logo-img

पाँचजना विदेशी आरोहीको शव काठमाडौं ल्याइयो

धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव संकलन गरेर आज काठमाडौं ल्याइएकाे छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरूको  शव भेटिएको थियो ।

रसियन पर्वतारोहीको शव हेलिकाेप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । एयर अल्टिच्युडको हेलिकाेप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेकाे थियाे ।

इटली आधार शिविरबाट शवलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको प्रनाउ श्रेष्ठले बताए । आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए ।

प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकोप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण संकलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो ।​ उद्धारकर्ता हेलिकाेप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका थिए । आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोहीहरू धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । जसमध्ये दुई जनाले सफल आरोहण गरेका थिए । सात जना पर्वतारोहीहरूले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए ।

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकाेप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धाैलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्छ ।  पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए । 





  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया