नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने र सत्तापक्षका नेता जोगाउने काममा लागिपरेको आरोप लगाएको छ । बिहीबार पार्टी केन्द्रीय पेरिस डाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टी उपाध्यक्ष अग्नि सापकोटाले सरकारले सहकारी प्रकरणमा जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमालेका नेता ऋषिकेश पोखरेल लगायतकाहरुलाई संरक्षण गरेर विपक्षीप्रति प्रतिशोध साँधिरहेको बताए ।
उनले भने, ‘पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशको कानुनभन्दा माथि कोही छैनन् भन्ने सन्देश दिएको थियो । भ्रष्टाचारमा शून्य सहनशीलता अपनाएको थियो । अहिलेको सरकार त पछिल्लो समय विपक्षी दलका नेताहरूलाई छानी छानी मुद्दा लगाउने र आफ्नै नेताहरू जोगाउने काम गरिहरेको छ । म ती नामहरू भन्न पनि तयार छु । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेका ऋषिकेश पोखरेललगायतकाहरुलाई संरक्षण गरेर खुला रूपमा राखेको छ ।’
त्यस्तै उनले सुशासन र भ्रष्टाचारका नाममा तत्कालीन सरकारले थालेको काम छोडेर ओली नेतृत्वको सरकार ठीक विपरीत दिसामा गइरहेको उल्लेख गरे । ‘हामी पूरै दृढताका साथ के भन्न सक्छौँ भने माओवादी नेतृत्वको सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाह र प्राकृतिक विपद्पछिको उद्धार, राहत र पुनःस्थापनाका लागि दृढताका साथ लागि परेको थियो । अहिलेपनि देशव्यापी रूपमा हाम्रा कार्यकर्ताहरू चाहिँ जनताको खोज, उद्धार, राहत तथा पुर्नस्थापनामा समेत खटिरहनुभएको छ । पहिलेका सरकारले गरेका कामहरूको बारेमा धेरै लामो फेहरिस्त प्रस्तुत गर्न सकिन्छ । यति भन्दा पनि पुग्छ जस्तो लाग्छ,’ उनको भनाइ थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।