logo-img

‘छुटेका स्थानीय तहको पुन:स्थापना र पुनः निर्माणको काम अगाडि बढाइनेछ’

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बाढीपहिरोबाट प्रभावित भएका तर विपद संकट ग्रस्त क्षेत्र घोषणा हुन बाँकी स्थानीय तहलाई छिट्टै राहत सामग्री वितरण, पुनःस्थापना र पुनः निर्माणका काम अगाडि बढाइने बताएका छन् ।

आज ललितपुर महानगरपालिका-७, ८, ९ र १७ का साथै महालक्ष्मी नगरपालिका–९ लामाटार र १० लाँकुरीभञ्ज्याङ, मानेदोवान क्षेत्रमा बाढिपहिरोले पुर्याएको क्षतिको निरीक्षण गर्दै उनले प्रदेश सरकारले छुटेका ठाउँलाई विपद् ग्रस्त क्षेत्र घोषणा गरेर आवश्यक काम अगाडि बढाउने बताए । क्षतिको मूल्यांकन गरेर विपद ग्रस्त क्षेत्र घोषणा गरिने मुख्यमन्त्री लामाको भनाइ छ ।

‘यसअघि केन्द्रीय सरकारले पठाएको विवरणका आधारमा तत्कालै विपद् ग्रस्त घोषणा गरिएको छ, काठमाडौंको दक्षिणकाली र ललितपुरको महालक्ष्मी नगरपालिकालगायत आठ वटा पालिका छुट्न गएकाले स्थलगत निरीक्षण गरेर मूल्यांकनका आधारमा छुट भएका स्थानीय तहलाई विपद ग्रस्त घोषणा गरी राहत सहयोग, पुनःस्थापना र पुनः निर्माणको कामलाई अगाडि बढाइनेछ’, उनले भने ।

निरीक्षणका क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य उर्मिला केसी, ललितपुर क्षेत्र नं २ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य रामकृष्ण चित्रकार, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्साल, नेपाली कांग्रेसका ललितपुर क्षेत्र नं २ का सभापति महेश खड्कालगायतका उपस्थिति रहेको थियो ।

यसैबीच महालक्ष्मी नगरपालिका-९ का वडाअध्यक्ष जयकृष्ण बोगटीले वडाभित्र भएको क्षति, राहत, पुनःस्थापना र पुनः निर्माणका क्षेत्रमा गर्नुपर्ने कामको विवरण र आवश्यक बजेटको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

यस्तै वडा नं १० का अध्यक्ष विजय लामाले पनि वडाभित्र भएको क्षति, राहत सहयोग, पुनःस्थापना र पुनः निर्माणका क्षेत्रमा गर्नुपर्ने कामहरूका लागि ज्ञापनपत्र पेस गरे ।





  • प्रकाशित मिति : कात्तिक ४, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया