logo-img

बाढीपीडित खुला आकाशमुनी रात कटाउँदै, प्रधानमन्त्री छिट्टै पुनःनिर्माण गर्ने भाषण ठटाउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढी पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाइने बताएका छन् । 

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे आज प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवास र पुल निर्माणबारे निर्णय गरिने जानकारी गराएका थिए । 

उनले बाढी र पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडक अवरुद्ध भएकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरुपमा सडक सञ्चालनमा आएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले सीमित बजेटका बाबजुद सकभर मागेर भन्दा आफ्नै बलबुतामा पुनः निर्माण र पुनःव्यवस्थापनका कामहरू गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा सहभागी प्रतिनिधिमण्डलले  खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एक मात्र मोटरेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएपछिको जिल्लाको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएको थियो । 

बाढी पहिरोबाट भएको क्षति र प्रभावितहरूको स्थिति 

यही असोजको दोस्रो साता परेको भारी वर्षासँगै आएको बाढी पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको  थियो । सरकारी तथ्याङ्कअनुसार बाढी, पहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । धादिङ, काभ्रे, ललितपुर, काठमाडौं, सिन्धुपाल्चोक, मकवानपुर र सिन्धुली  जिल्ला बढी प्रभावित छन् ।



उक्त बाढी पहिरोबाट २२४ जनाको मृत्यु पुष्टि हुँदा झन्डै दुई दर्जन व्यक्तिहरू बेपत्ता भएका छन् । त्यस्तै उक्त बाढी पहिरोमा परेर १५८ जना घाइते भएका थिए । 

असोज ११ र १२ गतेको भीषण वर्षा पछिको बाढी पहिरोले प्रभावित हरू कोही खुला आकाशमुनी छन् भने कोही आफन्तकोमा आश्रय लिइरहेका छन् । यसैबीच आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमै बसेर प्रभावितहरूले यस वर्षको दसैँ मनाएका छन्।



बाढी पहिरो गएको आधा महिना पुरा भइसक्दा पनि प्रधानमन्त्री ओलीले भने विपद्पछिको पुनःनिर्माण र पुनःव्यवस्थापनको काम छिट्टै अघि बढ्ने मात्रै बताउने गरेका छन् ।  

  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया