logo-img

‘ह्याप्पी हनिमुन पिरियड’मै छन् ओली, नयाँ राजनीतिक वातावरण बन्दै छ भन्छन् प्रचण्ड [भिडियो पनि]

प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने बताएका छन् । बुधबार कुराकानीको क्रममा उनले आफूले मात्र नभई धेरै मानिसहरूले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने सङ्केत गरेको उल्लेख गरे ।

‘मलाई के लाग्छ भने यो सरकार जुन रूपमा र जसरी बन्यो सुरुमै मैले अनुमान गरिसकेको थिए । सरकार धेरै समय जाँदैन भन्ने लागेको थियो । अहिलेको घटनाक्रमहरूले करिब करिब त्यस्तै सङ्केत गरेको छ । हुनसक्छ केही समयपछि नयाँ राजनीतिक वातावरण बन्न सक्छ र धेरैको आकलन पनि त्यही छ,’ उनले भने । 

यद्यपि, माओवादी केन्द्र सरकार परिवर्तन गर्नेतर्फ नजाने पनि स्पष्ट पारे । सङ्गठन बनाउन र जनतामा जानेतिर पार्टी सक्रिय भएको उनको भनाइ छ । ‘सरकार परिवर्तन गर्नेतर्फ माओवादी केन्द्र सक्रिय भएर लाग्दैन । जनतामा जानेतर्फ, सङ्गठन बनाउनेतर्फ र जनतातिर फर्किनेतर्फ नै पार्टीले उच्च प्राथमिकतामा राख्नेछ । मैले भनेको छु यो सरकार गलत तरिकाले, बडो अप्राकृतिक, अपारदर्शी र अनैतिक रूपमा बनेकाले आफैँ ढल्छ भने लाग्छ । हामीले धेरै मेहनत गर्नुपर्छ भन्ने नै लाग्दैन,’ अध्यक्ष प्रचण्डले भने ।

बेइमानीपूर्वक आफ्नो सरकार ढालेर पहिलो र दोस्रो दल मिलेर सरकार बनाइएको टिप्पणी गर्दै आएका अध्यक्ष दाहालले यसअघि गठबन्धनमार्फत चुनाव लड्दा माओवादीको अस्तित्व नै हराउने देखिएकाले अब एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको बताउँदै आएका छन् । उनले विपक्षी दलहरूको मोर्चालाई बलियो पार्ने रणनीति लिएको प्रतिक्रिया दिँदै आएका छन् ।

प्रचण्डले कांग्रेस-एमालेलाई ‘घुमाए’को त्यो समय 

सरकारबाट बाहिरिएपछि कांग्रेस-एमालेले बेइमानीपूर्वक आफ्नो सरकार ढालेको बताउँदै आएका प्रचण्डले त्यस अघि भने आफ्नो सरकार जोगाउनको लागि कांग्रेस-एमालेलाई नै ‘घुमाइ’ दिएका थिए । 



निर्वाचनपछि १० पुस २०७९ मा दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थनसहित प्रचण्ड प्रधानमन्त्री बनेका थिए । तर, त्यसको केही महिनामै प्रधानमन्त्रीले गठबन्धन फेरे । 

उनले नेपाली कांग्रेससहितको पुरानो गठबन्धन ब्युँताएका थिए । उक्त गठबन्धनमा एकीकृत समाजवादीसमेत जोडियो । त्यसपछि सहमति बन्यो कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत आलोपालो सरकार चलाउन पाउने । 



सहमतिअनुसार उक्त गठबन्धन पनि चल्न सकेन । गत २१ फागुनमा आफू प्रधानमन्त्री भएको १४ महिनामा तेस्रो पटक गठबन्धन फेर्दै प्रचण्डले १३औँ पटक मन्त्रिपरिषद् पुनर्गठन गरे र सरकारको नेतृत्व गरिरहे । सत्ता सहयात्री कांग्रेस प्रतिपक्षमा गयो र एमाले सत्तामा फर्कियो । यसरी गठबन्धन फेर्ने, सरकार बनाउने-भत्काउने क्रम नै चलिरह्यो । 

तर, गत असारमा भने प्रतिनिधिसभाबाट विश्वास गुमाउँदै प्रचण्ड नेतृत्वको सरकार ढल्यो । विश्वासको मतका लागि भएको मत विभाजनमा प्रचण्डले जम्मा ६३ मत मात्रै पाएका थिए । प्रचण्ड सरकार ढलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको ‘ह्याप्पी हनिमुन पिरियड’ एक सय दिन नपुग्दै प्रचण्ड नयाँ राजनीतिक वातावरण बन्ने दाबी गरिरहेका हुन् । 

हेर्नुहोस् भिडियो :

  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया