logo-img

दसैँ अवधिमा च्याङ्‍ग्रा बेचेर मुस्ताङले भित्र्यायो १६ करोड
फाइल तस्बिर

यस वर्षको दसैँमा मुस्ताङमा १६ करोड रुपैयाँ बराबरको भेडाच्याङ्‍ग्राको व्यापार भएको छ ।

दसैँका लागि मुस्ताङबाट बिक्री भएका ८ हजार भेडाच्याङ्‍ग्रा​मध्ये चार हजार आठ सय जिल्लाभित्रका किसानले पालेका र तीन हजार दुई सय डोल्पा, मुगुबाट ल्याइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।  

केन्द्रका प्रमुख लालमणि अर्यालका अनुसार ५ सय भेडा (च्यालुक) र सात हजार पाँच सय च्याङ्ग्रा बिक्री भएको हो । ‘मुस्ताङका किसानले उमेर र तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ३८ हजार रुपैयाँका दरले च्याङ्ग्रा बेचेका छन्’, उनले भने ।

गत वर्ष सात हजार भेडाच्याङ्‍ग्रा बिक्री भएको थियो । म्याग्दी, बागलुङ, पर्वत, कास्की, काठमाडौंलगायतका जिल्ला तथा सहरमा मुस्ताङका भेडाच्याङ्‍ग्रा​ बिक्री भएको छ । अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको र मूल्य घटेकाका कारण यसपालि भेडाच्याङ्‍ग्रा​को व्यापार राम्रो भएको व्यापारीले बताएका छन् । 



जडीबुटीयुक्त बुकीमा चरेका च्याङ्‍ग्राको मासु पोषिलो, तागतिलो र स्वस्थर मानिन्छ भएकाले दसैँ तिहारमा हिमाली च्याङ्‍ग्राको मासुको उपभोग गर्ने चलन रहेको बेनीका अर्जुन पौडेलले बताए । तीन वर्ष पूरा भएका च्याङ्ग्रा मासुका लागि बिक्री हुने गर्छ । 

बजारमा गत वर्षको तुलनामा प्रतिगोटा च्याङ्ग्रा १० हजार रुपैयाँ कम मूल्यमा बिक्री भएको छ । मुस्ताङको घरपझोङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङ्ग्रा पालिएको छ । यहाँका किसानको मुख्य आयस्रोत च्याङग्रापालन हो । रासस 





  • प्रकाशित मिति : असोज २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया