logo-img

रवि लामिछाने : नेपाली राजनीतिको पछिल्लो प्रयोगशाला
रविमाथि एमाले-माओवादीको उपयोगवादी नीति : आफूसँग मिल्दा मन्त्री, नमिल्दा हतकडी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । सहकारीको रकम अपचलन गरेको अभियोगमा उनी यही २ कात्तिकमा आफ्नै पार्टी केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ परेका थिए ।

नेपाली राजनीतिमा रवि उदाएको धेरै भइसकेको छैन । तर, उनको राजनीतिक जीवनमा कालो बादल नमडारिएको भने दिन–महिना छैनभन्दा फरक नपर्ला । उनले आफ्नो राजनीतिक यात्रासँगै दोहोरो नागरिकता, दोहोरो राहदानी हुँदै अहिले सहकारी ठगी प्रकरणको सामना गरिरहेका छन् । 

रविले पार्टी निर्माणको छोटो समयमै दुई दर्जन सांसदसहित संसदमा दरिलो उपस्थिति मात्रै जनाएनन् । उनले त्यसैगरी ठूलठूला पद पाए र गुमाए पनि ।  गृह नेतृत्व नै चलाएका उनले अहिले त्यसै मन्त्रालयले चलाउने प्रहरी थुनाको सामना गरिरहनु परेको छ ।  



‘जान्नेलाई छान्ने र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गरी छाड्ने’ भन्दै रास्वपा जन्माएका रवि अहिले नेपाली राजनीतिको केन्द्रमा छन् । उनले हिजो टेलिभिजनदेखि आज संसदसम्म जुन दल र नेताको चरम आलोचना गरिरहेका छन्, आज उनैमध्ये कसैनकसैको शरणमा परिरहेका छन् । अर्थात्, नेपाली राजनीतिलाई खेलाइरहेका शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’जस्ता नेताहरू र उनका पार्टीले रवि र रास्वपालाई प्रयोग गरिरहेको देखिन्छ ।  

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनपछि पटक–पटक सरकार फेरिए । नेताहरूले आफ्नो सरकार जोगाउन गठबन्धन भत्काए र फेरे । तर, यसमा रवि आफ्नो निर्णयमा तटस्थ बस्न सकेनन् । ओली–प्रचण्डहरूले आफू अनुकूल प्रयोग गरिरहे । 



पटक–पटक संसदमै रविको बचाउमा देखिन्थे ओली–प्रचण्ड । हिजो कांग्रेसले सहकारी ठगी प्रकरणमा प्रश्न उठाइरहेका बेला अहिलेका प्रधानमन्त्री ओलीले रविको बचाउ गर्दै आएका थिए । उनको बचाउमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड संसदमा नै बोलेका थिए । प्रचण्ड सरकारमा गृहमन्त्री रहेका रविले नागरिकता विवादमा पद गुमाउँदा नागरिकता लिएसँगै पुनः गृहमन्त्रीमै दोहोर्याउन ओलीले नै दबाब दिएका थिए । यसमा ओलीको स्वार्थ राजनीतिक जोड घटाउसँगको हो । 

संसदीय अङ्कगणितका आधारमा रविको साथबिना एमालेलाई सत्तामा पुग्न मुस्किल थियो । त्यसैले ओलीले रविलाई काखी च्यापी रहेका थिए । सत्ताको कुर्सीकै लागि कांग्रेस–एमाले मिल्छन् भन्ने धेरैलाई नलागेको पनि हुन सक्थ्यो । तर, त्यही कुर्सीको निम्ति जे पनि गर्ने यी दुई संसदका ठूला दल मिलेर अहिले सरकार चलाइरहेका छन् ।  



हिजो रविको बचाउ गर्ने प्रधानमन्त्री ओलीले अहिले कांग्रेसको साथ पाएपछि उनलाई पक्राउ गरिएको देखिन्छ । तर, सहकार्य र गठबन्धन मात्रै होइन कुनै बेला एउटै पार्टी बनेको एमालेबाट धोका पाएपछि माओवादी अध्यक्ष प्रचण्ड भने अहिले रविको बचाउमा देखिन्छन् । 

आफू अप्ठ्यारोमा पर्दा मोर्चा बनाइहाल्ने प्रचण्ड अहिले प्रतिपक्षमा बस्दा रविलाई साथमा राखेका छन् । प्रतिनिधिसभामा सशक्त प्रतिपक्षी भूमिका खेल्न उनले रविको साथ पाएकाले पनि अहिले रविको बचाउमा लागिरहेका हुन् । 

रविले प्रचण्ड सरकारलाई साथ दिए । ओली सरकारलाई पनि साथ दिए । तर, ती नेता र दलले भने आफू अनुकूल मात्रै प्रयोग गरे । अहिले सत्ताको निम्ति संसदका दुई ठूला दल मिल्नु, पहिले रविलाई आफ्नो पद जोगाउनु लगायतका कारणले ठूला पार्टीबीच प्रयोग भइरहेका रवि अहिले प्रहरी हिरासतमा छन् ।   

कांग्रेस–एमालेका शीर्ष नेताहरू नै संलग्न भएका भ्रष्टाचारका फाइलहरू रविले खोल्न खोज्दा अहिले उनीमाथि सरकारमा रहेका तिनै दलहरूले धरपकड गरिरहेको बताउनेहरू पनि धेरै छन् । नक्कली भुटानी शरणार्थीदेखि गिरिबन्धु प्रकरणसम्मका सबै फाइल आफूले खोल्न खोज्दा सरकार नै ढलेको रविको दाबी थियो ।  

अहिले पनि सरकार जोगाउन रे कु–नियत लुकाउन आफूलाई पक्राउ गरिएको रविको दलिल रहँदै आएको छ । ‘तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौँ अनि तिम्रो  एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नुपर्ने ?’ भन्दै उनले प्रश्न गरेका छन् । 

प्रहरीले नियन्त्रणमा लिनुअघि रविले ओलीलाई चेतावनी दिँदै भनेका थिए, ‘ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्त्याए, तिनै  भ्रष्टाचारी जोगाउन तपाईँले  त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो । वाचास्वरूप तपाईँले मेरो बली चढाउने सम्झौता त्यसै रात गर्नु भएको थियो । नयाँ पुस्तालाई एक एक गर्दै सक्काउँदै जाने तिमीहरूको  कु–नियतले तिमीहरूलाई चाँडै रसातलमा पुर्‍याएको यो देशले चाँडै देख्ने छ । सुरुवात तिमीहरूले गर्यौ, अन्त्य हामी गर्नेछौँ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन् ।’ 

  • प्रकाशित मिति : कात्तिक ५, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया