logo-img

एनपिएलको आठवटै टिमले पाए प्रशिक्षक, को कहाँ जोडिए ? [भिडियोसहित]
एनपिएलमा ज्ञानेन्द्रदेखि पुबुदुसम्म कोच

नेपाल प्रिमियर लिग (एनपिएल) को आठवटै टिम अहिले डेब्यू सिजनमै च्याम्पियन बन्न आवश्यक तयारीमा व्यस्त छन् । अक्सनबाट स्वदेशी खेलाडी अनुबन्ध गरिसकेका उनीहरूले अब विदेशी र ट्यालेन्ट हन्टबाट आउने खेलाडी भित्र्याउने कार्य सक्न मात्र बाँकी छ । 

१५ मंसिरदेखि सुरु हुने पहिलो सिजनको एनपिएलमा प्रत्येक टिमले चारजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् । यस्तै, सबै फ्रेन्चाइजीहरूले प्रशिक्षक पनि नियुक्त गरिसकेका छन् । यसैबीच, आज यस सामग्रीमा एनपिएलका आठवटै टिमका मुख्य प्रशिक्षकको चर्चा गर्दैछौँ : 

एनपिएलको सर्वाधिक महँगो टिम पोखरा एभेन्जर्सले भारतीय पूर्वक्रिकेटर राजीव कुमारलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । उनले इन्डियन प्रिमियर लिग (आईपीएल) टिम चेन्नेई सुपर किंग्समा ब्याटिङ तथा फिल्डिङ प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । 

राजीवले प्रशिक्षकको रूपमा झारखण्डको टिम, भारत ए, भारत ब्लू, हिमाञ्चल प्रदेश र चेन्नेई सुपर किंग्सलगायत टिममा काम गरिसकेका छन् । 



यस्तै, काठमाडौं गुर्खाजले नेपाली पूर्वक्रिकेटर बसन्त शाही ठकुरीलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । उनी नेपाली टोलीका पूर्वसहायक प्रशिक्षक पनि हुन् । शाही सन् १९९६ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्दाका टोलीका सदस्य थिए । 

त्यस्तै, जनकपुर बोल्ट्सले नेपाली टिमका पूर्वहेड कोच पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । श्रीलंकालीमूलका क्यानेडियन नागरिक पुबुदुले पहिलोपटक सन् २०११ देखि २०१५ सम्म नेपाली टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । त्यस समयमा नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गर्यो । 



यस्तै, पुबुदुको प्रशिक्षकमा नेपालले सन् २०१४ मा टी–२० विश्वकप पनि खेल्यो । यस्तै, उनकै प्रशिक्षणमा नेपालले एकदिवसीय मान्यता पनि प्राप्त गरेको थियो । पुबुदुले नेपलका साथै अमेरिका, क्यानडालगायत टिमको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । उनी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा भैरहवा ग्लाडिएटर्सको प्रशिक्षक पनि बनिसकेका छन् । 

यस्तै, लुम्बिनी लायन्सले भारतका नन्दन फाडनिस मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । भारतको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसिए) मा पनि प्रशिक्षण गरिसकेका उनी गोवा क्रिकेट संघको प्रशिक्षकसमेत बनिसकेका छन् । फाडनिसले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई पनि प्रशिक्षण दिइसकेका छन् । 



त्यस्तै, भारतका पूर्वक्रिकेटर उमेश पटवाल चितवन राइनोजको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी नेपाली टिमका पूर्वप्रशिक्षकसमेत हुन् । पटवालले सन् २०२० मा भएको आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजपछि नेपाली टिमको प्रशिक्षकबाट राजीनामा दिएका थिए । 

पछिल्लोपटक उनले नेपाल टी–२० लिगमा जनकपुरको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । यस्तै, पटवाल सन् २०२१ मा एभरेष्ट प्रिमियर लिगमा पोखराको टिममा निर्देशकको रूपमा जोडिएका थिए ।

आसन्न एनपिएलका लागि सुदूरपश्चिम रोयल्सले प्रमुख प्रशिक्षकमा जगत टमाटा नियुक्त गरेको छ । उनले लामो समयसम्म नेपाली टिममा प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् । 

टमाटाले नेपाली महिला टिमको प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् । यस्तै, विराटनगर किंग्सले आयरल्याण्डका पूर्वक्रिकेटर केबिन ओ ब्रायन प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । उनले आयरल्याण्डका लागि तीन टेस्ट, एक सय ५३ ओडिआई र १ सय १० टी–२० आई खेलेका छन् । ब्रायन आयरल्यान्डका लागि तीनवटै फर्म्याटमा शतक प्रहार गर्ने एक मात्र क्रिकेटर हुन् ।

अर्को एनपिएल टिम कर्णाली याक्सको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नियुक्त भएका छन् । उनले  नेपालको ‘ए’ टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । साथै, ज्ञानेन्द्रको प्रशिक्षकमा नेपालले यही कात्तिकमा हुने ‘हङकङ क्रिकेट सिक्सेस’ प्रतियोगिता पनि खेल्दैछ । 

  • प्रकाशित मिति : कात्तिक १२, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया