logo-img

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी

सुनसरीको इटहरी उपमहानगरपालिका-६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका-४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका उनले यही व्यापारबाट जीविकाेपार्जन गर्दै आएका छन् । 

उनले भने, ‘सिलौटा बनाउने हाम्रो पुर्ख्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदै आएको छु ।’ इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामग्री बिक्री गर्दै आएका छन् ।

नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उनले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दै आएका छन् । उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राखेका छन् ।

‘विदेशमा गएर दुःख गर्नुभन्दा यही पुर्ख्यौली पेशा सिलौटो व्यापारबाट आम्दानी गर्दै आएको छु, दिनभर यही बसेर सामग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ । आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ’, सन्तराजले भने ।

सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आएका छन् । ‘कहिले चार/पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हुँदैन’, उनले भने ।  

लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गरेका छन् । सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उनले बताए ।



व्यापारबाट घर खर्च कटाएर मासिक ४० हजारसम्म बचत हुँदै आएको सन्तराजले बताए । उनले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन् । छोराले पनि उनलाई साथ दिँदै छन् ।

‘पुर्ख्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ’, उनले भने ।



सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गरेका छन् । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ । उनले एउटा सिलौटो चारदेखि ५ सय ५० सम्ममा बिक्री गर्दै आएका छन् ।

एक जोर जाँतो एक हजारदेखि १३ सय रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । पछिल्लो समय कुटानी पिसानीको विभिन्न उपकरण बजारमा आएसँगै आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उनको भनाइ छ । रासस

  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया