logo-img

सरकारका १०० दिन : निराश मुद्रामा ओली, उत्साहजनक सुनिएन बोली

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो सरकारले १०० दिनमा गरेका काम १०१ दिनमा सार्वजनिक गरे । सरकारको प्रगति विवरण सार्वजनिक भनिए पनि ओली आफ्नो सरकारको बचाउ केन्द्रित रहे ।

उनले कांग्रेस र एमालेजस्तो इतिहास र हैसियत भएको दल मिलेर बनेको सरकार नढल्ने दाबी गरे । आफ्नो सरकारलाई काम गर्न नदिनको लागि सरकार ढल्ने हल्ला चलाइएको उनको भनाइ छ ।  

सम्बोधनका क्रममा निराश मुद्रामा देखिएका ओलीले अगाडि भने, ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफबाह पनि फैलाउने गरिएको छ । यो काम गर्न नदिने उद्देश्यले चलाइएको हल्ला हो । कांग्रेस र एमालेजस्ता इतिहास र हैसियत भएका दलहरू मिलेर बनेको सरकार ढल्ने दिवा सपना कसैले नदेखे हुन्छ ।’ 

आधा घण्टामा आफ्नो सरकारको प्रगति सुनाएका ओली यस पटक भने उत्साहित देखिएनन् । प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धीमा बनाए पनि सरकार समालिँदै अघि बढिरहेको बताए । 

प्रधानमन्त्री ओलीले स्रोतसाधन सीमित हुँदा पनि जनताका असीमित चाहना पुरा गर्न नसकिएको बताए । सम्बोधनको अन्तिम-अन्तिममा ओलीले भने, ‘हामीलाई राम्ररी थाहा छ- यो सरकारप्रति तपाईँहरूको अपेक्षा उच्च छ । तपाईँको अपेक्षालाई पूरा गर्नु सरकारको दायित्व हो । तर यहाँनेर हाम्रो काम र अपेक्षा बीच सन्तुलन चाहिएको छ । हाम्रो सङ्कल्प असीमित भए पनि हामीसँग भएको स्रोतसाधन सीमित छ ।’  

अहिले सहकारी ठगी प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने प्रहरीको हिरासतमा छन् । सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सहकारी ठग्नेहरूलाई कारबाही र ऋण असुली गरिछाड्ने बताए । 



‘सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरूलाई सरकारले कानुनी कारवाहीको दायरामा ल्याएको छ । सहकारी ठगी गर्ने व्यक्तिहरूमाथि कानुनी कारबाही सुरु भएको छ। हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन्,’ प्रधानमन्त्री ओलीले भने, सहकारी ठगहरूलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नको लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।’ 

सरकार बनेकै दिनदेखि विरोध हुन थाल्दा काम गर्न कठिनाइ भएको पनि उनले बताए ।



‘सरकारले १०० दिन पूरा गरेपछि होइन, सरकार बनेकै दिनदेखि विरोध सुरु गरियो । यसको कारण थियो– देशमा साम्प्रदायिक विद्वेष खडा गर्ने, अराजनीतिक बोली र व्यवहारबाट हाम्रो सभ्यता र संस्कृतिमाथि हमला गर्ने, चलिरहेका उद्योगहरू बन्द गराउने, पुँजी पलायन गराउँदै देशको अर्थतन्त्र र वाणिज्य क्षेत्रलाई तहसनहस पार्ने र नयाँ उद्योग स्थापना हुन नदिने,’ प्रधानमन्त्री ओलीले भने । 

अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको, व्यवसायीमा आत्मविश्वास बढेको बताए पनि ओलीले सरकारले गर्न चाहँदा पनि गर्न नदिएको/नसकेको गुनासो पनि गरे । 

प्रायः सम्बोधनमा उनी उपस्थितहरूलाई कुनै न कुनै ठाउँमा हँसाइरहेको दृश्य देख्न पाइन्थ्यो । तर, यसपालिको सम्बोधनका क्रममा भने प्रधानमन्त्री ओली गम्भीर देखिए । 

विषयवस्तुलाई लम्ब्याउन सिपालु ओली यसपटक त्यति उत्साहित मुद्रामा भने देखिएनन् । सम्बोधनका लागि उनले धेरै समय पनि खर्च गरेनन् । 

यो पनि 

प्रधानमन्त्रीको दाबी- वर्तमान सरकारले गर्छु भनेका काम पूरा गरेको छ

विपत्तिले काम केही धीमा भयो, अब सरकार सम्हालिँदै अघि बढ्दै छ : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : १२ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया