logo-img

साफमा फेरि नेपाललाई उपाधि खडेरी तोड्ने मौका, सफल होला लक्ष्य ? [भिडियोसहित]

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालको प्रदर्शन प्रायः उत्कृष्ट नै हुने गर्दछ । तर, नेपाल अन्तिमतिर भने चुक्छ । त्यसैले त नेपाल साफमा ‘अभागी’ टिम भनेर चिनिन्छ । 

विगत ६ संस्करणको साफ नतिजाले पनि यही भन्छ । हालसम्म नेपालले पाँचपटक फाइनलमा स्थान बनाएको छ । र, नेपाल ती पाँचवटै साफ फाइनल भिडन्तमा स्तब्ध भएको इतिहास छ । नेपालको उपाधि सपनामा प्रायः भारत बाधक बनेको विगत छ । 

नेपालले पहिलो संस्करणकै साफ फाइनलमा स्थान बनाएको थियो । सन् २०१० मा बंगलादेशमा आयोजित उक्त प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनलमा पुग्यो ।  तर, फाइनलमा नेपाली टिम भारतसँग १–० ले स्तब्ध भयो । 

सन् २०१२ मा भएको साफमा पनि नेपालले दमदार प्रदर्शन गर्दै एक खेल नहारेर फाइनलको टिकट सुरक्षित गर्‍यो । तर, नेपालको उपाधि जित्ने लक्ष्यमा फेरि भारत बाधक बन्यो । श्रीलंकामा भएको उक्त साफ फाइनलमा भारतसँग नेपाल ३–१ ले पराजित भयो । 

यस्तै, सन् २०१४ मा पाकिस्तानमा भएको तेस्रो संस्करणको महिला साफ सेमिफाइनलसम्म नेपालको प्रदर्शन सानदार थियो । तर, फाइनलमा भने नेपालले भारतसँग ६–० को लज्जास्पद हार बेहोर्‍यो ।



सन् २०१६ मा भारतमा आयोजित साफमा भने नेपालले फाइनलको टिकट काट्न सकेन । उक्त संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग ३–१ ले पराजित भयो । नेपाललाई सो हारको बदला सन् २०१९ मा भएको साफमा लिने सुनौलो मौका थियो । तर, घरेलु मैदानमा भएको उक्त साफ फाइनलमा भारतसँग नेपालले ३–१ कै नतिजा दोहोर्‍यो । 



गत संस्करणको साफ पनि नेपालमै आयोजना भएको थियो । सन् २०२२ मा आयोजित उक्त साफमा नेपालले सेमिफाइलमा भारतलाई १–० ले हराउँदै इतिहास रच्यो । महिला फुटबल इतिहासमा भारतविरुद्ध नेपालको यो पहिलो जित हो । नेपाल फाइनलमा भने बंगलादेशसँग ३–१ ले पराजित हुँदै उपाधि जित्न वञ्चित भयो । 

नेपालले सातौं संस्करणको साफ पनि घरेलु मैदानमा खेल्दैछ । नेपाललाई यसपालि पनि उपाधि खडेरी तोड्ने मौका छ । हालसम्म नेपाली महिला फुटबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगितामा एउटा उपाधि पनि जित्न सकेको छैन । पटकपटक फाइनलमा पुग्दा पनि नेपालले उपाधि जित्न नसकेको हो । यसपालि भने नेपाल त्योक्रम तोड्न चाहन्छ । 

भारत र बंगलादेश प्रमुख चुनौती 

जारी संस्करणमा पनि नेपालको यात्रामा बाधक बन्ने प्रमुख टिम हुन्, भारत र डिफेन्डिङ च्याम्पियन बंगलादेश । विगतमा बंगलादेशविरुद्ध भारत र नेपालले फराकिलो जित निकाल्दै आएका थिए । तर, पछिल्लो समय बंगलादेशको उमेर समूहदेखि सिनियर टिमले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । 

गत संस्करणमा उसले भारतलाई समूह चरणमै ३–० ले हराउँदै सनसनी मच्चाएको थियो । बंगलादेशले त्यो लय फाइनलमा राख्दै पहिलोपटक उपाधिसमेत उचाल्यो । यसपालि पनि बंगलादेश उपाधि रक्षा गर्ने दाउमा छ । 

यता भारत र नेपाल गत संस्करणको प्रदर्शनमा सुधार गर्दै च्याम्पियन बन्ने योजनामा छन् । यस्तै, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्स पनि प्रतियोगितामा राम्रो प्रभाव छोड्न चाहन्छन् ।  

सावित्राले पहिलो खेल गुमाउने 

नेपाली टिमकी प्रमुख खेलाडी तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले साफको पहिलो खेल गुमाउने भएकी छन् । फ्रान्सको एन अभान्ट ग्वेंगाम्पले अनुमति नदिएपछि सावित्राले साफको पहिलो खेल गुमाउने भएकी हुन् । 

साफमा नेपालको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय विन्डोभन्दा बाहिर रहेकाले ग्वेंगाम्पले उनलाई खेल्न अनुमति नदिएको हो । सावित्रा साफको दोस्रो खेलदेखि भने नेपालको टिममा जोडिने बुझिएको छ ।   

जारी साफको समूह ‘बी’ मा रहेको आयोजक नेपालले प्रतियोगितामा पहिलो खेलमा शुक्रबार भुटानको सामना गर्नेछ । त्यसपछि नेपालले कात्तिक ५ र ८ गते क्रमशः माल्दिभ्स र श्रीलंकासँग खेल्ने तालिका छ ।  

  • प्रकाशित मिति : १९ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया