logo-img

घोडाघोडीमा आन्तरिक पर्यटकको चहलपहल

विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा पर्यटकको चहलपहल बढेको छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले दसैँदेखि पर्यटकको चहलपहल धेरै बढेको बताए ।

घोडाघोडी ताल क्षेत्रमा पर्यटकलाई प्रवेश गर्नका लागि १० रुपैयाँ तिर्नुपर्छ । टिकट काट्नका लागि पनि दसैँको दिन त हम्मेहम्मे परेको जनाउँदै उनले दैनिक पछिल्लो समय आन्तरिक पर्यटक संख्या वृद्धि भइरहेको बताए ।

पर्यटकको चहलपहल बढेसँगै ‘फोटोग्राफर’ ले पनि राम्रो आम्दानी गर्न थालेका छन् । घोडाघोडीमा फोटोग्राफर २५ भन्दाबढी छन् । दसैँभन्दा अगाडि दिनमा एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने गरेको बताउँदै फोटोग्राफर लक्ष्मण सुनारले भने, ‘दसैँको दिनदेखि पर्यटक बढेका छन् । दिनको ५ हजारसम्म आम्दानी हुने गरेको छ ।’

आन्तरिक पर्यटकको चहलपहल बढेसँगै घोडाघोडीका होटल व्यवसाय पनि फस्टाएका छन् । घुम्न आउने पर्यटकले खाजा खाँदा व्यापार व्यवसायमा वृद्धि भएको होटल व्यवसायी राजु अवस्थीले बताए ।



घोडाघोडी तालसँगै जोडिएको ओजुवातालले पनि पर्यटकलाई आकर्षित गरेको छ । घोडाघोडी तालको छेउ हुँदै सहायकर्तालअन्तर्गत रहेको ओजुवातालसम्म पर्यटक पुग्छन् ।

दसैँमा लामो समयसम्म बिदा पनि हुने र अहिलेको मौसम पनि घुम्नका लागि उपयुक्त रहेकाले यो समयमा पर्यटक घोडाघोडीमा घुम्न आउने गरेको पर्यटन व्यवसायी डबल शाह बताउँछन् ।



उनका अनुसार पहिलेभन्दा अहिले घोडाघोडी क्षेत्र व्यवस्थित हुँदै गएको छ । पर्यटकका लागि पैदलमार्ग स्थापना भएका छन् । घोडा सवारसँगै ढुंगामा सयर गर्न पनि पाइन्छ त्यसैले पनि पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको घोडाघोडी ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो । 

विश्वजलचर इतिहासमा संकटापन्न दर्जनौं जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्वरामसार सूचीमा सूचीकृत भएको थियो । 



चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २७ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेञ्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो । 

चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार ‘नेपालकै पहिलो बर्ड सेन्चुरी घोषणा गरेपछि पनि यहाँ पर्यटकको संख्या बढेको छ । घोडाघोडीमा पर्यटकको संख्यामा वृद्धि हुन थाले पनि पर्यटक लामो समयसम्म अडिनसक्ने वातावरण नरहेको पर्यटन व्यवसायी डबल शाहको भनाइ छ ।

पर्यटकलाई अबेरसम्म टिकाइराख्ने अवस्था सृजना गर्नसके पर्यटनका क्षेत्रमा घोडाघोडीमा राम्रो अवसर रहेको शाहले बताए । १३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल औँला भएको हत्केला आकारको छ । 

एउटा तालको सीमा टुंगिने नपाउँदै अर्को ताल सुरु हुने घोडाघोडी क्षेत्र तालैतालको मालाजस्तै देखिन्छ । जंगलबीच तालैतालको लस्करसहित जैविक विविधताले भरिएको यस क्षेत्र तराई र चुरे जोड्ने जैविकमार्गका रूपमा रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरीले बताए । रासस

  • प्रकाशित मिति : असोज २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया