सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौंबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् ।
रोकिएका पर्यटकहरू कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन् । नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एअरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन् ।
मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिए । पर्यटकहरू शरद ऋतुका बेला सगरमाथा आधार शिविर पदयात्राका लागि जाने गर्दछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।