पछिल्लो समय राम्रो प्रदर्शन गर्न नसकेपछि राष्ट्रिय टिमका अनुभवी तीव्र गतिका बलर सोमपाल कामी दबाबमा थिए । लगातारको खराब प्रदर्शनले निराश बनिइरहेका उनले आइतबार अमेरिकाविरुद्धको दोस्रो टी–२० आईमा भने गज्जबको कमब्याक गरे ।
प्रायः पावर प्लेमा बलिङ गर्ने सोमपालले जारी श्रृंखलामा भने डेथ ओभरमा पनि सो जिम्मेवारी पाइरहेका छन् । पहिलो खेलमा निकै निराश बनाएका उनले दोस्रो खेलमा भने सानदार पुनरागमन गरे । र, हार नजिक पुगिसकेको नेपाललाई सोमपालले जित दिलाए ।
अघिल्लो खेलमा ३ ओभरमा बिनाविकेट ३१ रन दिएका उनले दोस्रो टी–२० आईमा सुपर ओभरसहित जोड्दा चार विकेट लिए । सोमपालले निर्धारित २० ओभरको खेलमा आफ्नो स्पेलमा ३४ रन दिएर महत्वपूर्ण दुई विकेट लिए ।
उनले इनिङको अन्तिम र सुपर ओभरमा त जादुमय बलिङ गरे । नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकालाई अन्तिम ओभरमा खेल जित्न ७ रन मात्र आवश्यक थियो ।
यो अवस्थामा अमेरिकन ब्याटर खेल जित्नेमा एक प्रकारले ढुक्कै थिए । किनकी उत्कृष्ट प्रदर्शन गरिरहेका दक्षिण अफ्रिकीमूलका एन्ड्रिज गौस क्रिजमै थिए । जब उनी १९.४ ओभरमा व्यक्तिगत ६३ रनमा क्याच आउट भएपछि त्यसपछि खेल थप रोचक बन्यो । अब खेल जित्न अमेरिकाले दुई बलमा तीन रन बनाउनुपर्ने भयो । तर, सोमपालको सानदार बलिङ अगाडि अमेरिकन ब्याटर चलेनन् ।
उनले पाँचौं र छैटौँ बलमा एक/एक रन मात्र दिए । सोमपालले सुपर ओभरमा पनि उत्कृष्ट बलिङ गरे । जहाँ उनले चार बलमा दुई रन दिँदा महत्वपूर्ण दुई विकेट प्राप्त गरे ।
सोमपालको परिपक्व बलिङका कारण सुपर ओभरमा नेपालले मात्र तीन रनको लक्ष्य पायो । उक्त लक्ष्य नेपालले चार बल खेलेर पूरा गर्यो ।
कुशलको कीर्तिमानी प्रदर्शन
दोस्रो टी–२० आईमा नेपालको जितमा ‘हिरो’ साबित भएका अर्का खेलाडी हुन्, कुशल भुर्तेल । विस्फोटक ब्याटिङ गरेका उनी अन्तिमसम्म अमेरिकन ब्याटरको टाउको दुखाइ बनिरहे । ५४ बलको सामना गरेका भुर्तेलले सात चौका र ६ छक्कासहित अविजित ९२ रन बनाए ।
योसँगै उनी अमेरिकाविरुद्ध टी–२० आईमा अर्धशतकीय पारी खेल्ने पहिलो नेपाली ब्याटर बने । कुशलले पाँच महिनापछि अर्धशतकीय पारी खेले । उनले अन्तिमपटक गत मार्चमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध अर्धशतकीय इनिङ खेलेका थिए ।
त्यसयता उनले ब्याटिङभन्दा बलिङमा राम्रो गरे । सोही कारण पनि प्रशिक्षक मोन्टी देसाईले उनलाई ओपनिङको भूमिकाबाट तल्लोक्रममा झारे । तर, कुशलले अमेरिकाविरुद्धको दोस्रो टी–२० आईमा भने सानदार ब्याटिङ गर्दै लयमा फर्किएको संकेत दिएका छन् ।
अमेरिकाविरुद्ध दुई महत्वपूर्ण ब्याटरको क्याचसमेत प्रक्रिएका कुशल ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले टी–२० आईमा पाँचौंपटक यो अवार्ड जितेका हुन् । १७ अप्रिल २०२१ मा यस फर्म्याटमा डेब्यू गरेका कुशलले हालसम्म ५२ म्याचमा ९ अर्धशतक र एक शतकीय पारीको मद्दतमा १ हजार २५८ रन बनाएका छन् ।
उनी टी–२० आईमा सर्वाधिक रन बनाउने मामलामा तेस्रो स्थानमा छन् । कुशलभन्दा अगाडि दीपेन्द्र सिंह ऐरी र कप्तान रोहितकुमार पौडेल मात्र रहेका छन् । उनीहरूमध्ये हालसम्म दीपेन्द्रले १ हजार ७२५ तथा रोहितले १ हजार ३१० रन बनाएका छन् ।
यसअघि दीपेन्द्रको नाममा नेपालका लागि टी–२० आईमा सर्वाधिक अर्धशतक बनाउने कीर्तिमान पनि थियो । आइतबार भने यो उपलब्धि कुशलले पनि हासिल गरेका छन् । उनीहरूको नाममा ९/९ अर्धशतक छ ।
अब तेस्रो टी–२० आईमा उत्कृष्ट प्रदर्शन गरेर दीपेन्द्र र कुशललाई १०औँ अर्धशतक पूरा गर्दै नयाँ उपलब्धि हासिल गर्ने मौका छ । नेपाल र अमेरिकाले तेस्रो तथा अन्तिम खेल सोमबार बिहान खेल्ने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।