logo-img

अमेरिकामा नेपाललाई टी-२० सिरिज ‘क्लिन स्विप’ गर्ने सुनौलो मौका
तस्बिर : क्यान

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सिरिज ‘क्लिन स्विप’ नगरेको लामो समय भइसकेको छ । नेपालले गत फेब्रुअरीयता कुनै पनि फर्म्याटको सिरिज ‘क्लिन स्विप’ गर्न नसकेको हो ।   

फेब्रुअरीमा नेपालले घरेलु मैदानमा क्यानडासँगको दुई खेलको एकदिवसीय सिरिज ‘क्लिन स्विप’ गरेको थियो । त्यसयता भने नेपालले श्रृंखलामा ‘क्लिन स्विप’ गर्न सकेको छैन । 

यसपालि अमेरिकामा भने नेपाललाई ‘क्लिन स्विप’ गर्ने सुनौलो मौका छ । तीन खेलको सिरिजमा नेपाल २–० ले अघि छ । नेपालले पहिलो खेल १७ रन तथा दोस्रो टी–२० आई सुपर ओभरमा जित्यो । 

नेपालले सिरिज एक खेलअगावै जितिसकेको छ । अब टिम सोमबार पनि जित निकालेर श्रृंखला ३–० ले ‘क्लिन स्विप’ गर्ने योजनामा छ । नेपाल र अमेरिकाबीचको तेस्रो टी–२० आई सोमबार बिहान ५ः४५ देखि सुरु हुनेछ ।  



सिरिजको दुवै खेल नेपालले पहिला ब्याटिङ गरेर जितेको हो । पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रन बनायो । १ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो । 

दोस्रो टी–२० आईमा नेपालले थप राम्रो ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ७० रन बनायो । १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाउँदै खेललाई सुपर ओभरमा धकेल्यो । 



सुपर ओभरमा पहिला ब्याटिङ गरेको अमेरिकाले दुई विकेट गुमाएर दुई रन मात्र बनायो । तीन रनको लक्ष्य नेपालले चार बलमा पूरा गर्‍यो । नेपालको जितमा बलिङमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे । उनले निर्धारित ओभरको चार ओभरमा ३४ रन दिएर दुई विकेट लिए । यस्तै, सोमपालले सुपर ओभरमा दुई रन मात्र दिएर महत्वपूर्ण दुई विकेट नै लिए ।  

त्यस्तै, दोस्रो टी–२० आईमा कुशलको प्रदर्शन पनि सानदार रह्यो । उनले ५४ बलमा सात चौका र ६ छक्कासहित अविजित ९२ रन बनाए । यस्तै, कुशलले फिल्डिङमार्फत दुई ब्याटरको क्याच पक्रिए ।

अलराउन्ड प्रदर्शन गरेका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनीहरू अब आफ्नो लय अन्तिम खेलमा पनि कायम राख्दै नेपाललाई सिरिज क्लिन स्विप गराउन पूरा कोसिस गर्ने छन् । 

नेपाल र अमेरिका आइसिसी विश्वकप लिग–२ को तयारीस्वरूप टी–२० सिरिज खेलिरहेका हुन् । आसन्न लिग–२ सिरिजमा नेपालले २७ अक्टोबर र २ नोभेम्बरमा अमेरिका तथा २९ अक्टोबर र ४ नोभेम्बरमा स्कटल्याण्डसँग खेल्ने तालिका छ । 

  • प्रकाशित मिति : कात्तिक ४, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया