logo-img

विद्यालयले पाठ्यक्रमका अतिरिक्त सिकाउँदै रैथाने सीप

बागलुङका सार्वजनिक समारोहमा आजभोलि पञ्चैबाजा बोकेका स–साना बालबालिका भेटिन्छन् । दमाहा, मादल, सनाही, झ्यालीलगायत बोकेर उनीहरू भीडमा पुग्छन् । जब उनीहरू सार्वजनिक मञ्चमा उक्लिएर बाजा बजाउन थाल्छन् । उपस्थित दर्शक चकित पर्छन् । बागलुङ नगरपालिका–१३ बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले यो सबै तारतम्य मिलाएको हो । यहाँ पढ्ने बालबालिकाले पञ्चैबाजा र नौमती बजाएर सबैलाई चकित पार्ने गरेका हुन् ।

कक्षा ४ मा अध्ययनरत विवेक परियारले ढोलकी बजाउँदा शिक्षक, अभिभावक अचम्मित हुन्छन् । उनीहरूले नौमती बजाउँदा मेला महोत्सव र सार्वजनिक कार्यक्रमको रौनक थपिने गरेको छ । बाजा बजाउन सिक्न थालेको उनीहरूले एक वर्ष भयो । विद्यालयले पाठ्यक्रमका अतिरिक्त रैथाने सीप सिकाइरहेको छ । त्यसअघि एक दुई जनाले घरमा अभिभावकसँग पनि सिकेका थिए । 

विद्यालयले समूहमा राखेर सिकाएपछि सबैजना बाजा बजाउन जान्ने भएका हुन् । सिकाइकै लागि उनीहरू मेला महोत्सव, धार्मिक र सांस्कृतिक कार्यक्रममा बाजा बजाउँछन् । पारिश्रमिक लिएर भने उनीहरुले हालसम्म बाजा बजाएका छैनन् । 

गत वर्षदेखि विद्यालयले बालबालिकालाई नौमती बाजा सिकाउन थालेको प्रधानाध्यापक तिलक आचार्यले बताए । विद्यालयकै शिक्षक थमबहादुर परियारलाई सबै बाजाको ज्ञान भएकाले उनले इच्छुक विद्यार्थीलाई प्रशिक्षण दिइरहेका छन् । सुरुमा गाउँमा बाजा बजाउन सिकाएपछि हौसिएका बालबालिकालाई विद्यालयले रु तीन लाख खर्चेर नौमती बाजाको ‘सेट’ नै ल्याइदिएपछि अहिले नियमित सिकिरहेका छन् ।



नौमती सिक्नेमा परियारबाहेक अन्य जातका पनि छन् । सबै मिलेर नौमती बजाउन जान्ने भएपछि बालबालिकालाई हरेक शुक्रबारको अतिरिक्त क्रियाकलापमा बाजा बजाउने प्रतियोगितासमेत गराउन थालिएको प्रधानाध्यापक तिलक आचार्यले जानकारी दिए ।

विद्यालयले विज्ञान प्रयोगशाला जस्तै बाजा सिक्ने कक्षलाई पनि व्यवस्थित बनाउने तयारी गरेको छ । ‘यहाँ धेरैले चासो राखेपछि एकजोर नौमती बाजाले नपुग्ने भयो । अभिभावक र विदेशमा बस्ने युवाबाट सहयोग जुटाएर कम्तीमा दुई जोर बाजा पुर्याउने लक्ष्य छ’, प्रधानाध्यापक आचार्यले भने ।  





  • प्रकाशित मिति : असोज २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया