जर्जियामा संसद निर्वाचनको प्रारम्भिक नतिजा अनुसार सत्तारूढ जर्जियन ड्रीम (जीडी) पार्टीले ५३ प्रतिशत मत पाएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म ७० प्रतिशत मात्रै मतगणना सम्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर पश्चिम–समर्थक विपक्षी पार्टीहरूको एक संयुक्त गठबन्धनले पनि आफ्नो विजय दाबी गरेको छ ।
करिब ४० लाख जनसङ्ख्या भएको यो देशमा यस निर्वाचनलाई युरोपियन युनियन (इयु) सदस्यता प्राप्तिको महत्त्वपूर्ण क्षणको रूपमा हेरिएको छ । सन् २०१२ देखि जीडी पार्टी सत्तामा रहँदै देशलाई पश्चिमबाट टाढा र रुसको नजिक ल्याउन प्रयासरत छ । यसैले यो निर्वाचनलाई रुस की युरोपको यात्राको जनमत संग्रहको रूपमा व्याख्या गरिएको छ ।
जीडीका संस्थापक बिदिजना इभानिशविलिले मतदान समाप्तिपछि विजयी भएको दाबी गर्दै भने, ‘जर्जियाली जनताको मतको कदर गर्दै अघि बढ्छौं ।’ जीडीले बहुमत हासिल गरेमा जर्जियाको इयुको सदस्यताको सम्भावनालाई धेरै हदसम्म रोक्नेछ ।
अहिलेको सत्तारुढलाई फालेर विपक्षीहरू मिलेर सरकार बनाउनले र इयुमा समावेश हुने एजेन्डाका साथ चुनावी मैदानमा गएका थिए । मास्को र ब्रसेल्स दुवैले यस निर्वाचनलाई नजिकबाट हेरिरहेका छन्, किनभने इयुले यो नतिजालाई जर्जियाको भविष्यसँग जोडेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।