logo-img

सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह

विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो ।

टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उनले आजभोलि खासै गहना लगाउँदिनन् । 'विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो', उनले भनिन्, 'तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन् ।'

घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा राखेका छन् । अधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन् । एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनःलगाउन लगाउन नचाहेर पनि गहना मोह घटेको हुन सक्ने बताइन्छ ।

जोशीपुरकी सविना श्रेष्ठलाई गहना लगाउन असाध्यै मनपर्छ । हरेक पर्वमा गहनामा सजिन मन पराउने सविनालाई आजभोलि सामाजिक सञ्जालले गाह्रो भएको छ । एकपटक लगाएको गहनाको फोटो खिचिसकेको र फेसबुक, टिकटकमा हालिसकेपछि अर्को पटक लगाउन मन लाग्दैन ।



'गहना जस्तो कुरा पटकपटक किन्न सकिन्न, सुनको मूल्य डेढ लाख बढी पुगेको छ', उनले भनिन्, 'त्यसैले बजारमा पाइने नक्कली गहना किन्यो, लगायो सहज भएको छ ।' 

गहना धेरै लगाउँदा सुरक्षा जोखिमसँगै नहुने महिलाले असमानता महसुस गर्छन् । सबै समान देखिएमा समाजमा पनि शान्ति स्थापना हुन्छ । शिक्षक रूपा साउँद गहना सम्पत्ति भए पनि गहनाले सुरक्षा चुनौती बढाउने बताउँछिन् । 'गहना धेरै लगाउनु खासै राम्रो पनि होइन, महिलाले सामान्य एकसरो गहना लगाएको राम्रो देखिन्छ, त्यसले अन्यलाई समस्या पनि हुँदैन', उनी भन्छिन्, 'तडकभडक नगरेको राम्रो हो । तर, पछिल्लो समय हरेक पर्व नयाँ पहिरन लगाउने चलनले पनि खर्च बढाएको छ । खर्च कसरी कम गर्ने भन्नेबारेमा ध्यान दिनुपर्छ ।'



सुनचाँदी व्यवसायी प्रवीण साहु विगतमा जस्तो सुनचाँदीको कारोबार नरहेको बताउँछन् । 'सुनको मूल्य बढेकाले पनि व्यवसायमा असर परेको छ । अर्कोतर्फ गहना अत्यावश्यक भएकाले मात्र लगाउने गर्नाले मर्मतको काम पनि घटेको छ', उनले भने, 'सुनचाँदी व्यवसायमा ५० प्रतिशत गिरावट आएको छ ।' रासस



  • प्रकाशित मिति : असोज २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया