logo-img

निर्वाचन नजिकिँदै गर्दा बाइडेनले गरे साढे ४४ अर्ब डलर ‘विद्यार्थी ऋण राहत’ स्वीकृत

राष्ट्रपति निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक सेवकका लागि करिब ४४ अर्ब ५० करोड डलर बराबरको अतिरिक्त विद्यार्थी ऋण राहत घोषणा गरेका छन् ।

पदमा आएदेखि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको ऋण माफीमा सुधार ल्याउने प्रयासहरूको प्रशंसा गर्दै यो कार्यले देशभरका करिब ६० हजार ऋणीलाई प्रभावित गर्ने ह्वाइट हाउसले बताएको छ । 

ह्यारिस नोभेम्बरको ह्वाइट हाउस दौडमा डेमोक्रेटिक उम्मेदवार छिन् । उनले रिपब्लिकन पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध प्रतिस्पर्धा गर्दै छिन् ।

यो घोषणा कोभिड–१९ महामारीपछि घरपरिवारले उच्च जीवनयापन लागतको भार महसुस गरिरहेको र मतदाताले सर्वेक्षणमा अर्थतन्त्रलाई महत्त्वपूर्ण चिन्ताका रूपमा उल्लेख गरेको बेलामा आएको छ ।

पछिल्लो कदमसँगै सार्वजनिक सेवा ऋण माफीअन्तर्गत १० लाखभन्दा बढी मानिसको ऋण रद्द गरिएको राष्ट्रपति बाइडेनले वक्तव्यमा उल्लेख गरेका छन् ।

शिक्षक, नर्स र अन्य व्यक्तिहरूलाई समर्थन गर्ने कार्यक्रमको प्रतिबद्धतामा १० वर्षको सार्वजनिक सेवा र १० वर्षको भुक्तानीपछि विद्यार्थी ऋण माफी समावेश थियो ।



‘धेरै लामो समयसम्म सरकारले आफ्नो प्रतिबद्धताहरू पूरा गर्न असफल भयो र केवल सात हजार मानिसले मात्र माफी पाएका थिए’, बाइडेनले भने, ‘म उच्च शिक्षालाई किफायती बनाउन कहिल्यै काम गर्न रोक्ने छैन ।’ 

उपराष्ट्रपति ह्यारिसले उच्च शिक्षा जीवनभरको ऋण नभइ आर्थिक अवसरको मार्ग हुनुपर्ने बताए । उनले पनि लागत कम गर्न, उच्च शिक्षालाई अझ किफायती बनाउन र विद्यार्थी ऋणको भार कम गर्न काम जारी राख्ने प्रतिज्ञा गरिन् ।



कोरोना भाइरस महामारीको समयमा पूर्वराष्ट्रपति ट्रम्पले लागू गरेको विद्यार्थी ऋण भुक्तानीको रोक्कापछि बाइडेनले लाखौँ अमेरिकीका लागि विद्यार्थी ऋण रद्द गर्ने प्रयास  सुरु गरेका छन् ।

अमेरिकीहरूसँग ४ सय ११ खर्ब डलर विद्यार्थी ऋण छ र केहीले जागिर र परिवार सुरु गर्दा दशकौँसम्म तिर्नुपर्ने हुन्छ । 

  • प्रकाशित मिति : १९ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया