५/५ लाख तथा रञ्जित कुमारलाई ३ लाख र गौतम केसीलाई २ लाख रुपैयाँमा अनुबन्ध गर्यो ।  

यस्तै, करण केसी मार्की प्लेयर रहेको काठमाडौं गुर्खाजले अक्सनमार्फत साहब आलम र भीम सार्कीलाई सर्वाधिक १५/१५ लाख रुपैयाँमा अनुबन्ध गर्‍यो । उसले राशिद खानलाई १० लाख, शंकर रानालाई साढे ९ लाख, दीपेश कँडेल, सुमित महर्जन र कृष्ण कार्कीलाई ५/५ लाख तथा राजु रिजाल, विवेक केसी, र प्रतीक श्रेष्ठलाई समान २ लाख रुपैयाँमा भित्र्यायो ।

नेपाली खेलाडीको टुंगो लागेसँगै अब टिमहरूले विदेशी स्टारलाई भित्र्याउन तयारी थाल्ने छन् । पहिलो संस्करणको एनपिएलमा क्यानले विदेशी खेलाडी खरिद गर्ने जिम्मा टिमहरूलाई नै दिएको छ ।

डेब्यू सिजनको एनपिएलमा एउटा टिमले चारजनासम्म विदेशी खेलाडी भित्र्याउन पाउने छन्, तीमध्ये एकजना एसोसियट कन्ट्रीको प्लेयर हुनुपर्ने नियम छ ।

  • प्रकाशित मिति : असोज २१, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया