logo-img

अमेरिकामा खुलेको नेपालको ब्याटिङ, लिग-२ मा पनि कायम रहला लय ? [भिडियोसहित]
नेपाललाई ऐतिहासिक उपलब्धि

अमेरिका भ्रमणमा जानुअघि नेपाली क्रिकेट टोली खराब लयमा थियो । पछिल्लो केही महिना टोलीले महत्वपूर्ण प्रतियोगितामा निराश बनायो । 

विशेषगरी नेपाली टिम ओडिआईमा चुकिरहेको छ । त्यो पनि आइसिसी विश्वकप लिग–२ जस्तो महत्वपूर्ण प्रतियोगितामा । लिग–२ प्रतियोगिता एकदिवसीय विश्वकपमा पुग्ने बाटो हो । 

यति मात्र होइन यो प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा टिमको एकदिवसीय मान्यता गुम्ने/जोगिने आधार पनि तय हुन्छ । त्यसैले अहिलेको समयमा नेपालका लागि लिग–२ जत्तिको अर्को महत्वपूर्ण प्रतियोगिता छैन ।



यद्यपि जारी संस्करणको लिग–२ मा नेपालले खराब प्रदर्शन गरेको छ । दुई वटा सिरि (आठवटा खेल) खेलिसक्दा नेपालले ६ मा हार, एकमा अंक बाँड्दा एक खेलमा मात्र जित निकालेको छ । 

नेपाल अहिले तीन अंकसहित तालिकाको सातौं स्थानमा रहेको छ । यसपटकको लिग–२ को पहिलो सिरिज नेपालले गत फेब्रुअरीमा घरेलु मैदानमा खेलेको थियो । सिरिजमा नेपालको प्रतिद्वन्द्वी थिए, नेदरल्याण्ड्स र नामिबिया । 



घरेलु मैदानको फाइदा उठाउन चुकेको नेपालले उक्त श्रृंखलामा तीनमध्ये एउटा खेल मात्र जित्न सक्यो । त्यसयता नेपालले लिग–२ मा जित निकाल्न सकेको छैन । नेपालले दोस्रो सिरिजमा चारमध्ये तीनमा हार बेहोर्दा एउटा खेलमा वर्षाका कारण अंक बाँड्यो । 



क्यानडामा भएको उक्त श्रृंखलाको लगातार हारपछि नेपाली टिम दबाबमा थियो । क्यानडामा बिर्सनलायक प्रदर्शन गरेर टोली उतैबाट अमेरिका उड्यो । 

अमेरिकामा खुलेको नेपालको ब्याटिङ 

क्यानडामा कमजोर प्रदर्शन गरेको नेपालले अमेरिका भ्रमणमा भने सानदार सुरुवात गरेको छ । नेपालले टी–२० सिरिजमा स्तरीय प्रदर्शन गरेको हो । र, नेपालले श्रृंखला ३–० ले ‘क्लिन स्विप’ गरिसकेको छ ।

विगतमा विदेशी मैदानमा नेपालको ब्याटिङ कमजोर देखिन्थ्यो । तर, अमेरिकाविरुद्धको टी–२० सिरिजको तीनवटै खेलमा भने नेपालले ब्याटिङमा सुधारिएको प्रदर्शन गर्‍यो । 

श्रृंखलाको पहिलो टी–२० आईमा नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेट गुमाएर १ सय ६४ रन बनायो । उक्त खेलमा नेपालले १७ रनको जित निकाल्यो । यस्तै, दोस्रो टी–२० आईमा पनि नेपालले पहिला ब्याटिङ गर्दै ६ विकेट गुमाएर १ सय ७० रन बनायो ।

सो खेलमा नेपाल सुपर ओभरमा विजयी भयो । सिरिजको तेस्रो खेलमा नेपालले थप दमदार ब्याटिङ गर्दै ८ विकेटको फराकिलो जित निकाल्यो । यस म्याचमा अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर पूरा गर्‍यो । 

यो जितपछि नेपालले इतिहास रच्यो । नेपालले पहिलोपटक विदेशी भूमिमा तीन खेलको सिरिज जितेर इतिहास रचेको हो । 

लयमा फर्किँदै खेलाडी  

नेपाललाई ऐतिहासिक जित दिलाउन अमेरिकासँगको टी–२० सिरिजमा व्यक्तिगतरूपमा पनि नेपाली खेलाडी अग्रस्थानमा देखिए । यस श्रृंखलामा सर्वाधिक रन बनाउने मामलामा खुलेको ब्याटिङ शीर्ष स्थानमा रहे । 

उनले तीन खेलमा १४३.४३ को स्ट्राइक रेटसहित सर्वाधिक १ सय ४२ रन बनाए । कुशलले लामो समयपछि राम्रो प्रदर्शन गरेका हुन् । सिरिज ‘क्लिन स्विप’ गराउन अहम् भूमिका खेलेका उनी दोस्रो र तेस्रो टी–२० आईमा अविजित रहे । 

कुशलले दोस्रो र तेस्रो खेलमा क्रमशः नटआउट ९२ र ४० रन बनाए । पहिलो खेलमा भने उनी १० रनमै आउट भएका थिए । 

यस्तै, यस सिरिजमा ओपनिङ ब्याटर आसिफ शेखले तीन खेलमा ७८ र कप्तान रोहितकुमार पौडेलले दुई इनिङ्समा ६७ रन बनाए । 

सोमपाल ‘प्लेयर अफ द सिरिज’ घोषित 

अमेरिकासँगको सिरिजमा बलिङमा अनुभवी तीव्र गतिका बलर सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे । पहिलो खेलमा विकेटविहीन बनेका उनले दोस्रो र तेस्रो खेलमा भने सानदार कमब्याक गरे । सोमपालले दोस्रो ओभरमा नेपाललाई सुपर ओभरमा जित दिलाउन अहम् भूमिका खेले । 

उक्त खेलमा उनले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिए । यस्तै, सुपर ओभरमा सोमपालले दुई रन दिँदा २ विकेट लिएपछि नेपालले एक खेलअगावै सिरिज जित्यो । उनी तेस्रो खेलमा पनि नेपालको जितमा ‘हिरो’ साबित भए ।

यस म्याचमा सोमपालले ४ ओभरमा २७ रन दिएर तीन विकेट लिए । नेपालको पछिल्लो दुई जितमा महत्वपूर्ण भूमिका खेलमा उनी ‘प्लेयर अफ द सिरिज’ घोषित भए ।

सोमपाल यो सिरिजमा सर्वाधिक विकेट लिने मामलामा संयुक्तरूपमा शीर्ष स्थानमा रहे । उनी र अमेरिकाका जसदीप सिंहले तीन खेलमा समान ५ विकेट लिए । त्यस्तै, अमेरिकाविरुद्ध दीपेन्द्र सिंह ऐरी र करण केसीले चार/चार विकेट हात पारे । 

लिग–२ मा हुनसक्छ सहयोग 

नेपाल र अमेरिकाले टी–२० आई डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा खेलेका हुन् । यही मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्डले यही २५ अक्टोबरदेखि लिग–२ सिरिज खेल्ने तालिका पनि छ । आसन्न सिरिजअघि टिमले ग्रान्ड प्रेरीमा उत्कृष्ट प्रदर्शन गरेकाले नेपाली खेलाडीमा आत्मविश्वास बढेको छ । 

यस्तै, क्यानले आउँदो लिग–२ श्रृंखलाका लागि टिम मेन्टरको रूपमा श्रीलंकन मूलका क्यानेडियन प्रशिक्षक पुबुदु दासानयकेलाई नियुक्त गरेको छ । उनीसँग नेपाली टिमको नेतृत्व गरेको लामो अनुभव छ ।

पुबुदुको प्रशिक्षणमा नेपालले टी–२० विश्वकपदेखि एकदिवसीय मान्यता प्राप्त गरेको छ । यस्तै, उनको प्रशिक्षणमा क्यानडाले वर्षौंपछि सन् २०२३ मा एकदिवसीय मान्यता रिटेन गरेको थियो ।

साथै, पुबुदुको प्रशिक्षणमा क्यानले गत जुनमा भएको टी–२० विश्वकप पनि खेल्यो । अब फेरि उनी नेपाली टिममा जोडिएसँगै एकदिवसीयमा पनि खेलाडीको प्रदर्शनमा सुधार आउनेमा समर्थक आशावादी छन् । 

अमेरिकामा हुने लिग–२ श्रृंखलामा नेपालले पहिलो खेलमा २७ सेप्टेम्बरमा अमेरिकाको सामना गर्नेछ । त्यसपछि नेपालले अमेरिकासँग २ नोभेम्बरमा खेल्ने तालिका छ । लिग–२ सिरिजमा नेपालले २७ सेप्टेम्बर र ४ नोभेम्बरमा स्कटल्याण्डको सामना गर्नेछ ।

तस्बिरहरू : क्यान  

  • प्रकाशित मिति : कात्तिक ५, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया