logo-img

दसैँमा घर गएका सांसद काठमाडौं फर्किएनन्, संसदीय समितिमा कोरम पुर्याउन समस्या

नेपालीको महान चाड बडादसैँ सकिएको एक साताभन्दा बढी भइसकेको छ । दसैँ बिदामा घर गएका धेरै संघीय सांसद भने काठमाडौं फर्किएका छैनन् । 

उनीहरूको उपस्थिति नहुँदा ‘मिनी संसद्’ भनेर चिनिने संसदीय समितिको नियमित बैठक बस्न नै समस्या भइरहेको छ । सांसदको संख्या कम हुँदा कोरम पुर्‍याउन नै समस्या भइरहेको संसदीय समिति सभापतिले गुनासो गरेका छन् ।     

सत्तारुढ नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय समिति सभापतिले बैठकमा कोरम पुर्‍याउनका लागि दलहरूलाई सहजीकरण गर्न आग्रह गरेको बताए ।  

मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलपछि उनले समिति सभापतिहरूले नियमित बैठक बस्न समस्या भएको कुरा उठाएको भन्दै त्यसमा दलहरूले सहजीकरण गर्ने बताए ।  

‘दसैँपछि तिहारको बीचमा पनि समितिमा विचाराधीन रहेका विधेयकहरूलाई कसरी छिटोभन्दा छिटो सदनमा पठाउने, काम सम्पन्न गर्ने भन्ने विषय नै मुख्य एजेन्डा हो । बैठक सकारात्मक भयो र दुईवटा कुरा उठेको छ । एउटा सभापतिहरूले कोरम पुर्‍याउनका लागि दलहरूले सहजीकरण गर्दिए हुन्थ्यो भन्ने आग्रह गरेका छन् । नियमित बैठक बस्न समस्या भएको कुरा पनि आएको छ,’ बर्तौलाले भने ।  

यस्तै, उद्योग समितिका सभापति अब्दुल खानले पनि बैठकमा सबै सभापतिले साझारूपमा कोरम नपुगेको विषयलाई उठाएको बताए ।



‘आजको बैठकमा सबै सभापतिहरूको साझा कुरा के थियो भने कोरम पुगेको छैन । सदनको बैठक बन्द भएपछि सांसदहरू आफ्नो क्षेत्रतिर लाग्नुहुन्छ त्यसकारण बैठक बस्न गाह्रो हुन्छ । अर्को कुरा बैठक बस्दा पनि चिया, नास्ता समेत खुवाउन समितिलाई गाह्रो हुन्छ । यसमा पनि गम्भीररूपमा ध्यानाकर्षण भएको छ,’ उनले भने । 



  • प्रकाशित मिति : कात्तिक ६, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया