logo-img

भाइरल ज्वरो र डेंगुका बिरामी बढेपछि भुइँमा राखेर उपचार

तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । अस्पतालको भुइँमा राखेर बिरामीको उपचार भइरहेको छ । बिरामीको चाप बढ्दा जिल्ला अस्पतालमा शय्याको अभाव भएको छ ।

१५ शय्या क्षमताको यस अस्पतालमा दैनिक करिब चार सयको हाराहारीमा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । पर्याप्त शय्या अभावमा उपचारमा कठिनाइ भएको दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।  

'बिरामीलाई भुइँमा राखेर उपचार गर्नुपरेको छ, ठाउँ अभावले बिरामीलाई भर्ना गरेर राख्न सकिएको छैन । विशेष गरेर डेंगुका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ,' उनले भने ।  

अस्पतालको स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारसँग पटक-पटक माग गरिए पनि सुनुवाइ नहुँदा समस्या भोग्नुपरेको अध्यक्ष वाग्लेले बताए । शय्याको अभावले डायलायसिस सेवालाई व्यास नगर अस्पतालमा स्थानान्तरण गर्ने तयारी गरिएको छ । यसका लागि गण्डकी प्रदेश सरकारसँग अनुमति मागिएको छ ।



व्यास–१,२, ३, ४ र ५ मा डेंगुका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । अस्पताल आएका बिरामीमध्ये साउनमा ४३, भदौमा दुई सय ८१ र असोजमा हालसम्म दुई सय ९७ जनामा डेंगुको सङ्क्रमण भएको दमौली अस्पतालका सिनियर अहेव दिनेश पण्डितले जानकारी दिए । 

दमौली अस्पतालमा तनहुँका अतिरिक्त लमजुङको मध्यनेपाल, गोरखाको पालुङटार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाबाट बिरामी उपचारका लागि आउने गरेका छन् ।





  • प्रकाशित मिति : असोज २७, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया