logo-img

चितवनमा तीन सय ८६ जनामा स्क्रब टाइफस

चितवनमा विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

संक्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिए । संक्रमितमध्ये सो अवधिमा एक जनाको मृत्यु भएको उनले बताए । 

जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा संक्रमित देखिएका छन् । पट्टेलका अनुसार भरतपुर महानगरपालिकामा ९०, रत्ननगरमा ३३, राप्तीमा २०, खैरहनीमा १७, कालिका नगरपालिकामा ११ र माडी नगरपालिकामा सात तथा इच्छाकामना गाउँपालिकामा १८ जनामा संक्रमण देखिएको छ । 

स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामक जीवाणुबाट हुने संक्रामक रोग हो । साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स) लाई संक्रमण गर्छ । 



सोही संक्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन् । संक्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गरेको चिकित्सकहरू बताउँछन् । 

यो रोगबाट संक्रमित मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने जनस्वास्थ्य अधिकृत पट्टेलले बताए । 



यस रोगको संक्रणबाट जोगिन झाडीमा नजाने, शरीर ढाक्ने गरी लामो कपडा लगाउने, मुसा तथा संक्रमित जनावरसँग टाढा रहनेजस्ता सावधानी अपनाउन उनले आग्रह गरे । 



  • प्रकाशित मिति : असोज २९, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया