logo-img

पछिल्लो पुस्ताको वेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै मुस्किल
बागलुङ नगरपालिका–८ सिगाना पात्ले गोखोलामा हालेको चर्खे पिङ खेल्दै स्थानीय । गाउँबाट लोप भइसकेको चर्खे पिङ झण्डै डेढ दशक पछि हालिएको छ । तस्बिर : खेमराज गौतम

विगतका वर्षका तुलनामा यस वर्ष तनहुँका ग्रामीण भेगहरुमा पिङ हाल्ने क्रम बढेको छ । दसैँका बेला भुइँ छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको छ । सोही बमोजिम जिल्लाका विभिन्न ठाउँमा युवा क्लवहरुले लिङ्गे तथा रोटे पिङ हालेर संस्कृति संरक्षणमा जुटेका छन् । 

तनहुँको भानु नगरपालिका–१३ सम्जुरमा युवाहरूले छ पिर्के रोटे पिङ बनाएका छन् । पछिल्लो पुस्ताको वेवास्ता र बढ्दो युवा पलायनका कारण गाउँमा पिङ देख्नै मुस्किल भएपछि आफूहरूले रोटे पिङ बनाएको सम्जुरका युवा अर्जुन बानियाँले बताए । उनले भने, ‘विगतमा दसैँ सुरु हुनुभन्दा गाउँमा पिङ बनाइन्थ्यो, पिङ खेल्दै रमाइलो हुन्थ्यो । तर आजभोलि समय त्यस्तो छैन । गाउँमा युवा नै पाउन छाडियो ।’

वैदेशिक रोजगारीका लागि युवा विदेशिने क्रम बढेपछि गाउँमा पिङ देख्नै छाडिएको उनको भनाइ छ । उनी अगाडि थप्छन्, ‘पिङको संस्कृति संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामी गाउँमा भएका युवा मिलेर पिङ हालेका छौ ।’

यस्तै व्यास नगरपालिका–१२ कमलाबारीमा अकला युवा क्लवले लिङ्गे पिङ बनाएको छ । दसैँमा पिङ हाल्ने संस्कृतिको संरक्षणका लागि युवाहरु मिलेर पिङ हालेको क्लवका तारा पन्थले बताए । उनले भने, ‘पिङ हालेको देखेपछि दसैँ आयो भन्ने अनुभूति हुन्छ । वर्षमा एकदिन धर्ती छाड्नुपर्छ भन्ने मान्यता रहँदै आएको बताइन्छ । गाउँघरमा हवाइजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाइजहाज चढ्न नसक्नेहरुले वर्षमा एकपटक भएपनि दसैँमा टीका लगाएपछि पिङ खेलेर जमिन छाड्नुपर्छ भन्ने चलन रहँदै आएको छ ।’



म्याग्दे गाउँपालिका–१ गुणादीमा फ्रेण्डसीप युवा क्लव, व्यास नगरपालिका–१० बैरेनी, शुक्लागण्डकी नगरपालिका–११ थामडाँडा, व्यास नगरपालिका–३ दमौलीमा पनि रोटे तथा लिङ्गे पिङ हालिएको छ ।





  • प्रकाशित मिति : असोज २८, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया