अलेक्जेन्डर दुगिन ६२ वर्षीय रुसी प्राज्ञिक दार्शनिक हुन् । दुगिनले आफ्नो जीवन मस्कोमा बिताए । युवावस्थामा उनी सोभियत व्यवस्थासँग सहमत थिएनन् । अहिले दुगिन अंग्रेजी भाषाको प्रेसमा ‘पुटिनको मस्तिष्क’ को रूपमा चिनिएका छन् । तर, उनी रुसका राजनीतिक व्यक्तित्व होइनन् । उनी एक दार्शनिक हुन् र उनका विचारहरू कसै–कसैका लागि गहन र आपत्तिजनक पनि रहेका छन् ।
सन् २०२२ को अगष्टमा मस्कोमा एक कार बम विस्फोट गराई दुगिनकी एक मात्र छोरीको हत्या भएको थियो । सो हत्या अमेरिकी गुप्तचर निकाय (सिआइए) ले युक्रेनी सरकारले गरेको दाबी गरेको छ । तर, चाखलाग्दो कुरा के छ भने दुगिन सैन्य नेता होइनन् । उनी भ्लादिमिर पुटिनका निकट दैनिक सल्लाहकार पनि होइनन् ।
अमेरिकामा वाइडेन प्रशासन र युरोपले उनको पुस्तकमाथि प्रतिबन्ध लगाएको छ । उनका पुस्तक तपाईँ अमेजनमा किन्न सक्नुहुन्न । संयुक्त राज्य अमेरिकामा उनका पुस्तकहरूमाथि प्रतिबन्ध छ । दुगिन चौथो राजनीति सिद्धान्तका प्रतिपादक हुनुको साथै ‘मल्टिपल वर्ल्ड अर्डर’ र युरोएसियानिज्म सिद्धान्तका प्रेरणाता पनि हुन् ।
दुगिनको तर्क छ कि मध्यपूर्वमा बढ्दो द्वन्द्वले एक ठूलो विश्वयुद्धको सुरुवात गरेको छ । किनकि इरान र यसका सहयोगीहरूले इजरायल र पश्चिमी प्रभुत्वको सामना गरिरहेका छन् । युक्रेनपछि मध्यपूर्वमा दोस्रो मोर्चा खुलेको छ । मध्यपूर्वको पछिल्लो द्वन्द्वको सम्बन्धमा दुगिनको विचारलाई मोहनप्रसाद ज्ञवालीले फरकधारका लागि अनुवाद गरेका छन् ।
इरानले हालै इजरायलमाथि गरेको मिसाइल आक्रमण ईस्लामिक गणराज्य इरानको स्वाभाविक कदम हो । यो इजरायलले गरेका पूर्वदुष्कर्महरू, जसमा लेबनानको हिज्बुल्लाहविरुद्ध गरेका कारबाही, यसका नेता शेख सैयद हसन नसरल्लाहको हत्या र तेहरानमा मारिएका हमासका राजनीतिक नेता इस्माइल हानियाको हत्या साथै गाजामा सर्वसाधारणको नरसंहारको जवाफ हो ।
के सयौं इरानी मिसाइलहरूले आफ्ना लक्ष्यमा प्रहार गरेका हुन् वा होइनन् ? भन्न गाह्रो छ । किनकि अन्य सैन्य संघर्षहरूमा जस्तै यसमा पनि दुवै पक्षहरूले आफ्नो वास्तविक स्थितिलाई लुकाउने प्रवृत्ति हुनसक्छ । तर, यो उल्लेख गर्नु वाञ्छनीय छ कि धेरै विशेषज्ञहरूले मध्य पूर्वमा युद्ध अपरिहार्य छ भनेर भविष्यवाणी गरेका थिए । अब यो वास्तविकता बनिसकेको छ । उदाउँदो बहु–ध्रुवीय विश्व र पश्चिमी वर्चस्वको बीचको टकराबको ‘दोस्रो मोर्चा’ अब खुलिसकेको छ । पहिलो मोर्चा युक्रेन हो । अनि दोस्रो मध्य पूर्व हो ।
इजरायलले गाजामा आक्रमण गरेपछि र सर्वसाधारणको सामूहिक नरसंहार सुरु गरेको लामो समयसम्म हिजबुल्लाह प्रत्यक्ष रूपमा युद्धमा प्रवेश गर्न हिचकिचायो । इरानले पनि आफ्नो नयाँ राष्ट्रपति मार्फत पश्चिमसँग सहमति खोज्ने प्रयास गर्दै गम्भीर कदम चाल्न ढिलाइ गर्यो । अन्ततः सर्वोच्च नेता आयतोल्लाह खमेनीले इजरायलमा व्यापक मिसाइल आक्रमण सुरु गर्ने निर्णय गरे ।
अब स्थितिले नयाँ मोड लिइसकेको छ । इजरायली सेनाहरूले दक्षिण लेबनानमा प्रवेश गरेका छन् । बेरूत र सम्पूर्ण लेबननमाथि गोलाबारी सामान्य बनेको छ । अब सिरियामा इजरायलका लागि अर्को मोर्चा निःसन्देह खुल्नेछ । साथै, मलाई लाग्छ, इराकको जनसंख्या र सरकार प्रायः शिया समुदायको भएकाले इराक पनि क्रमशः इजरायल–विरोधी गठबन्धनमा तानिनेछ । त्यसकारण, मध्यपूर्वमा ठूलो युद्ध सुरु भएको मान्न सकिन्छ । तर, यस युद्धमा शक्ति सन्तुलन कस्तो छ ? स्पष्टरूपमा भन्दा इजरायलसँग ठूलो प्रविधिगत उपलब्धि छ । जबसम्म प्रविधिले सबै कुरा निर्धारण गर्छ, तबसम्म इजरायल द्वन्द्वको सबैभन्दा बलियो पक्ष रहन्छ । यहाँसम्म कि तुलनात्मकरूपमा व्यवस्थित सशस्त्र सेना भएको हिजबुल्लाह र इरानको तुलनामा पनि । हो, हिजबुल्लाहका नेताहरूलाई समाप्त पारिएको छ । इजरायली गुप्तचर अभियानहरू पछि यसले ठूला क्षति बेहोरेको छ, साथै पश्चिमले इजरायललाई समर्थन गर्छ ।
यद्यपि, हामीले इजरायलविरुद्ध प्रतिरोधी अक्षको बलहरूको व्यापक संख्यात्मक श्रेष्ठतालाई कम आँक्न हुँदैन । एक पटक मात्र इजरायलभित्रको अवस्थामा प्यालेस्टिनी आबादी (इजरायलभित्र दुई मिलियनभन्दा बढी प्यालेस्टिनीहरू,साथै दुई प्यालेस्टिनी भूभागमा चार मिलियनभन्दा बढी) जब संकटको विन्दुमा पुग्छ, अवस्था गम्भीर हुनेछ ।
पश्चिमले मिसाइलहरू रोक्न र आक्रमण सुरु गर्न इजरायललाई मद्दत गर्न सक्छ । तर, गाजाले आफ्नै भू–भागमा नरसंहारको सामना गरिरहेको छ,जहाँ इजरायलले युद्धका सबै नियमहरू उल्लङ्घन गर्दै व्यवस्थित र निन्दनीय रूपमा नष्ट गरिरहेको ‘अरबहरूको समुद्र’ को साथमा के गर्न सक्छ ? मलाई लाग्छ, हामी इजरायलविरुद्ध अरबहरूको वास्तविक आक्रोशको विस्फोट नजिक पुगिरहेका छौँ । जसलाई अब लामो समयसम्म नियन्त्रण गर्न सकिँदैन ।
क्रमशः यो युद्धले अझ व्यापक रूप लिनेछ । भन्नु पर्छ कि यो अवस्थाले इजरायली प्रधानमन्त्री नेतन्याहुलाई फाइदा पुर्याउँछ । उनी र उनको दक्षिणपन्थी मन्त्रिमण्डलमा बेजालेल स्मोट्रिच र इतामार बेन–गभीर जस्ता कट्टर धार्मिक जियोनिस्ट गुटका मन्त्रीहरू छन् । जो ‘महान इजरायल’ निर्माण गर्ने अन्तिम लक्ष्य राख्छन् । नेतन्याहुको सरकार ‘मसीही क्रेडिट’ भएको विश्वासमा सञ्चालित छ र त्यसैअनुरूप कार्य गर्दछ । यसले विश्वास गर्छ कि ‘मासियाच’ (यहूदी मसीहा,यहुदीहरूको राजा जसले सबै राष्ट्रहरूलाई यहुदीहरूको अधीनमा ल्याउनेछ । तर ख्रीष्टियन र मुस्लिमहरूद्वारा यसलाई ख्रीष्टविरोधी दज्जाल वा धोकेबाजको रूपमा हेरिन्छ) को आगमन निकट छ ।
यसरी,अरबहरूसँगको युद्धलाई धार्मिक जायोनिस्टहरू, रब्बी कुक र डोभ बेर लेवी सोलोविचिकका अनुयायीहरूले पवित्र रूपमा देख्छन् । जसले २० औं शताब्दीको मध्यमा ‘महान इजरायल’ को सिर्जना गर्न अरब भूमिहरू कब्जा गर्ने आशीर्वाद दिएका थिए । र अहिले आधुनिक रब्बीहरू जस्तै डोभ लिओर, जसले यस्तै विचारहरूलाई बढावा दिन्छन् । यसको दृष्टिकोण अन्तिम चरणमा जेरुसलेमको टेम्पल माउन्टमा रहेको अल–अक्सा मस्जिदको विनाश र तेस्रो मन्दिरको निर्माण सुरु हुनुपर्छ भन्ने हो । जहाँ यहुदी मसीहाले शासन गर्नेछन् । त्यसै समयमा, यस क्षेत्रमा इस्लामिक जनसंख्याको विशेष गरी शिया समुदायको इस्कातोलोजिकल (अन्तकालीन) परिचालन भइरहेको छ ।
यसरी, परिस्थिति अझै जटिल हुँदै जानेछ । धार्मिक यहुदीवादीहरू विश्वास गर्छन् कि उनीहरूले आफ्नो मसीहको आगमनलाई एक नयाँ यम किप्पुर युद्धको मध्यम र कट्टरपन्थी र आक्रामक कार्यहरू मार्फत छिटो बनाउन सक्छन् । यद्यपि इजरायलको जनसंख्याको एक महत्त्वपूर्ण हिस्सा धर्मनिरपेक्ष छ र त्यो यसमा विश्वास गर्दैन । तिनीहरू नेतन्याहुको विरुद्धमा ठूला प्रदर्शनहरूको आयोजना गरिरहेका छन् र नेतन्याहुलाई यसका लागि दोष दिँदै भन्छन्,‘हामी एक लोकतान्त्रिक समाजमा राम्रोसँग बसिरहेका थियौँ, तर अहिले अचानक यो अनौठो र डरलाग्दो युद्ध छ ।’ तर, इस्लामी विश्वमा पनि एक बलियो समर्थनको स्थिति छ । जसमा शिया समुदायले आफ्नो भविष्यको अन्तिम परिस्थितिका लागि सबैभन्दा बढी तयारी गरेको छ ।
इजरायल, यहुदीवादी शासनलाई दज्जाल वा धोकेबाज (मसीह–विरोधी) को सेवकका रूपमा हेरिन्छ । जससँग उनीहरूले लड्नुपर्ने हुन्छ । अधिकांश साधारण मुस्लिमहरूका लागि यो मात्र जिउँदो रहनको लागि युद्ध हो । एक जातीय युद्ध । गाजामा, इजरायलले जातीय सफाया गर्दै छ । हजारौं, सम्भवतः लाखौं निर्दोष शान्तिकामी प्यालेस्टिनीहरूको हत्या गर्दै छ ।
घटनाहरू कसरी विकसित हुनेछन् भनेर भविष्यवाणी गर्नु कठिन छ । बाइडेन प्रशासनका लागि यो एक अत्यन्त अप्रिय स्थिति स्पष्ट छ,जसले युक्रेनबाट उसको ध्यान विकेन्द्रित गर्न बाध्य बनाएको छ । जसको समर्थन छिटो नै दोस्रो स्थानमा पुगेको छ । यो विश्वव्यापी अर्थतन्त्रको लागि पनि प्रहार हो । किनकि इरानले कुनै पनि बेला ‘स्ट्रेट अफ हर्मुज’ लाई अवरुद्ध गर्न सक्छ ।
जसले महत्त्वपूर्ण व्यापार मार्गहरूलाई असर गर्छ । त्यसका अतिरिक्त, यमनमा लाल अरब सागर र हिन्द महासागरमा समेत इरान समर्थक हुथीहरूको गतिविधि फैलिएको छ । यसले वर्तमान अमेरिकी प्रशासनका लागि पनि एक गम्भीर परिदृश्य प्रस्तुत गर्दछ भने ट्रम्प, धार्मिक जियोनवादका समर्थक र नेतान्याहुका लागि अवसर पनि सिर्जना गर्दछ ।
मध्य पूर्वमा भएको बढ्दो तनावको परिणामस्वरूप, सम्पूर्ण संसारमा हलचल पैदा भएको छ । यो भयङ्कर युद्धको सुरुवातको मुख्य परिणाम हो । तर यस अवस्थामा रुसले कस्तो भूमिका निभाउनु पर्छ ? यो, अवश्य पनि, धेरै संवेदनशील प्रश्न हो । एकातिर इजरायल हाम्रो दुस्मन होइन । अर्कोतर्फ, इरान, यमनी हुथीहरू, हिज्बुल्लाह, बाशर अल–असदको नेतृत्वमा रहेको सिरियालीहरू र इराकका शियाहरू हाम्रा साथी र रणनीतिक गठबन्धनका साझेदार हुन् ।
हाम्रो रणनीतिक साझेदारहरू, जसले युक्रेनको विषयमा पश्चिमसँगको टकरावमा रुसलाई ठूलो रूपमा समर्थन गरेका थिए । अब ती रुससँग तटस्थ सम्बन्ध भएको देशको (मृत्युसम्मका) कडा दुस्मन हुन् । यहाँ इजरायलको पछाडि वैश्विक पश्चिम छ भन्ने कुरा विचार गर्दा त्यही शक्ति जसले युक्रेनमा हाम्रो प्रत्यक्ष दुस्मनको समर्थन गर्छ । कीव जुंटा–यसले एक धेरै जटिल भू–राजनीतिक मोडेललाई सामुन्ने ल्याएको छ । यसले रुसी नेतृत्वलाई पनि दुविधाको परिस्थिति सृजना गरिदिएको छ ।
एकातर्फ, हामी प्रतिरोधको अक्षका शक्ति र तिनीहरूको संघर्षमा पूर्ण समर्थन गर्दै जाँदैछौँ । खास गरी इजरायलविरुद्ध मात्र होइन,तर यसलाई समर्थन गर्ने सामूहिक पश्चिमविरुद्ध । अर्कातर्फ, पुटिन (ट्रम्पको तुलनामा कम मात्रामा) नेतन्याहुको दक्षिणपन्थी नीति, एक बलियो राज्यको चाहना, परम्परागत (यहुदीहरूका लागि) मूल्यहरूको रक्षाका लागि निश्चित निकटता महसुस गर्दछन् । तर, इजरायलको यो नीति हाम्रो भूराजनीतिक हितको विरुद्धमा जानका लागि पर्याप्त नजिक छैन ।
हामी देख्छौँ कि रुसी परराष्ट्र मन्त्रालय र क्रेम्लिनको धारणा इरान, शिया, प्यालेस्टिनी, लेबनीज, यमनी र इराकीहरूलाई समर्थन गर्ने तर्फ झुकिरहेको छ र विश्व पश्चिमको खुल्ला विरोध गरिरहेको छ । तर, कुनै न कुनै समयमा, हामीलाई इजरायलको सन्दर्भमा पनि एक महत्त्वपूर्ण निर्णय लिनु पर्नेछ । हामी बिर्सन सक्दैनौँ कि रुसमा केही दक्षिणपन्थी जियोनिस्टहरूले युक्रेनी संघर्षमा मस्कोलाई समर्थन गरेका छन् । यो पनि एक महत्त्वपूर्ण कारक हो । साथै के यो प्रतिरोध ध्रुवसँग हाम्रो भू–राजनीतिक गठबन्धनमाथि भारी पर्नेछ ? प्रश्न खुल्ला रहन्छ । मेरो विचारमा, इजरायलप्रति रुसको दृष्टिकोणलाई महत्त्वपूर्ण रूपमा पुनः मूल्याङ्कन गरिनेछ, जसले सम्बन्धलाई उल्लेखनीय रूपमा शीतलता प्रदान गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।