logo-img

प्रचण्डको दाबी : वर्तमान सरकारप्रति जनविश्वास छैन
फाइल तस्बिर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनविश्वास नरहेको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिद्वारा आज आयोजित जनसभालाई सम्बोधन गर्न यहाँको कनकासुन्दरी गाउँपालिकाको गोरुचौर आइपुगेका दाहालले वर्तमान सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाए । 

प्रेस सेन्टरले कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा उनले भने, ‘मैले उति बेला नै भनेको थिएँ, यो सरकार भ्रष्टाचारलाई प्रोत्साहन गर्न बनेको हो । सरकार गठनको तीन महिना पुग्दैछ । तपाईंहरूले सबै देखिरहनुभएको छ ।’ 

उनले आफ्नो नेतृत्वको सरकारले राज्यको जमिन जबर्जस्ती व्यक्तिका नाममा दर्ता गर्नेलाई गिरफ्तार गरेको उल्लेख गरे । प्रधानमन्त्रीले नै अदालतमा मुद्दा चलिरहेको व्यवसायीबाट जग्गा दान लिएर भ्रष्टाचारीको संरक्षण गरेको दाहालको आरोप थियो ।

उनले सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने जानकारी दिए । ‘सरकारले जतिसुकै नराम्रो काम गरे पनि हामीले हनिमुन पिरियड मानिने सय दिनसम्म प्रतिनिधिसभाबाट खबरदारी वक्तव्य दिनेबाहेक अन्य विरोधका कार्यक्रम गरेका छैनौँ । आज मात्रै हामी विपक्ष दलहरूका तर्फबाट सरकारलाई ज्ञापनपत्र दिँदैछौँ र सय दिन पुगेपछि विरोधका कार्यक्रम सुरु हुन्छन्,’ उनले भने ।

अध्यक्ष दाहालले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा तथा अन्तर्राष्ट्रियरूपमा नेपालमा प्रतिष्ठा अभिवृद्धि गर्न पहलकदी लिइरहेको बेला संसदको पहिलो र दोस्रो दलले आफूलाई हटाएको बताए ।  





  • प्रकाशित मिति : कात्तिक ५, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया