logo-img

आफ्नै बोलीमा एक साता पनि टिक्न सकेनन् प्रचण्ड, उपनिर्वाचनमा गठबन्धन गर्ने परिपत्र

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने जनाएकाे छ । यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबका निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताउँदै आएका थिए । 

गत शनिबार नेकपा माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क–समन्वय समितिले काठमाडौंमा आयोजना गरेको छलफलमा उनले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गर्ने बताएका थिए । विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको उनकाे भनाइ थियाे । 

तर, सोमबार अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले मातहतका निकायलाई परिपत्र पठाउँदै सत्तारुढ दलबाहेकका वाम–देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने उल्लेख गरेका हुन्। ​परिपत्रकाे पहिलो बुँदामा भनिएकाे छ,‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकल रूपमा चुनाव लड्ने तयारी गर्ने, यसका साथै सत्तारूढ दल बाहेकका वाम–देशभक्त दलहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्ने।’

यही मंसिर १६ गते रिक्त स्थानीय तहका विभिन्न ३९ पदमा उपनिर्वाचन हुन लागेको छ। सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले एक्लाएक्लै निर्वाचन लड्ने निर्णय गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एक्लै निर्वाचन लड्ने बताएका थिए । 



पछिल्लाे परिपत्रले प्रचण्डकाे भनाइ खण्डन गरेकाे छ । परिपत्रअनुसार माओवादीले अहिले प्रतिपक्षमा रहेका एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग तालमेल गर्ने संकेत गरेकाे छ । माओवादी केन्द्रले कात्तिक २५ गतेसम्म उम्मेदवार चयन गरिसक्न मातहतका निकायहरूलाई निर्देशन दिएको छ।

परिपत्रमा उम्मेदवार चयनको प्रक्रिया पनि तोकिएकाे छ। जसमा भनिएकाे छ, ‘उप–निर्वाचनको तयारीका लागि रिक्त रहेका वडा अध्यक्षको उम्मेदवार छनोट गर्दा वडा पार्टीका सदस्यहरूलाई भेला गराएर सहमतिका आधारमा उम्मेदवार छनोट गर्ने, यदि सहमति हुन नसकेको अवस्थामा बहुमतीय प्रणालीको आधारमा उम्मेदवार छनोट गरी पालिका समितिलाई सिफारिस गर्ने र पालिकाको पार्टी समितिले निर्णय गर्ने।’v





  • प्रकाशित मिति : असोज २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया