logo-img

भक्तपुरमा ब्रम्हायणी जात्राको रौनक

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रम्हायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रा सुरु भएको छ । यो जात्राका लागि रातिदेखि नै हजारौं दर्शनार्थीको घुइँचो लागेको छ ।  

नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रम्हायणी मन्दिरमा आज नवदुर्गा प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । 
    
मन्दिरमा नवमीका दिन साँझदेखि नै हजारौं दर्शनार्थीको घुइँचो लागेको थियो । शुक्रबार साँझ नवदुर्गा मन्दिरबाट महिषासुर दैत्यको प्रतीक खःमेय अर्थात् राँगोलाई जाँड, रक्सी खुवाएर मत्ताएर अबिर दलेर नवदुर्गा देवता घरबाट हजारौँको सङ्ख्यामा दर्शनार्थीले लखेट्दै दत्तात्रय, च्यामासिंहबाट ब्रम्हायणी मन्दिरमा पुर्याएर राति बध गरिएको थियो । 

राँगोलाई महिषासुर दैत्यको रूपमा लखेट्दै बध गर्ने परम्परा सयौं वर्षदेखि भक्तपुरमा चल्दै आएको भक्तपुरका संस्कृतकर्मी कमलनाथ जोशीले जानकारी दिए ।

खःमेयको बधपछि पनि रातभर यस मन्दिरमा हजारौं दर्शनार्थीको भीडमा जात्रा मनाइएको थियो । विजयादशमीको दिन ब्रम्हायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागेश्वरी, चित्तपोल, सिपाडोल, नंखेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा पूजा सामग्रीसहित जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलीसमेत दिने गरिन्छ ।



आजका दिन व्रत बसेकाहरू बिहानै घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ दीप (दियो) बालेर घरदेखि मन्दिरसम्म जाने र पूजा गर्ने चलन छ । 

बालकदेखि वयष्क पुरुष शरीरमा बत्ति बालेर घरबाट मन्दिरसम्म पुग्छन् । कतिपय भने सडकमा सुतेर हात जोड्दै घरबाट मन्दिरसम्म पुग्ने गर्छन् । 



शरीरमा दीप बालेर र हात जोड्दै उनीहरू घरबाट मन्दिरसम्म पुग्छन् । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । मन्दिरमा आज दिनभरी नै भव्य मेला लाग्छ ।  



  • प्रकाशित मिति : असोज २६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया