आज (मंगलबार)देखि बडादसैँको सार्वजनिक बिदा सकिएको छ । बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुलेका छन् । बडादसैँको फूलपातीका दिनदेखि बिदा रहेका सरकारी कार्यालय आजबाट खुलेका हुन्
सरकारले दसैँ मनाउन ५ दिन बिदा दिएको थियो । आजबाट कार्यालय खुलेसँगै राजधानी काठमाडौंको चहलपहल बढेको छ भने उपत्यकामा सवारी आवागमन बढेका छन् । यस वर्षको दसैँमा झण्डै १३ लाख सर्वसाधारणले उपत्यका छोडेका थिए ।
तर आश्विन शुक्ल पक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम जारी रहेको हो ।
मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् ।
आफन्त टाढा हुनेका लागि बडादसैँ नवदुर्गाको प्रसाद र आशीर्वाद लिनुका साथै भेटघाट गर्ने अवसर पनि हो । महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।