logo-img

‘पहिले तरकारी बिक्री हुन्छ भन्दै गाउँलेले गिज्याउँथे, अहिले तरकारी खेती नगर्ने कोही छैन’
सिङ्गो गाउँ नै तरकारी खेतीमा लाग्दा भित्रिन्छ वार्षिक झण्डै करोड रुपैयाँ

बागलुङको ढोरपाटन नगरपालिका–५ का दुई सय २० घर दूरीका किसान व्यावसायिक तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । विसं २०७५ देखि तरकारी खेतीमा लागेका किसानले अहिले गाउँका बाँझो जग्गाको सदुपयोग गरी तरकारी लगाउन थालेका हुन् । यहाँको नाथुरी, बाउनगाउँ, अधिकारीचौर, प्याङखोलाका प्रत्येक परिवारले प्लास्टिकका टनेलमा मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । 

सुरुमा गाउँका अगुवा किसान कृष्णलाल कँडेलले थालेको तरकारी खेतीमा अहिले गाउँभरि बिस्तार भएको छ । कँडेलले विसं २०६९ देखि नै फाटफुट तरकारी खेती गर्न थाल्नुभएको थियो । छ वर्षपछि सरकारी कृषि ज्ञान केन्द्रसहित विभिन्न सरकारी निकायले अनुदान दिन थालेपछि स्थानीय व्यावसायिक तरकारी खेती गर्न थालेका थिए । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने गाउँमा फलेका तरकारी बजार पुर्‍याउन त्यति समस्या छैन । नजिकै बुर्तिबाङ बजार हुँदा बिक्रीका लागि टाढा धाउनु पर्दैन । 

गाउँमा तरकारी खेती गर्न थालेपछि न्यून आय भएका परिवारको पनि आर्थिक अवस्था सुधार हुँदै गएको स्थानीय अगुवा किसान कृष्णलाल कँडेलले बताए । १२ वर्षअगाडि आफूले गाउँमा टनेलभित्र तरकारीखेतीको सुरुआत गरेपछि अहिले सिङ्गो गाउँ नै यसमा लागेको उनको भनाइ छ । तरकारी खेतीमा आबद्ध किसानले वार्षिक न्यूनतम दुई लाखदेखि सात लाखसम्म आम्दानी गर्दै आएका कँडेल बताए । यस वर्ष ढोरपाटन–५ मा मात्रै तरकारी बेचेर ८० लाख रुपैयाँ भित्रिएको उनले जानकारी दिए । 

‘गरे के नहुने रैछ र ?, मैले तरकारी खेती सुरु गर्दा गाउँलेले तरकारी पनि बिक्री हुन्छ भन्दै गिज्याउँथे, अहिले गाउँमा टनेलमा तरकारी खेती नगर्ने कोही छैन, तरकारीबाट आम्दानी राम्रो हुन थालेपछि पहिले हुँदा खानेहरू अहिले हुने खाने भए’, उनले भने, ‘पोहोर परार साल वार्षिक ५० लाखको तरकारी बिक्री हुन्थ्यो, यस वर्ष थप ३० लाख बढीको खायन आलुसमेत बिक्री गर्‍यौँ ।’

बारीमा काम गर्न थालेपछि धेरै युवा विदेश जानबाट रोकिएका छन् । जिल्लाको अन्य गाउँमा युवा विदेश पलायन हुँदा ढोरपाटनमा भने गाउँ जनशक्तिको अभाव छैन । व्यावसायिक तरकारीखेतीले गाउँलेको जीवनशैली नै बदलिएको स्थानीय किसान विष्णुकुमारी घर्तीले बताइन् । बजारमा तरकारीको भाउमा एक रुपता नहुँदा कहिलेकाहीँ मूल्य नपाउने उनको भनाइ छ । तरकारीखेतीबाटै घर खर्च चलाउने र छोराछोरी पढाउने गरेको घर्ती बताउँछिन् । उनले भनिन्, ‘तरकारी खेतीबाट आत्मसन्तुष्टि मिलेको छ, पहिले एक मुरी धान फल्ने खेतमा अहिले लाखौँको तरकारी फल्छ, मैले मात्रै होइन गाउँका धेरैले यो पेसा अङ्गालेका छन्, तरकारीमा रोग लागेन भने वर्षमा दुई/चार लाख रुपैयाँ कमाउन समस्या छैन ।’

तरकारीखेतीतर्फ किसानलाई आकर्षित गर्न कृषि ज्ञान केन्द्र बागलुङले पनि सहयोग गर्दै आएको छ । यस क्षेत्रमा तरकारी खेती र खायन आलु उत्पादनका लागि करिब ८० लाख लगानी गरेको केन्द्रका सूचना अधिकारी कुमार पुनले जानकारी दिए । किसानलाई आवश्यक अनुदानसहित प्राविधिक सहयोग र उपकरणसमेत उपलब्ध गराउँदै आएको उनले बताए । 





  • प्रकाशित मिति : कात्तिक १, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया