logo-img

कांग्रेसको सत्तासहयात्री मात्र होइन, छिमेकी बन्दै छ एमाले
यस्ता छन् सचिवालय बैठकका निर्णय

कांग्रेससँग सत्तासहकार्यमा रहेको एमाले अब कांग्रेसको छिमेकी बन्ने भएको छ  । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले कीर्तिपुरमा नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको छ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा छ । कीर्तिपुरमा एमलेको कार्यालय बनेपछि दुई ठूला पार्टीका कार्यालय वारिपारि हुनेछन् ।

बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी शुक्रबार १२ः२५ मिनेटमा कीर्तिपुर नगरपालिका २ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास हुने जानकारी दिए ।  

०७२ सालको विनाशकारी भूकम्पपछि काठमाडौं महानगरपालिका १४ नम्बर वडा मदन नगर बल्खुमा रहेको एमाले पार्टी केन्द्रीय कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष विभिन्न ठाउँमा भाडाका भवनहरूमा बस्दै आएको उनले बताए ।च्यासलस्थित पार्टी कार्यालयमा पनि दुई, तीन पटक बाढीको सामना गर्नुपरेकाले यो स्थिति अन्त्य गर्न स्थायी रुपमा भवन निर्माण गर्ने निर्णय गरेको बताए । 

त्यस्तै बैठकले विपद्पछिको पुनः निर्माण, पुनः स्थापना र राहत कार्यमा जुट्न पार्टीका नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आह्वान गरेको छ । 



बैठकले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीलाई जिताउन लागि आगामी कार्तिक २२ गतेसम्म तल्ला कमिटीहरूले त्यससम्बन्धी आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न आह्वान गरेको छ । 

उपनिर्वाचन हुने ठाउँमा सम्बन्धित ठाउँको पार्टी कमिटी र त्यस वरपरका कमिटीले समेत सक्रिय रुपमा परिचालित भएर कामको नेतृत्व प्रदेश कमिटीले गर्ने गरी उपनिर्वाचनमा नेकपा एमालेको विजयलाई सुनिश्चित गराउन तदनुरूप तयारी गर्न आह्वान गरेको बताए  ।



समाजमा निराशा, हतास मनस्थिति, नकारात्मक विद्वेष फैल्याउने प्रवृत्तिहरू छुटपुट देखाइपरेकाले देश बन्छ भन्ने आत्मविश्वास र देश विभिन्न सन्दर्भमा बनिरहेको छ भन्ने सकारात्मक सन्देश र लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिन पार्टी पङ्क्तिलाई आह्वान गर्ने निर्णय भएको बताए । 



  • प्रकाशित मिति : असोज २४, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया