logo-img

सरकारसँग दुईतिहाइ रहेकाे हेक्का राख्न प्रचण्डलाई ओलीकाे चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाइ रहेकाे हेक्का राख्न प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन् । केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने माओवादी अध्यक्ष दाहालकाे दाबीकाे खण्डन गर्दै प्रधानमन्त्रीले यस्ताे चेतावनी दिएका हुन् । 

बुधबार प्रचण्डले एक आफूले मात्र नभइ धेरै मानिसहरुले केही समयमै नयाँ राजनीतिक वातावरण बन्ने संकेत गरेको उल्लेख गरेका थिए । उनले भनेका थिए,‘मलाई के लाग्छ भने यो सरकार जुन रुपमा र जसरी बन्यो सुरुमै मैंले अनुमान गरिसकेको थिए । सरकार धेरै समय जाँदैन भन्ने लागेको थियो । अहिलेको घटनाक्रमहरुले करिब करिब त्यस्तै संकेत गरेको छ । हुनसक्छ केही समयपछि नयाँ राजनीतिक वातावरण बन्नसक्छ र धेरैको आकलन पनि त्यही छ ।’

यद्यपि, सरकार परिवर्तन गर्नेतर्फ माओवादी केन्द्र सक्रिय भएर नलाग्ने उनकाे भनाइ थियाे। 'मैले भनेको छु यो सरकार गलत तरिकाले, बडो अप्राकृतिक, अपारदर्शी र अनैतिक रुपमा बनेकाले आफैँ ढल्छ भने लाग्छ,'उनले भनेका छन्, 'हामीले धेरै मेहेनत गर्नुपर्छ भन्ने नै लाग्दैन ।’

प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा दाहालकाे उक्त भनाइकाे खण्डन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिर्वतनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका हुन् । यद्यपि, ओलीले दाहालकाे नाम लिएनन् । तर, उनकाे संकेत प्रचण्डप्रति रहेकाे बुझ्न कठिन छैन ।

दिनैपिच्छे सरकार परिर्वतन हुन्छ भन्ने सुनिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दशैंपछि तुरुन्त परिर्वतन हुन्छ रे, कुन दसैँ भन्या ? ०८४ को दसैँपछि चुनावमा ? ठीकै हो ।’

सरकार आफैँ फेरिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब आफूले करिब एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताए । कांग्रेस र एमाले मिलेर सरकार बनेको भन्दै ओलीले भने, ‘यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइको छ भन्ने सबैमा हेक्का रहोस् ।’ देउवा नेतृत्वको सरकारले चुनाव गराउने भन्दै उनले ढुक्क रहन आग्रह गरे । 



प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबल, सक्षम बनाउनेमा आफूहरुको ध्यान रहेको समेत बताए ।



  • प्रकाशित मिति : असोज ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया