logo-img

अनुसन्धानका लागि रविलाई पक्राउ गरिएको हो, मलाई प्रतिशोधको राजनीति गर्नु छैन : प्रधानमन्त्री
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलबीच बाढी, पहिरो र डुबानका घटनापछिको अवस्थामा राहत र उद्धारमा आपसमा मिलेर प्रभावकारीरुपमा काम गर्ने विषयमा समान मत देखिएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार पाँच विपक्षी दलको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा माग पत्र र सुझाव प्रस्तुत हुनु संवाद र छलफलको सकारात्मक प्रक्रिया भएकाले विपक्ष दललाई ध्यानाकर्षण पत्रका लागि धन्यवाद दिँदै राहत र पुनःस्थापनाका सरकारले आफ्नो तर्फबाट प्रभावकारी काम गर्दै आएको जानकारी गराए । 

उनले मनसुनजन्य विपद्को घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार भइरहेको, बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको, बेलिब्रिजहरुसमेत मगाएर राजमार्गहरूमा भएको अवरोध खुलाइएको जनाउँदै यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान दलहरूलाई आग्रह गरे । 

प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमितका सम्बन्धमा अनुसन्धान अघि बढेको उल्लेख गर्दै पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई कसैको दबाब वा आग्रहमा नभई अनुसन्धान गर्ने निकायबाट प्रक्रियागतरुपमा पक्राउ गरिएको बताए । 

‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरू दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो,’ उनले भने,  ‘मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन । अहिले कतिपय ठाउँमा मलाई तानासाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरूले पनि त्यसो गर्नु राम्रो होइन ।’ 





  • प्रकाशित मिति : कात्तिक ६, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया