logo-img

नेपालको जितमा लुकेको कमजोरी, फेरि फिनिसिङमै चुक [भिडियोसहित]
डेथ ओभरमा चुकिरहेको नेपाल
तस्बिर : क्यान

नेपालले शुक्रबार बिहान अमेरिकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा १७ रनको जित निकाल्यो । यस खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।

ओपनिङ ब्याटरको जिम्मेवारीमा थिए, आसिफ शेख र अनिलकुमार साह । उनीहरूले टिमलाई राम्रो सुरुवात दिलाए । यी दुईबीच पहिलो विकेटका लागि ३३ बलमा ४८ रनको साझेदारी बन्यो, जसमा आसिफ–अनिल दुवैले समान २७ रनको योगदान दिए ।

आसिफ शेख, तस्बिर : रासस 

उनीहरूले राम्रो सुरुवात दिलाएकै कारण पछिल्लोक्रमका ब्याटरलाई त्यति दबाब थिएन । यस खेलमा तेस्रो नम्बरमा ब्याटिङ गरेका कुशल भुर्तेल १० रनमा आउट भए । उनीपछि क्रिज प्रवेश गरेका रोहितकुमार पौडेलले कप्तानी पारी खेले ।



उनले यस खेलमा ३३ बलमा चार चौकासहित ४९ रन बनाए । यस्तै, तल्लोक्रमका ब्याटर दीपेन्द्र सिंह ऐरीले १७ बलमा २८ रनको महत्वपूर्ण पारी खेले । उनी आउट हुँदा नेपालको स्कोर ५ विकेट गुमाएर १५९ रन थियो ।

यहाँबाट नेपालले उत्कृष्ट फिसिङ गर्न सक्थ्यो । तर, त्यसमा नेपाल चुक्यो । र, टिमले अन्तिममा १४ रन जोड्दा ५ विकेट गुमायो । कमजोर फिनिसङका कारण नेपाल यस खेलमा १६४ रनमा रोकियो ।



विशाल लक्ष्य दिन नसके पनि नेपालले खेल १७ रनले जित्यो । खेल जिते पनि नेपालले आशा गरेअनुसारको फिनिसिङ भने गर्न सकेन । यही कमजोरका कारण नेपाल ठूलो प्रतियोगितामा महत्वपूर्ण उपलब्धि हासिल गर्न चुकेको विगत छ, त्यो टी–२० विश्वकप होस् वा विभिन्न सिरिज । जहाँ पनि नेपालको प्रमुख कमजोरी बनिरहेको छ, फिनिसिङ ।



अहिलेको स्थितिमा नेपाली टोलीमा त्यो भूमिकामा कुनै पनि खेलाडी फिट देखिएका छैनन् । पछिल्लो समय टिममा प्रायः ‘फिनिसर’ को जिम्मेवारी दीपेन्द्र सिंह ऐरीले पाइरहेका छन् । तर, उनी पनि त्यो भूमिकामा जम्न सकेका छैनन् । 

टिमको प्रायः जितमा अन्तिमतिर बनेको रन ‘निर्णायक’ हुने गर्छ । त्यसकारण नेपालले ब्याटिङमा उत्कृष्ट फिनिसिङ गर्नसक्ने खेलाडी पहिचानमा ढिलाइ गर्नु हुँदैन । नेपालको ब्याटिङ मात्र होइन डेथ ओभरमा बलिङ पनि कमजोर नै छ ।

शुक्रबारको खेलकै कुरा गर्दा पनि नेपालको डेथ ओभर बलिङ खराब रह्यो । यस खेलमा अन्तिम दुई ओभरमा नेपालले एक विकेट लिएर ३१ रन दियो । यदि मध्यक्रममा राम्रो बलिङ गरेको हुँदैन थ्यो भने नेपालले यो खेल पनि गुमाउने सम्भावना उच्च थियो । हाल नेपाली टिममा डेथ ओभरका लागि विशेषज्ञ बलर छैनन् । 

केही समययता यो भूमिका सोमपाल कामी, करण केसी र दीपेन्द्र सिंह ऐरीले सम्हालिरहेका छन् । उनीहरूमध्ये करण र सोमपाल पावरप्लेमा बलिङमा लागि परिचित छन् । उनीहरू त्यसमा सफल भएको विगत पनि छ । तर, डेथ ओभरमा सोमपाल र करणको रेकर्ड राम्रो छैन । यस्तै, अन्तिम ओभरहरूमा दीपेन्द्र पनि महँगो साबित हुने गरेका छन् । 

केही वर्षयता टी–२० आईमा डेथ ओभरमा अविनाश बोहराले बलिङ गर्ने गरेका थिए । केही हदसम्म उनी यसमा फिट देखिए । तर, हाल अविनाश टोलीमा छैनन् । समयमै उनको विकल्पमा डेथ ओभरका लागि बलर तयार नगर्दा टिम अन्तिमतिर चुकिरहेको छ ।

अब भने मुख्य प्रशिक्षक मोन्टी देसाईसामु डेथ ओभर विशेषज्ञ बलरको खोजी गर्नुपर्ने दबाब बढेको छ । अन्यथा आगामी दिनमा नेपाल हारको प्रमुख कारण खराब ‘फिनिसिङ’ नहोला भन्न सकिँदैन ।   

  • प्रकाशित मिति : कात्तिक २, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया