यसै पनि नेपालका सडकहरू आफैँमा जोखिमयुक्त छन् । दसैँमा राजधानी काठमाडौंबाट मानिसहरू जिल्ला फर्किने भएकाले राजमार्गमा सवारीसाधनको अत्यधिक चाप हुन्छ । सडकमा जति यात्रु र सवारीसाधनको चाप बढ्यो त्यति नै बढी दुर्घटनाको जोखिम हुन्छ । नेपालका अधिकांश दुर्घटना चालकका कारण भन्दा पनि सडकका कारण हुने गरेका छन् ।
हरेक वर्ष यात्रुहरूले दसैँको समयमा कष्टकर यात्रा गर्दै आएका थिए । यस वर्ष त अझ असोजको दोस्रो हप्ता तीन दिन परेको अविरल वर्षा र त्यसले मच्चाएको वितण्डाका कारण अधिकांश सडक क्षतविक्षत बनाएको छ । सडक जति नै दूरावस्था भए पनि दसैँ सुरु भइसकेसँगै विभिन्न कामका लागि राजधानी पसेकाहरू गाउँ फर्किन थालेका छन् । दसैँ सुरु भएसँगै सडक दुर्घटनाको सिलसिला सुरु भएको छ । सडककै कारण मानिसको मूल्यवान् जीवन आधा बाटोमै अन्त्य भइरहेको छ ।
विगतका वर्षहरूमा भन्दा यस वर्ष दसैँका लागि घर जान हिँडेका धेरैमा उत्साह उमंगभन्दा बढी डर र चिन्ता छ । भारी वर्षासँगै आएको बाढी र पहिरोले अधिकांश राजमार्गमा ठूलो क्षति भएको छ । केही राजमार्ग जसोतसो गरेर खुलाइए पनि बिपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन । कतिपय सडकखण्ड खुलाउने प्रयास जारी छ ।
विस्तारका क्रममा खाल्डाखुल्डी बनाएर छाडिएका सडक भारी वर्षासँगै खसेको पहिरोले हिँडिनसक्नु छ । दसैँका यात्रुलाई तर्साउने पहिरो मात्रै होइन, सडकमार्ग र पुलहरूको दूरावस्था पनि हो । विस्तारका क्रममा रहेको सडकको कालोपत्रे धेरै ठाउँमा उप्किएको छ, खाल्डाहरू बनेका छन् । सडकमा खाल्डा, ढुंगा र ढिस्कोहरू छन् । त्यही सडकमा दसैँमा घर हिँडेका यात्रु बोकेका सवारी साधनहरू सकससँग कुदिरहेका छन् । दसैँ यात्रा, कतै दशा बन्ने त होइन भन्ने पिर लिँदै यात्रुहरू यात्रा गर्न बाध्य छन् ।
ज्यानको बाजी लगाएर गाउँ फर्किनेहरूका लागि स्थलमार्ग भन्दाअर्को उपाय पनि छैन । किनकि भरपर्दो र विश्वासिलो अर्को माध्यम हवाईमार्ग भए पनि सर्वसाधारण जो–कोहीले यात्रा गर्न सक्ने अवस्था छैन । यात्राका लागि विश्वमै सबैभन्दा सुरक्षित मानिने हवाई यात्राका लागि टिकट काट्न सक्ने अवस्था छैन । काठमाडौंबाट बाहिरिन अहिले हवाईमार्गबाहेक अर्को सुरक्षित यात्रा छैन । यही संकटको फाइदा उठाउँदै कम्पनीहरूले मनलाग्दी भाडा बढाएर अमानवीय व्यवहार प्रकट गरिरहेका छन् । मूल्य वृद्धि मात्र होइन, बढी नै मूल्य तिर्छु भन्दा पनि टिकट पाउने अवस्था छैन । त्यसैले धुलो र हिलो झेल्दै यस वर्ष यात्रु कठिन यात्रा गर्न बाध्य छन् ।
हालसम्म कति सडक सञ्चालनमा आए ?
यही असोज दोस्रो हप्ता परेको भारी वर्षाका कारण आएको बाढी–पहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्ग अझै खुल्न सकेका छैनन् । बाढी–पहिरोले अवरुद्ध पारेका केही सडकखण्ड खुलाइए पनि अझै सबै सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आइसकेको छैन । सडक विभागको तथ्यांकअनुसार ४३ वटा सडक/राजमार्गको आठ सय तीन ठाउँमा बाढी–पहिरोले सडक अवरुद्ध भएको थियो । त्यसमध्ये ४ राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् । बाढीपहिरोले अवरुद्ध पारेका चार दर्जनभन्दा बढी सडकखण्ड खुलाइए पनि अझै पाँचवटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।
विभागका अनुसार अन्य आठवटा सडकखण्ड भने एकतर्फी खुलाएर यातायात सञ्चालन गरिएको छ । अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको सडक विभागका सूचना अधिकारी अमितकुमार शर्मा बताउँछन् । उनका अनुसार कतिपय अवरुद्ध भएको सडकका लागि वैकल्पिक मार्गसमेत निर्माण गरिएको छ ।
बाढी पहिरोका कारण काभ्रेपलाञ्चोकको रोशीस्थित बिपी राजमार्गको चारसयबेसी खण्ड पूर्ण रूपमा अवरुद्ध छ । सोही राजमार्गको भ्याकुरे, रामेछापको मन्थली नगरपालिका–६ को सेलेघाट, भोटेकोशीको रामेछाप–सिन्धुली–खुरकोट, भोटेकोशीको बाह्रबिसे–तातोपानी सडक तथा बझाङको जयपृथ्वी राजमार्गको बालुवाटार खण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ ।
यस्तै गोदावरीको लेले–टिकाभैरव, तेह्रथुमको मध्यपहाडी लोकमार्गको तीनघरे, पाँचथर फिदिमस्थित मेची राजमार्गको रमिते, भिमफेदीस्थित कान्ति लोकथप एकतर्फी रूपमा खुलाइएको छ । रोशीस्थित बिपी राजमार्गको कालढुंगा खण्ड, घुमाउने, हनुमानगढी केराघारी खण्ड र पृथ्वी राजमार्गको बेनीघाट कृष्णभीर खण्ड पनि एकतर्फी खुलाएर यातायात सञ्चालन गराइएको छ ।
दसैँ मान्न कति फर्किए गाउँ ?
बाटो जति नै जोखिम भए पनि दसैँका लागि संघीय राजधानी काठमाडौं छाडेर घर जानेको संख्या दिनहुँ बढ्दै गएको छ । नेपालीको महान् चाड बडादसैँ सुरु भएसँगै विभिन्न कामका लागि राजधानी पसेका दसैँ सुरु भएसँगै घर फर्किरहेका छन् । हालसम्म दसैँ मनाउनका लागि ५ लाखभन्दा बढी सर्वसाधारणले काठमाडौं उपत्यका छाडेका छन् ।
घटस्थापनाबाट आज (बुधबार) बिहान ६ बजेसम्म ५ लाख ६ हजार ५२५ यात्रु दसैँ मनाउन गाउँ गएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी रविन कार्की बताउँछन् । उनका अनुसार २४ घण्टाको अवधिमा मात्रै १ लाख यात्रु बाहिरिएको तथ्यांक छ । बाढी पहिरोले अवरुद्ध सडक सञ्चालनमा आउन थालेसँगै दसैँ मनाउन गाउँ जानेको चाप बढ्दै गएको छ ।
घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था बन्द भएपछि दसैँ मनाउन गाउँ फर्किनेको संख्या बढ्दै गइरहेको छ । काठमाडौंको कलंकी होस् या कोटेश्वर वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ । यात्रुको भीड पनि उत्तिकै छ । प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्मेहम्मे परिरहेको देख्न सकिन्छ ।
हिन्दू नेपालीहरूको ठूलो पर्व दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने नेपालीको संख्या दिनदिनै बढ्दो छ । पोका/पुन्तुरा बोकेर मानिस उपत्यका छाड्न हतारिएका दृष्य विभिन्न क्षेत्रमा देख्न सकिन्छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ सुरु भएपछि घटस्थापनादेखि क्रमशः बाहिरिने यात्रुको चाप बढिरहेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रहरीको अभिलेखभन्दा बाहिर रिजर्भ गरेर विभिन्न नाका हुँदै जाने र निजी सवारीमा जानेको संख्या यकिन नभएकाले उपत्यका छाड्ने संख्या त्यसको दोब्बर हुनसक्ने अनुमान छ । तर, दसैँका लागि काठमाडौं छाड्नेको संख्या विगतको वर्ष भन्दा कम नै हो । ‘विगतको भन्दा यस वर्ष दसैँका लागि बाहिरिनेको संख्या कमै हो,’ उनी भन्छन्, ‘बिपी राजमार्गबाहेक सबै सडक सञ्चालनमा आइसकेको हुनाले पनि उपत्यका छाड्नेको संख्या बढिरहेको छ ।’
लाचार सरकार !
०७२ को महाभूकम्प होस् वा भारतीय नाकाबन्दी सरकार प्रमुखका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली तत्कालै एक्सनमा उत्रिएका थिए । उनलाई निर्देशन दिनमा माहिर नेताको रूपमा पनि चिनिन्छ । यसपटक अर्थात् असोज दोस्रो हप्ता परेको पानीसँगै आएको बाढी पहिरोले निम्त्याएको विपद्मा निर्देशन दिनमा माहिर उनै प्रधानमन्त्री ओलीले एक्सन लिन सकेनन् । राहत, उद्धारदेखि पुनर्स्थापनामा सरकार कमजोर देखियो । सरकारले केही निर्णय गरेको भए पनि दसैँको मुखमा अपेक्षाकृत नतिजा नदिँदा विपक्षी मात्र होइन, सत्तारुढ गठबन्धनकै दलहरूबाट समेत सरकारको आलोचना भइरहेको छ ।
प्राकृतिक प्रकोपलाई कसैले रोक्न सक्दैन । तर, त्यसपछिको पुनःनिर्माणमा सरकार कमजोर देखियो । दसैँको मुखमा बाढी र पहिरोले करिब दुई हप्तादेखि राजमार्गहरू अवरुद्ध हुँदा ठाउँ–ठाउँमा सवारीसाधन अलपत्र परेका छन् । १० दिनदेखि गाडीमै बसेका चालकको उद्धार नभएपछि दसैँ मनाउन उनीहरू गाडीको माया मारेर घरतर्फ हिँड्न थालेका छन् ।
काभ्रे जिल्लाको मंगलटारनजिकै रहेको कालढुंगामा गाडी रुँघेर १० दिनदेखि बसेका चालकहरू आफ्ना गाडी उद्धारका लागि कसैले पहल नगरेको भन्दै गाडी माया मारेर दसैँ मनाउन हिँड्न थालेका हुन् । अविरल वर्षासँगै बाढी र पहिरोले बिपी राजमार्ग क्षतविक्षत् भएपछि गाडीहरू रोकिएका छन् । राजमार्गको ठाउँ–ठाउँमा भत्किएपछि बिपी राजमार्गमै फसेका पूर्वका विभिन्न जिल्लाबाट काठमाडौं आवतजावत गर्ने गाडीहरू बिचल्लीमा परेका छन् ।
१० दिनसम्म बाटोमै अलपत्र पर्दा आफूहरूले निकै दुःख पाएको गाडीका चालकहरूको भनाइ छ । एक बोतल पानीको सय र सादा खानाको चार सयसम्म तिरेर खानुपर्ने बाध्यतामा परेको उनीहरूको गुनासो छ । गाडी छाडेर भिर पहराको बाटो भएर आफ्नो गन्तव्यमा गएका छन् । दसैँको समयमा व्यवसाय राम्रो हुने सिजनमै गाडी थन्किएपछि व्यवसायीहरू चिन्तित छन् । सरकारले चाहेको भए वर्षा रोकिएसँगै गाडी निकाल्न सहयोग गर्न सक्थ्यो । राज्यको मेसिनहरू लगाएर सेना परिचालन गरेर भए पनि बाटो बनाउन सक्थ्यो । तर, त्यस्तो भएन ।
सिन्धुलीको नेपालथोक, देवस्थान, बालुवालगायत क्षेत्रमा बिपी राजमार्ग पूर्ण रूपमा क्षति भएको थियो । यस क्षेत्रमा अस्थायी सडक निर्माण भएसँगै फसेका गाडी निस्किएका छन् । तर, काभ्रेको मंगलटार कालढुंगा क्षेत्रमा ६ सय बढी गाडी फसेका छन् । ठूला केही गाडी रोशीको भेलबाटै यात्रा गरेर आफ्नो गन्तव्यतिर लागेको भए पनि हायस गाडीहरू उत्रन सक्ने अवस्था छैन । गाडी छाडेर आएका चालकलाई गाडीको सुरक्षाको चिन्ता छ । गाडी सुरक्षाको जिम्मा प्रहरीलाई लिनुस् भन्दा पनि नमानेपछि आफूहरू गाडीलाई त्रिपालले छोपेर दसैँ मनाउन हिँड्न बाध्य भएको चालकहरूको गुनासो छ ।
यस्तै, दसैँ–तिहारजस्ता मुख्य चाडबाडमा कतिपय यात्रुले गाउँ फर्किन पाएका छैनन् । फर्किएकाले पनि एकदमै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता छ । बाढी र पहिरो र डुबानले क्षति पुर्याएका केही सडक अझै सञ्चालनमा छैनन् भने सञ्चालनमा आएका सडक पनि जोखिमैजोखिम छ । सडक सञ्चालनमा सरकार चुकेको धेरै सर्वसाधारणको गुनासो छ ।
तर, सरकार भने सडक सञ्चालनमै केन्द्रित भएको तर्क गर्छ । दसैँको समयमा यात्रुहरूलाई गन्तव्यमा पुर्याउन सरकारको पहिलो प्राथमिकता भएको बताउँछन्, सडक विभागका सूचना अधिकारी शर्मा । ‘सक्ने जति काम हाम्रो तर्फबाट गरिरहेका छौँ,’ उनी भन्छन्, ‘सरकारले प्राथमिकताकै कारण क्षतविक्षत् भएका सडक दसैँअघि नै बिपी राजमार्गबाहेक सबै सञ्चालनमा ल्याएका छौँ । बिपी राजमार्ग पनि हाम्रो लक्ष्यभन्दा पहिला नै सञ्चालनमा आउँदै छ । हाम्रो डाइभर्जन भोलि अर्थात् फुलपातीका दिनदेखि नै सञ्चालनमा आउँदै छ । दिनमा १८ घण्टासम्म प्राविधिक र अपरेटरहरूले काम गरिरहनुभएको छ ।’
यस्तै, सडक सहज नभए पनि सुचारु नै सरकारको पहिलो प्राथमिकता रहेको उनी बताउँछन् । साथै सरकारले साउन लगत्तै मुख्य राजमार्ग मर्मत–सम्भार गर्ने चाहना भए पनि बाढी–पहिरोसँगै दसैँ सुरु हुँदा सवारीको चाप बढ्दा काम गर्नमा कठिनाइ भएको उनको भनाइ छ । उनका अनुसार अहिलेको मर्मत–सम्भारभन्दा पनि हामी सडक खुलाउन सरकार व्यस्त भएको छ ।
यस्तै, क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियानमा नेपाली सेना खटिएका छन् । यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसी बताउँछन् ।
बिपी राजमार्ग, अरनिको राजमार्ग, मध्यपहाडी लोकमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलगायत राजमार्ग तथा ग्रामीण सडक, दुई जिल्ला जोड्ने पक्की पुल निर्माण गरी यातायात सञ्चालन गर्न सेनाका प्राविधिकसहितका जनशक्ति खटिएका छन् । मुख्य जिम्मेवारीका रूपमा खुर्कोटस्थित सुनकोसी नदीमा ‘बेलीब्रिज’ राख्ने तथा रोशी खोला करिडोरअन्तर्गत बिपी राजमार्गको ठाउँ–ठाउँमा क्षतिग्रस्त सडकको विस्तृत अध्ययनका लागि सेनाका प्राविधिकले सडक विभागको टोलीलाई सहयोग पुर्याइरहेको छ ।
सेनाकै पहलमा कान्ति राजपथलगायतका सडक सञ्चालनमा ल्याएको उनी बताउँछन् । पहिलो चरणमा खोज, उद्धार र राहतका काम सम्पन्न भएसँगै प्राथमिकता निर्धारण गरी पुनःनिर्माण र पुनःस्थापनामा सेना खटाइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।