logo-img

बालेनदेखि किन त्रसित छन् ठूला दलका नेता ?

‘जोकर एकदम पपुलर थियो । उसको फ्यान फलोइङ खत्रा थियो । चुनाव उठ्यो, जित्यो । जनताले भोट हाले, तर उसले अनिश्चित युद्ध थोपर्यो । त्यसकारण भिडतन्त्रले कहाँ पुर्याउँछ भन्दा र्यापरतिर पुर्याउँछ । काठमाडौंमा पनि त्यहीँ पुर्यायो,’ यो अभिव्यक्ति नेकपा एकीकृत समाजवादी पार्टीकी नेत्री रामकुमारी झाँक्रीको हो ।
 
उनले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा उक्त अभिव्यक्ति दिएकी थिइन् । उनको उक्त अभिव्यक्ति युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेनेस्कीप्रति लक्षित थियो । उनको कटाक्ष जेलेनेस्कीप्रति मात्रै लक्षित भएको भए सायद उक्त भनाइ खासै चर्चामा आउँदैनथ्यो होला । युक्रेनको दृष्टान्त दिएर उनले काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र साह उर्फ बालेनलाई पनि सँगै जोडेपछि सामाजिक सञ्जालमा धेरैले झाँक्रीको आलोचना गरिरहेका छन् । 

मेयर बालेनलाई कटाक्ष गर्नेमा झाँक्री एक्ली नेत्री होइनन् । पुराना दलका अधिकांश नेता उनको लाइनमा रहेका छन् । गत १४ असारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले मेयर साहको कार्यशैलीलाई लिएर प्रश्न उठाएका थिए ।

यहीँनेर उनले दोहोरी गीत पनि सम्झिएका थिए  । ‘एउटा गीत छ– कोहीकोही मात्तिन्छ पैसाले, कोहीकोही मात्तिन्छ बैंसले । यो महानगर पालिकामा पैसा पनि बेसी भयो, बैंस पनि भयो । दुइटैले मात्तिएजस्तो छ,’ तामाङले भनेका थिए । 

उनी त्यत्तिमै रोकिएनन्, थप्दै पुनः भनेका थिए, ‘महानगरपालिकाले कहिले ल्याएर सडक विभागमा फोहोर फालिदिन्छ । कहिले सिंहदरबारभित्र फोहोर फालिदिन्छु भन्ने, कहिले प्रधानमन्त्री कार्यालयमा फोहोर फालिदिन्छु भन्ने । यो राम्रो भएनजस्तो लाग्छ । महानगरलाई जिम्मेवारी कम भएकाले यस्तो भएको भन्दै उनले महानगरपालिकालाई जिम्मेवारी थप गर्न आवश्यक रहेको जनाएका थिए । 

प्रचण्डसँग मञ्चमै नोकझोंक

ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र मेयर बालेनबीच मञ्चबाटै सवाल–जवाफ भएको थियो । कार्यक्रममा बोल्दै काठमाडौंका मेयर साहले विकास निर्माणसँगै फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको गुनासो गरे । त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले काठमाडौंको विकासमा आफूले व्यापक प्रयास गरेको दाबी गरे ।



प्रचण्डले आफूले अत्यन्तै रचनात्मक ढंगमा काम गरिरहेको पनि दाबी गरेका थिए । यसका साथ आफूले बोलेर प्रधानमन्त्रीको कुरा नसुनी हिँडेपछि प्रचण्डले असन्तुष्टि पोख्दै अरूको कुरा सुन्ने धैर्यता पनि हुनुपर्ने बताएका थिए ।

बालेन भर्सेस ओली 



बालेनप्रतिका स–साना कटाक्षले खासै कसैको ध्यान तानेको देखिएन । तर, बालेन र प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको शृंखलाबद्ध अन्तरद्वन्द्वले भने धेरैको ध्यान तानेको छ । ३० असार ०७९ मा काठमाडौं महानगरपालिकाका मेयर साह अध्यक्ष केपी शर्माको निजी निवास बालकोट पुगेका थिए । बालेनलाई प्रधानमन्त्री ओलीले बधाई मात्रै दिएनन्, उपहारमा तबलासमेत दिए । बालेनलाई ओलीले जतिबेला तबला उपहार दिए, त्योबेलासम्म यी दुईको सम्बन्ध ठीकठाक नै थियो । तर, त्यसको ठीक दुई महिनापछि उनीहरूबीच सम्बन्ध चिसिन सुरु भयो ।

अल्फाबिटा कम्प्लेक्समा डोजर चल्नु, थापाथली सुकुम्बासी बस्ती प्रकरण, न्युरोड फुटपाथ विस्तार प्रकरण, गिरीबन्धु टी–स्टेट प्रकरण, एमाले सांसद रेखा शर्मा प्रकरण हुँदै महानगरभित्रका नदी किनारका दायाँ–बायाँ २०–२० मिटरको जमिनभित्र संरचना बनाउन पाइने कि नपाइने भन्ने प्रकरणसम्म आइपुग्दा एमाले–बालेनबीच सम्बन्ध चिसिएको छरपस्ट भयो । 

प्रधानमन्त्री ओली र बालेनबीच सम्बन्ध चिसिएको छरपस्ट भएसँगै सामाजिक सञ्जालमा उनीहरूमाथि विभिन्नथरीका रमाइला किस्सा बन्न थालेका छन् । शृंखलाबद्ध रूपमा बालेन र एमालेबीच नोकझोंक चलिरहँदा धेरैले भन्न थालेका छन्, ‘बालेनले ओलीको तबला बजाइरहेका छन् ।’ यससँगै कतिपयले यसलाई बालेनले राजनीतिक रूपमा एमाले पार्टीलाई क्षति पुर्याउन खोजेको रूपमा समेत  अड्कल काटिरहेका छन् । तर, बालेनका निकटस्थ भने मेयर साह एमाले वा ओलीविरुद्ध नगएको जिकिर गर्छन् । बरु महानगरले काम गर्ने ठाउँमै एमाले ठोकिन आएको तर्क बालेन सचिवालयको छ ।

ठूला दलका लागि ‘थ्रेट’ बनेका हुन् के बालेन ? 

सामाजिक सञ्जालदेखि सडकसम्म बालेनको पक्षमा देखिएका युवा र वर्षौंयता देख्दै आएका राजनीतिकर्मीको विकल्प खोजिरहेका पाका पुस्ताका लागि बालेन एक आशाको किरणका रूपमा उदाएको सहजै अनुमान लगाउन सकिन्छ । उनी राजनीतिक पार्टी गठन गरेर अगाडि बढून् भन्ने धेरैको आकांक्षा रहेको पनि पाइन्छ । 

मेयर साहले पार्टी गठन गरेर अगाडि बढ्दा नेपालका ठूला भनिएका राजनीतिक दलका नेतामाथि थ्रेट बन्न सक्ने धेरैको बुझाइ छ । तर, राजनीतिक विश्लेषक डम्बर खतिवडा भने त्यो मान्न तयार छैनन् । उनको विचारमा बालेनले पार्टी गठन गरे सबैभन्दा बढी राजनीतिक घाटा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले व्यहोर्नुपर्ने हुनसक्छ । 

‘एमाले, कांग्रेस, माओवादी वा अरू दलहरूलाई सामान्य घाटा होला । तर, यदि बालेनले पार्टी गठन गरेर ०८४ को चुनाव लड्न आए भने सबैभन्दा बढी राजनीतिक घाटा रास्वपाले व्यहोर्नुपर्छ,’ विश्लेषक खतिवडा भन्छन्, ‘किनकि रास्वपामा रहेका धेरै नेताहरू बालेनकै स्वतन्त्र लहरको लहडमा जितेका हुन् ।’

पार्टी गठनको सम्भावना कति ? 

स्थानीय निर्वाचनमा मेयर साह निर्वाचित हुँदा धेरैजसो व्यक्ति तीनछक परेका थिए । स्ट्रक्चरल इन्जिनियर र र्यापरका रूपमा पहिचान बनाएका बालेनलाई महानगरवासीले मतदान गरेको आधारमा राजनीतिक दलप्रति जनतामा वितृष्णा पैदा भएको प्रस्ट रूपमा भन्न सकिन्छ ।

मतदाताले विकल्प खोजेपछि पुराना राजनीतिक दलमा चिन्ताको कालो बादल मडारिइरहेको धेरैको आकलन छ । यदाकदा बालेनले ०८४ को निर्वाचनअगावै पार्टी गठन गर्न सक्छन् भनेर चर्चा परिचर्चा पनि सुरु भइसकेको छ । जे होस्, अहिले नै धेरै केही भन्न सकिने अवस्था छैन । 

यतिचाहिँ हो कि बालेनले पार्टी खोल्नुपर्छ भन्ने युवा जमातको संख्या दिन–प्रतिदिन बढिरहेको छ । त्यो जमात ०८४ को निर्वाचनसम्म कुन रूपमा अगाडि आउँछ, त्यो समयले नै बताउनेछ । 

  • प्रकाशित मिति : असोज २२, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया